Uncategorized

छोरी यशश्वी
मायाको गणित हुन्न
जीवन सर्जक !
चिन्तन दर्शक !
वात्सल्यको सुख !
सम्पूर्ण विश्वलाई परिप्रेक्ष्यमा राख्दै यी सबसँगै मेरो जीवन पूर्ण बनाएर मातृत्वको अलौकिक सुख दिँदै मलाई धन्य पार्न भएको तिम्रो आगमनलाई कृतज्ञता व्यक्त गर्ने शब्द छैन । प्यारी छोरी ! सृष्टिको अलौकिक सुन्दर र प्रिय उपहार तिमी मलाई !
संसारको यौटा अंश हामी । संसार हाम्रो र यो संसारका हामी । जीवन नियम हो । यो ब्रह्माण्ड आफैँ यौटा नियमहरूको पिण्ड हो । नियम छ प्रकृतिमा । प्रकृति आफैँ नियमभित्र हुन्छिन् । ऋतुहरूका फाँटभरि घुमिरहेको यो संसार। दिनदिनै नयाँनयाँ लाग्ने परिवर्तन । यिनीहरूको आफ्नै रहस्य छ । खुल्छन्, बन्द हुन्छन् रहस्यका ढोकाहरू यस्तो निरन्तर छ । आदिदेखि अनन्तसम्म, शताब्दिदेखि शताब्दियौँसम्म, शून्यदेखि ब्रह्मसम्म प्रकृति प्रसूति भैरहेकी हुन्छिन् नवीन प्रसूनमा, सर्जक बनेर । हो यो उनको स्वभाव हो । हुँ त प्रकृति म पनि । प्रसूनविना कसरी पूर्णहुन्थेँ र । प्रसूनहुनु मेरो स्वभाव हो, अधिकार र गर्व पनि हो । सबैभन्दा मुख्यकुरा नियम नै हो । मलाई लाग्छ, हामी प्रसून हुन्छौँ र सुन्दरता छरिन्छ धर्तीमा । हामी सर्जक बन्छौँ र नयाँ विश्व कोरिन्छ, विश्वमा । हामी सिर्जना गर्दछौँ र सृष्टि चल्दछ नियममा । हामी पोखिन्छौँ र हरियो बन्छिन् धर्ती । हामी फुल्छौँ र पूर्णता मिल्छ सौन्दर्यमा । अहोभाग्य मेरो ! तिमीलाई जन्म दिएर प्रथम मातृत्वको सुख र दूधका धारामा बहेको ममत्वको आनन्द शब्दमा वर्णन हुन्न । यस सुखबाट म पूर्णभएँ, जुन सुखको हकदार प्रत्येक नारी हुन्छे । रहरका बाटोहरूमा ध्यान, जप, साधना, आराधना, प्रार्थना र असीम इच्छाको प्रतिफलबाट प्राप्त गरेकी हुँ तिमीलाई । यति सजिलै सुख कहाँ थियो र मेरो भाग्यमा । यस्तो सुख जसको आनन्द र तृप्त अरू कुनै चीजले दिन सक्दैन यस धर्तीमा ।
प्रथम दृश्य तिम्रो यस धर्तीमा आहा ! कति सुखद ! सुख त यस्तो होस्– प्रसवका मरणासन्न पीडाहरू एक झल्कोले हराउने । अहिले नि आभास गर्छ हृदयले त्यस असीम आनन्दको । सिर्जना कहाँ त्यसै हुन्छ र ? सर्जक कहाँ त्यसै बन्छ र ? सर्जकले त आफैँले आफूलाई हराएर, कपाएर, मिसाएर दिएको अर्को स्वरूप हुन्छ सिर्जना । जसले असीम आनन्द दिन्छ राम्रो होस या नराम्रो । सिर्जना सार्वभौम शक्ति तथा अनुपम धरोहरको रूपमा रहन्छ यस मानवीय अस्मिताको उत्कर्षको प्रमाण हो । मैले पनि म आफैँ कपिएर बनेकी हौ तिमी अझ भन्दा मभित्र नअटेर निस्केको मेरो अंश हौ तिमी । सिर्जना प्रकृतिको नियम हो । यो मानसिक वा शारीरिक संक्रिया जसले भौतिक तथा काव्यिक परिवर्तनलाई