• २०८३ श्रावण ३१, आईतवार

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

काठमाडौं ।

साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवका अवसरमा पाँचजना स्रष्टालाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट अभिनन्दन गरिएको छ । सम्मानित हुनेमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास तथा कलाकारद्वय चैत्यदेवी सिंह र सन्तोष पन्त रहनुभएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्य प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष लेकाली र कर्माचार्यले दोसल्ला ओढाएर, ढाका टोपी तथा फूलको माला लगाई अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८२’ अमेरिकामा रहेकी कवि दीपा राई पुनलाई प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व कर्माचार्यले अभिनन्दित स्रष्टाहरूको योगदानको प्रशंसा गर्दै साहित्यिक पत्रकार संघले स्रष्टाहरूको खोजी गरी सम्मान गर्ने परम्परा कायम राखेकोमा खुशी व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष लेकालीले स्वागत मन्तव्य राख्दै संघका गतिविधिबारे जानकारी दिनुभयो । वि.सं. २०२९ मा स्थापित संघले विभिन्न आरोह–अवरोह पार गर्दै रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । संस्थापक अध्यक्ष भवानी घिमिरेको स्मरण गर्दै उहाँले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रम आयोजना गरेको तथा हालसम्म थुप्रै स्रष्टालाई सम्मान र अभिनन्दन गरेको जानकारी दिनुभयो । पछिल्लो समय स्रष्टाका कृतिलाई श्रव्य सामग्रीका रूपमा ल्याउने कामसमेत सुरु गरिएको उहाँले बताउनुभयो ।

समालोचक प्रमोद प्रधानले अभिनन्दित पाँचै स्रष्टाको परिचय तथा योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले कवि ज्ञान उदास साहित्यकारसँगै पत्रकारसमेत रहेको र उहाँका आठ कृति प्रकाशित भइसकेको बताउनुभयो । उहाँले ‘हस्ताक्षर’ नामक सङ्ग्रहसमेत सम्पादन गरेको जानकारी दिँदै सम्मानसँगै स्रष्टाका कृति प्रदर्शनी र अप्रकाशित कृति प्रकाशनतर्फ पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रा. मदन चित्रकारका बारेमा प्रधानले उहाँलाई विरासतमा प्राप्त प्रतिभा भएका कलाकारका रूपमा चर्चा गर्नुभयो । प्रख्यात चित्रकार तेजबहादुर चित्रकारका पुत्र मदनका कला सम्बन्धी विभिन्न कृति प्रकाशित रहेको उहाँले बताउनुभयो । वि.सं. २०३४ मा पहिलोपटक चित्रकला प्रदर्शनी गर्नुभएको मदनका चित्रमा धर्म, दर्शन, मन्त्र र श्लोकका साथै ज्यामितीय आकारको प्रयोग देखिने प्रधानको भनाइ थियो । कलाकार चैत्यदेवी सिंहबारे चर्चा गर्दै प्रधानले उहाँलाई अभिनय, नृत्य र गीति नाटकसँगै चलचित्र क्षेत्रमा समेत योगदान पु¥याएकी कलाकारका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले सिंहले सोभियत संघबाट कलामा स्नातकोत्तर गरेको र चलचित्रसम्बन्धी अध्ययन गर्ने पहिलो नेपाली भएको बताउनुभयो ।

संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ इतिहास, पुरातत्त्व तथा संस्कृतिको अनुसन्धानमा समर्पित रहेको प्रधानले बताउनुभयो । नेवारी संस्कृति क्षेत्रमा उहाँको अनुसन्धान र योगदान उल्लेखनीय रहेको चर्चा गर्दै उहाँले श्रेष्ठका ‘सिद्धपोखरी’ र ‘सुकुल ढोका’ लगायतका कृतिको उल्लेख गर्नुभयो । त्यस्तै कलाकार सन्तोष पन्तलाई अभिनयमा विविधता प्रस्तुत गर्ने कलाकारका रूपमा चर्चा गर्दै प्रधानले रेडियो नाटक, मञ्चीय कार्यक्रम तथा टेलिशृङ्खलामा उहाँले छुट्टै पहिचान बनाएको बताउनुभयो । अभिनन्दित स्रष्टाहरूले सम्मान तथा अभिनन्दनका लागि आभार व्यक्त गर्नुभएको थियो । सो क्रममा कवि ज्ञान उदासले आफ्ना दुई मुक्तकसमेत वाचन गर्नुभयो ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गायिका सरिता शाहीले किरण खरेलको शब्द तथा चन्द्रराज शर्मा र शिवशंकरको सङ्गीतमा तारादेवीले गाएको ‘आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले गर्नुभएको थियो ।