• २०८१ भाद्र २४ सोमबार

मुक्तक

प्रकाश घायल

प्रकाश घायल

(१)
छोड्न कहाँ सकिन्छ हाँसखेल ठट्टा गर्ने ठाउँ मिलेपछि
पिउनलाई पानी र नुहाउनलाई त्यही तलाउ मिलेपछि
अंक गणितीय हिसाब न हो गल्ती भै नै हाल्छ हजुर
फरक कहाँ पर्छ र ? अन्तिममा जोड घटाउ मिलेपछि ।

(२)
मान्छेहरू बिनाकारण मनभित्र तनाव पाल्छन्
मान–मर्यादा र ईज्जतलाइ नालीमा फाल्छन्
आफ्नै नैतिकता च्यात्नेलाइ के भन्न सकिन्छ र?
अझ मानवतालाई ईष्र्याको टालोले पो टाल्छन् ।।

(३)
एक गाग्री पानीभर्नकै लागि रात रातभर जाग्नुपर्छ
बिर्सेर ईष्र्या सुन्दर- भविष्य निर्माणमा हरदम लाग्नुपर्छ
धेरै परिवर्तन भो भन्छन् रेल पानीजहाज आयो भन्छन्,
आउदो चुनावमा यसको पनि हिसाब् किताब माग्नुपर्छ ।

(४)
एकैछिनको नाटक खेल्न अंगालो हालेका हुन्छन्
मनभित्र मुरीका मुरी ईष्र्या र कपट पालेका हुन्छन्
सर्पहरूलाई दूध खुवाएर जति सुकै पाल्नुस महाशय,
तिनले मौका पायो कि डस्नलाई दाँत चालेका हुन्छन् ।।

(५)
यी नजर सधैं ती अधरमा नै रोकिन्छ किन
धनको तूलोमा माया जोख्न खोजिन्छ किन
बुझियो भावनाले त मनलाई धकेल्दो रहेछ,
बिस्कुन सरि बैँस मेरै आँगनमा पोखिन्छ किन ?


(प्रकाश घायल चर्चित कवि हुन् ।)
[email protected]