जन्माउँछ अनन्त सृष्टि यसैगरी चल्छ । प्रकृतिको यो नियम, यो उदाहरण जो सनातन छ । म पनि सर्जक । वात्सल्य सुखले तृप्त भएकी मैले भरिएको काखको आनन्दको अनुभूति, पूर्ण सौन्दर्य, पूर्णप्राप्तिको र सन्तुष्टिको वर्णन शब्दमा गरेर सक्दिनँ । संसारका सारा वैभव एकातिर र भरिएको काख एकातिर, वात्सल्यको सुखको पाटो भारी धेरैधेरै । प्रकृति यसै सुन्दर कहाँ हुन्थिन् र जगत्मा सिर्जना नगर्ने भए, सर्जक नभएको भए । यद्यपिसिर्जना गरेरमात्र सकिन्न रहेछ काम, त्यसलाई फलाउने, फूलाउने दायित्व र कर्तव्यपनि सँगै रहेको हुन्छ । तिमीलाई जन्म दिएर धन्य भएको मेरो जीवन र गौरवान्वित मातृत्वको सुख शब्दमा लेखिन्न । कत्र्तव्य निर्वाह गर्न डरलाग्दैन, बाध्यता लाग्दैन, दुःख लाग्दैन । रमाइलो लाग्छ, आनन्द लाग्छ, भन्छन्नि कति पीडा र अप्ठ्याराहरूमीठा हुन्छन् र आनन्ददायक पनि ।
छोरी ! सबैले आफ्नो–आफ्नो विचार र भोगाइद्वारा लाउँछन् जीवनको अर्थ । तथापि सबैले यौटै कुराचाहिँ दोहोर्याइरहेका हुन्छन्, जीवन यात्रा हो भनेर । जीवन यात्रा नै हो । मलाई पनि त्यस्तै लाग्छ । किनभने शैशवमा आमाको काखहुदैँ उमेरका अनेक सिँढीमा उक्लिन्छ जीवन समयका अनेक रङमा मिसिँदै यो चाहेर पनि रोकिन्न । यो जीवनको स्वभाव हो । सम्पूर्ण प्राणीजगत् क्रममा अघि बढछ । प्रकृति शिशिरमा झरेर वसन्तमा पाउलिन्छ । ग्रीष्ममा गति लिन्छ, शरद्मा शोभा पाउँछ, । हेमन्तमा छिप्पिन्छ र शिशिरमा झर्छ । यो क्रम रहिरहन्छ । जीवनचक्र गतिशील गुण, गतिशील स्वभाव हो । निरन्तरता जीवन हो, यो रोकिन्न तैपनि जीवनयात्रा सजिलो छैन, सबैलाई सजिलो हुन्न । अलिक अप्ठ्यारै भयो मलाई । जीवन भोगाइका क्षणहरू, पार गरेका घुम्तिहरू उकाली र ओह्रालीहरूमा ।तिमीलाई थाहा नै छ । यसै पनि तिमी अब किशोरावस्थाको सिँढीमा पुग्न लागिसक्यौ । उमेरभन्दा अघिनै धेरै कुरा सिकायो र देखायो समयले तिमीहरूलाई मैसँग । धेरैकुरा बुझ्छौ र बुझेका छौ तिमीहरूले किनभने सुखमा बसेकाले भन्दा दुःखमा हुर्केकाले धेरै बुझ्दछन् भन्ने मलाई लाग्दछ । जीवनयात्राको उकालीमा एक्लै भएपछि, समय र आफ्नाहरूले लत्याएपछि तिमीहरूको जिम्मेवारी मेरो एक्लो भयो । विषादको अँध्यारोमा आफ्नैआँखा बालेर तिमीहरूलाई डोर्याउनु मेरा लागि कम चुनौती होइन । हारमान्न सकिनँ समय र परिस्थितिसँग ।