• २०८१ मंसिर १७ सोमबार

डा. कृष्णजंग राणाको ‘दिल का दीया’ कवितासंग्रह लोकार्पण

काठमाडौं ।

शनिबार काठमाडौंस्थित रयाडिसन होटेलमा आयोजित एक कार्यक्रममा ९३ वर्षीय कवि एवं गजलकार डा. कृष्णजंग राणाद्वारा लिखित हिन्दी काव्यकृति ‘दिल का दीया’ लोकार्पण गरिएको छ । कार्यक्रमका मुख्यअतिथि कवि बसन्त चौधरी, कार्यक्रमका अध्यक्ष, सच्चिदानन्द मिश्र तथा लेखक स्वयंद्वारा कृति लोकार्पण गरिएको थियो । कवि चौधरीले कृतिभित्र प्रेमरसले भरिएका काव्यमोती प्रशस्त पाउने कुरा व्यक्त गरे ।

डा. राणासँगको पहिलो भेटको स्मरण गर्दै चौधरीले सार्वजनिक कृति उनको हृदयको गहिराइदेखि निस्किएको गुम्फन भएको बताए । प्रा. डा. सनतकुमार वस्तीले डा. राणाका कविता, गीत र गजलको सार नै प्रेम भएको बताए । उनले सोही कृतिका केही रचनावाचन गरे । नेपालस्थित भारतीय दूतावासका सूचना संस्कृति विभागका अधिकारी सत्येन्द्र दहियाले सार्वजनिक पुस्तकको शीर्षकले नै गहिरो भाव बोकेको उल्लेख गरे । उनले पनि कृति भित्रका केही शेर वाचन गरे ।

उर्दु एकेडेमी नेपालका अध्यक्ष कवि इम्तियाज वफाले डा. राणाले पुस्तकमार्फत हृदयको दीपक बालिसकेको हुँदा अब यसबाट सर्वत्र उज्यालो छर्ने जिम्मा आफूहरूको काँधमा आएको बताए । कार्यक्रममा डा. राणाले आफ्ना केही गजलहरू गाएर वाचन गरेका थिए । यो उनको २२औँ तथा १२औँ हिन्दी कृति हो । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी अध्यक्ष डा. संजीता वर्माले हिन्दी भाषा–साहित्यमा विशेष योगदान दिएको भन्दै डा. राणालाई सम्मानपत्र प्रदान गरिन् । हिमलिनी पत्रिकाका तर्फबाट पनि डा. राणालाई सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा इ. सच्चिदानन्द मिश्र, डा. श्वेता दीप्तिलगायत व्यक्तिले कृतिबारे बोलेका थिए ।