त्यसैले लड्दैछु । तिमीहरूको उचित शिक्षादीक्षा र पालनपोषणले सधैँ ब्यूँझाइरहन्छ, सताइरहन्छ– पूरा गर्न नसकेका कमी कमजोरीहरूले । राम्रोभन्दा राम्रो र असल बनाउन मन लाग्दोरहेछ सन्तानलाई दुःखभन्दा बढी दुःख खपेर पनि । तिम्रो लागि दिन चाहेँ मैले पनि राम्रो शिक्षा । हरेककोणबाट असल बनाउन चाहन्छन् आमा–बाले सन्तान । सन्तानभन्दा पर अरू कुनै सपना हुन्नहोला सायद । मैले त दुईको कर्तव्य एक्लै पूरा गर्नुछ । यसै क्रममा उचित शिक्षाका लागि तिमीलाई छात्रावासमा राख्ने मेरो निर्णयलाई तिमीले नकारेनौ । मेरो चाहना नराम्रो पनि होइन । म चाहन्थेँ र चाहन्छु पनि जीवनको अति आवश्यक चौतर्फी विकासमा पिताको कमी कहिल्यै नखट्कियोस्,अधुरा रहर बनेर तिमीहरूको जीवनमा । कोसिस सधैँ यही हुन्छ मेरो । मलाई यो पनि थाहा छ-जीवनको अपूरणीय क्षतिमा मैले छेउकुना मात्र भर्नसक्छु । यद्यपि आजसम्म मसँग केही गुनासो गरेका छैनौ तिमीहरूले, रहर इच्छा उमेर सानै भएर हुनसक्छ या बुझक्की भएर पनि । यसमा खुसी र दुःख दुवै लाग्छ मलाई ।
सानो मोड सुरुभयो तिम्रो पनि जीवनयात्राको, बाटो मैले देखाएँ । छात्रावास जान राजी भयौ । पुरानो स्कुलसँग बिदा भएर आयौ । बाहिरफेर त म पनि खुसी नै थिएँ, भित्रभित्र गलेछु । थाहा पाइनँ मैले मलाई के भएको छ, किन थकाइ लाग्छ ? तिमी जाने दिनसम्म त मेरो आधा शरीर चल्न छाडेको थियो । तिमी जाँदैछौ भन्ने आन्तरिक पीडाले भन्दा कुनै रोगको शङ्काले घेरिएकी थिएँ । यसै पनि महाविनाशकारी भूकम्पले हामी सबैको सातो खाएकै थियो । देश शोकमा थियो । हामी शोकमा थियौँ । तिमी अझ बढी आत्तिएकी थियौ । बाँच्नु नै ठूलो कुरा भएको त्यस अवस्थामा पनि कर्तव्य कर्म र जीवनयात्रा रोकिएनन् । दिन भयो रात आयो । भूकम्पको अनवरत कम्पनसँगै अप्ठ्यारोमै पनि समयले सुस्त गति लियो । तिमीलाई छात्रावासमा छोड्न म आफैँ गएकी थिएँ । मनभरि कामना, प्रार्थना र विश्वास लिएर कि तिम्रो जीवनको चौतर्फी विकास होस् । होस्टलमा तिमीजस्तै अरू धेरै छोरीहरू देखेर छाती ढक्क फुलेको थियो । उनीहरू रमाएर हाँसेको देखेर मेरो चल्न छोडेको शरीरमा तुरुन्तै स्फूर्ति आयो– तिमी मात्र रहेनछौ मजस्ता धेरै आमाका छोरीहरू तिमीसँग रहेछन् परिवारबाट टाढा बस्ने । सबै आमाहरूलाई सम्झेर मन बुझाएँ । मनको एक चौथाइ अँध्यारो भए पनि झल्याकझुलुक उज्यालो बोकर फर्कें म तिमीलाई आफूसँग लिँदै र मलाई त्यहीँ छोडेर किनभने मैले तिमीलाई कहिल्यै यसरी कतै छोडेकी थिइनँ । छात्रावासमा छोडेर आउनु रहर थिएन, सपना थियो, बाध्यता थिएन, विश्वास थियो, वर्तमानभन्दा नि भविष्य थियो किनभनेआजको यस सदीमा शिक्षाभन्दा ठूलो केही छैन् । मैले जेजे ब्यहोरे पनि, जति बाधापाए पनि त्यसको असर पर्नदिन्नँ तिमीहरूमा भन्ने विश्वास गरेकी छु आफैँले आफैँलाई । तिम्रैलागि आफैँसँग लडिरहेकी म छोडिएँ त तिमीसँगै छात्रावासमा । थियौ त तिमी मभित्र मसँगै, फेरि कस्तो दूरी हो यो ममता, वात्सल्य र सन्ततिकोे ! अचम्म लाग्छ खट्किएको कमी महसुस हुँदा । हरेकपल, हरेक क्षण, शरीरमा आँखामा काखमा र हृदयमा यतै कतै चञ्चल चपलाझैँ छेउछाउमै, केही हल्ला गर्दै, खेल्दै र कुद्दै, वातावरण चञ्चल बनाउँदै छौ, जिस्किरहेछौ, जिस्काइरहेछौ जस्तोलाग्छ जतिवेला पनि । तिम्रो स्मृतिले कुनै पल व्यर्थ जान दिएन । ब्यूँझिएर राती ओढ्ने ओढाउन उठेँ । कतिपटक झुक्किएर तिम्रो नाम बोलाउन पुगेँ । झल्कोमा तिमीले बोलाएको सुनेँ । बाटामा हिँडिरहेका नानीहरूमा तिमी भेटेँ । यद्यपि व्यवहारका तानाबानामा र उल्झनमा पनि हृदयले, यौटा मष्तिस्कले यौटा संयोजन गरेको हुँदोरहेछ मन अवस्थाको यथार्थ अवस्थाको त्यसमा विचलन आएन ।
मातृत्व त ममताको अनुभूत हो नारीत्वको पूरक पनि हो । आमा बन्नु आफ्नै शरीरबाट अर्को शरीरको कथालेख्नु या चित्र बनाउनु हो । क्यानभासमा रङ भर्न सजिलो कहाँ छ र ! आमा माया र मायासँगै सधैँ जुवा खेल्ने मायालु खेलाडी हुन् जो धेरै माया गर्ने भएर सधैँ दुःखी, सुखमा पनि दुःखमा पनि । किनभने यौटी आमालाई संसारमा अर्कोकुनै कुरा प्रिय हुनैसक्दैन सन्तानबाहेक । सबैसबै कुरा साना लाग्छन् साधारण लाग्छन् र सन्तान नै सबैथोक हुन् यो भनिरहन्नँ म किन भनेर ? हरपल, हरक्षण आमाहरू सन्तानकै सुखद भविष्यको कल्पना गरेर थाक्दैनन् । माया गरेर अघाउँदैनन् । हेरेर गल्दैनन् । त्यसैले आमालाई विशिष्टता प्राप्त भएको होला । कहिलेकाहीँ परिस्थिति त्यस्तो बन्दोरहेछ आफैँले आफैँलाई दुःख दिने सन्तानका लागि । मैले पनि आँटगरेँ तिमीलाई छाडेर आफैँलाई दुःखदिने । मेरो पनि प्रार्थना, कामनामा सधैँ तिमी छाइरह्यौ । यौटा नीरव शून्यपन, झझल्कोको भीडभाड र तड्पाइरहने मायाका भावाभिव्यतिmहरू थिए तिम्रो बदला । तिमीलाई छात्रवासमा छोडेर आएपछि । मनको यौटा कुना तिम्रो सुन्दर भविष्यको सुखद कामनाले उज्यालिरहेथ्यो सधैँभरि भने अर्को आधाभाग शङ्का, त्रास र मायाले धूमिल भैरहेको थियो । दिन बित्यो कहिले फोनमा, कहिले सन्देशमा कुराहरू भए । नभेट्दा भएको छटपटी वार्तालापपछि शान्त भए पनि कहिले भेटूँजस्तो लागिरह्यो । यसैयसै मनोदशामा बिते तिमीविनाका दुई महिना र साह्रै व्यग्र र कठिन पनि । तिमीलाई लिनजाने दिनको हौसला कसरी भनौँ म– प्यासी नदी सागरमा मिल्न हतार भएजस्तो । जब देखेँ तिमीलाई । केही दिनको बिदामा तिमी फर्कियौ र फर्किंदा देखेको तिम्रो रूप सम्झँदा काम्छ हृदय, कुँडिन्छ मन, भरिन्छन् आँखा । जीवनमा अर्कोपटक म जड बने । त्यसवेला तिमीलाई देखेर मलाई लागेको थियो– जीवनमा लिएका सबै निर्णयहरू सही नहुँदारहेछन् । निचोरेजस्ता गाला । पुछेको जस्तो रङ, धमिलिएर साँगुरिएको आवाज, कुपोषितजस्तो तन । तिमीले श्वास भित्रसम्म पुर्याउन बलगरेर हावा तानेको देखेर म साह्रै विदीर्ण बनेँ । यसरी हल्लिएछु, अन्तरकुन्तरका आत्मा र मुटुका कुनै स्थानमा कम्पन बाँकी नहोस् । आफ्नो निर्णय र सपनाप्रति धिक्कार लागेर भित्रभित्रसम्म गलेँ म । तिमीलाई छुनपनि डरलाग्यो । तिम्रो अवस्थाको जिम्मेवार म आफैँ हुँ भन्ने प्रायश्चित्तले म शिथिल भएँ । तिम्रो सुन्दर भविष्यभन्दा मेरो सुन्दर र स्वस्थ छोरीको चाहना हृदयले गर्यो । बारम्बार हृदयले अशक्त आभास गर्यो । मनले दुःखी भएर भन्यो– दुःख र अप्ठ्यारोको बादल सायद मै माथि मात्र मडारिन्छन् । तिम्रो अवस्थाले मलाई साह्रै विचलित बनायो म आफैँसँग रिसाएँ धेरैदिनसम्म ।
आमा कहाँ यसै आमा हुँदारहेछन् र ! भन्छन्, आमा भगवान्द्वारा प्रदत्त आशीर्वाद हो । आमा त औषधी, पोषण, भर, स्याहार र प्रेरणा हुँदारहेछन् । बच्चाहरू आमाको छेउछाउ बस्दामात्र पनि उनीहरूलाई पोषण पुग्दोरहेछ भन्नेकुरा मैले तिमीलाई हेरेर थाहा पाएँ । म किन यसरी दृढ छु र निश्चल छु भन्नेकुरा मैले मेरो आमाको सान्निध्यको असर भन्ने पनि बुझेँ । मैले तिमीलाई डाक्टरकोमा देखाउन लगेँ । केही त सुधार भयो तिमीमा फेरि तिमीलाई जानुपर्यो । फेरि तिमी होस्टल फर्कियौ । यसपटक भने तिमीलाई पुर्याउन जाँदा ममा कुनै उत्साह थिएन, पीडा पनि त्यति भएन किनभने एक वर्ष बिताएपछि म तिमीलाई आफैँसँग राख्ने निर्णयमा थिएँ र एक वर्ष बित्ने दिनहरू गन्नथालेँ । फेरि एकपटक तिमीलाई छोडेर आएँ विश्वास, भर, आशा सपना केही नलिईकन । यौटा शून्य दृढता एकवर्ष बितोस् भन्नेमात्र लिएर । त्यसपछिका धेरै दिनहरू पश्चत्ताप र दिक्दारले बिते । तिम्रो सम्झनामा म धेरै गलेँ, दुखेँ र छटपटिएँ । फेरि तिमी आयौ यसपालि भने तिमी फेरिएर आयौ । ओइलाएको मनको रुखमा हरिया पातहरूको सञ्चार भयो । तिमी उज्याली, राम्री भएर आइछौ । धेरैकुरा बोल्नजान्ने । धेरै कुराको अनुभव र रहर पनि भरिएछ तिमीमा । मेरो हृदयमा मसिनै भए पनि बत्ती बल्यो, थोरै भएपनि प्रकाश छर्यो विश्वासको होइन दृश्यान्तको किनभने त्यतिवेलासम्म मेरो कम्पन रोकिएकै थिएन । घर रमझम पार्यौ, फेरि गयौ । यसरी क्रमिक आउँदा–जाँदा तिमीमा परिवर्तन आएछ । तिमीलाई साथीहरूसँग रमाउने बानी लागेछ । अब त तिमी आएपछि जानको हतार ।सायद जीवन यही होला परिवर्तनको अर्को नाम । मनमा चिसो पस्यो अब बिस्तारै उड्छन् बचेराहरू । यो पनि रीत हो प्रकृतिको ।
पारिवारिक सुख पाएनौ । न परिवारको सहयोग र सद्भाव नै पायौ, न त पिताको साथ । पिताको अभावले नदुखुन् भन्ने आशयले मैले सकेजति राम्रो दिन खोजेकी हुँ । आफन्तले काखमा राखेर थुमथम्याएर आश्वासन भर र हौसला दिनुपर्ने बेलामा निकालियौ । यस्तो भनेर यस दुनियाँमा तिमीहरू मात्र होइनौ, यस्ता धेरै छन् तिमीजस्ता बच्चाहरू, जसले काँडामा टेकेर जीवन उचालेका छन्, बाँचेका छन् । यी सबै कुरा जीवनको यस मोडमा मलाई त खट्किन्छन्, तिमीहरू त केटाकेटी खट्किन्न भनेर साध्य हुन्न । घरपरिवारविहीन हुँदाको पीडा मैले भोगेकी छु । त्यसले नछोओस् तिमीहरूलाई भन्ने चाहन्छु । जीवनका आगामी मोडहरूमा आफन्तको कतिधेरै अभाव आभास गरौला भनेर अहिलेदेखि मेरो हृदय काम्छ । भाग्य हुन्छ भने यो भाग्य नै हो भनेर सम्झ । अन्याय हो भने यसलाई अन्याय नै सम्झ । नियति मान्छौ भनेनि ठीकै छ । कुनै र कुनै कुराको निष्कर्षमा पुगेर मन बुझाउनुपर्छ । जस्तो सम्झ्यो त्यस्तै अर्थ लाएर समयका निर्णयसँग सम्झौता गर्न सकिन्छ कुनै उपाय नभएको कुरालाई । यति गर्नसके बाँच्न सजिलो हुन्छ । सजिलो गरी बाँच्नुपर्छ भन्ने लाग्छ । बाँच्नु त छँदैछ । बस्तु हुन नदिइ संज्ञानयुक्त जीवन बाँच्नु चैँ जीवन हो भन्ने मलाई लाग्छ ।
छोरी ! जीवन यस्तै हो, सिक्दै गइन्छ । जन्मले प्रारम्भ, कर्मले प्रवाह, मृत्युले विसर्जन । यी तीनवटाकै बीचको भोगाइ हो जीवन । भोगाइ नै सिक्नु हो । सिक्नुनै जीवन पनि हो । कति कुरा पढेर, कति कुरा परेर ।समयभन्दा ठूलो गुरु कोही छैन । यो जीवन सारै सुन्दर छ । यसलाई खार्न सकियो भने अझ दीप्ति छर्छ । तिम्रो त खै र जीवन सुरु भएको ! किशोरावस्थामा भर्खर टेकेकी तिमीलाई संसारका भयावह सुनाउन, सम्झाउन चाहन्नँ– यति सुन्दर जीवनलाई काँडाको उपनाम दिएर । तर जीवन काँडाकै बीचको सुन्दर गुलाफ हो । जीवन फुलाउन धेरै कुराले प्रोत्साहन गर्छ । कसरी बिताउने भन्नेचाहिँ धेरैजसो आफ्नो हातमा अरू समयमा । जीवन जिउने पनि बहाना चाहिन्छ । हामीले रमाउने बहानामा चाडबाड बनाएजस्तै । त्यस्तै प्रत्येक जीवनले केही न केही सोख राखेका हुन्छन् । सोखले आनन्द दिन्छ जीवनलाई । ती नितान्त आफ्ना हुन्छन् । सोख राख रमाउने बहाना खोज्न सजिलो हुन्छ । उद्देश्य पाल र भेट्नलाई हौसला हुन्छ । सपना कोर सजाउनलाई रहर लाग्छ । समयले सिकाउँछ र आफैँ अनुभूत पनि गर्नेछौ । मुख्य कुरा दुःख र सुख दुवैका लागि तयार हुनैपर्छ किनभने मानिसको जीवन आयुभरिमा ऋतुहरूका फेर पक्रेर घुमिमरहेको चक्र हो, दुःख–सुखका अनेकौँ मौसम, जो बदलिरहन्छन् । यी सबविस्तारै सिकिने कुरा हुन् । तिम्रो उचित शिक्षा र चौतर्फी विकासका लागि बनाएको हाम्रो दूरीले सफलता पाओस् भन्ने चाहन्छु ।
सपनाका महलहरू बनाउनैपर्छ । तिमी आफैँ बनाऊ कर्तव्य मेरो म निवाृह गर्छु । आफैँ हिँड्नुपर्छ स्फूर्र्ति भरेर, बाटो म देखाउँछु । जीवन भोग्नैपर्छ समयले सिकाउँछ । धेरै सभ्यताहरू बोकेको जीवनका आफ्नै नियम–कानुन हुन्छन् । सामाजिक व्यवस्था, संस्था, संरचनाहरू यी खारिँदै, माझिँदै जीवनकै लागि बनेका हुन्छन् । जीवनलाई नै सहज र रमाइलो बनाउनका लागि यिनीहरूको स्थापना भएका हुन् । साँच्चै भन्दा जीवन नियमहरूको समुच्च हो । नियममा बाँधिएको भएर जीवन अझ सुन्दर भएको हो । नैतिकता र नियमविना जीवन जीवन हुन्न । नियममा त प्रकृति पनि बाँधिएकी हुन्छिन् । त्यसैले यसको अनुसरण गर्नुपर्छ तिमीले । यस संसारमा रहेका सूक्ष्माति सूक्ष्म कणकणहरूको पनि आफ्नै छुट्टै अस्तित्व छ । सबैको छुटै अस्तित्व भएर पनि विश्व ब्रह्माण्डसँग विशिष्ट सम्बन्ध रहेको हुन्छ । मानिसको जीवनपनि सम्बन्धित छ हरेक कुरासँग । हामी स्वयंमा स्वतन्त्र भएर पनि हाम्रो जीवन भावना, संस्कार, परम्परा, जीवनमूल्य, सहजीवनको आवश्यकताको कारण धेरैथरी बन्धनमा बाँधिएको हुन्छ । सम्बन्ध पनि यस्तै बन्धन हो जहाँ हामी कारणवश बाँधिएका हुन्छौँ । प्रतिवद्धता, लगाव तथा जिम्मेवारीको प्रतिरूप नै सम्बन्ध हो । कुनै सम्बन्ध नैसर्गिक र कुनै जीवनयात्रामा बनिँदै जान्छन् । जीवन विभिन्न सम्वन्धसँग बाँधिएको भएर यो सबैभन्दा सुन्दर छ विवेकी छ । भन्छु यो सुन्दर जीवनलाई अझ सुन्दर बनाऊँ । भन्छु, सधँै परम्परालाई निरन्तरता दिऊँ तर जीवन ज्युन गाह्रो हुने परम्परालाई अनुसरण गरपनि भन्दिनँ म । संस्कृति, धर्म र संस्कार हाम्रा चिनारी हुन्, हाम्रा आवरण हुन । रमाउनुपर्छ यसमै र गर्व गर्न सक्नुपर्छ यसको । यद्यपि तिमीलाई प्रगति, उन्नतिमा बाधा पुर्याउने, सजिलोगरी बाँच्न नदिने धर्म, संस्कारलाई आफैँलाई रुवाएर निरन्तरता देऊ भन्दिनँ म । सजिलो गरी बाँच्न पाउनुपर्छ भन्ने मेरो आफ्नो विचार कि त आफैँ मिलेर कि त मिलाएर भएपनि जीवन सजिलो पार्नुपर्छ भन्नेलाग्छ मलाई । परिस्थितिअनुसार परिष्कार, परिमार्जन, परिशुद्ध हुँदै जानुपर्छ । समय बदलिसक्यो दिनदिनै चुनौती भरिएको यस सदीमा मेरी छोरी ! तिम्रो युग भनेको विकासको उन्नत अवस्थाको युग । हरेक पाइलामा प्रतिस्पर्धा छ, हरेक कोणबाट तिमीले आफूलाई सक्षम बनाउन सिक । आफ्नो सुरक्षा आफैँले गर्ने हतियार आफैँ बन्नुपर्छ तिमीले । समयको माग हो यो । सानासाना सपनाहरूले भव्यता दिने गर्छन् । थोरै कामनाहरूले ठूलाठूला ग्रह छुनसक्छन् । प्रार्थनाहरू थाहानपाईकन साकार हुन्छन् । कोसिस गर्नुपर्छ, आफूले चाहेजस्तो बनाउन सकिन्छ आफ्नो संसार । यो संसार रङ्गमञ्च हो– तिमीले प्रदर्शन गर्ने, खेल्ने र रमाउने । खेल र हरेक कुरामा आनन्द लेऊ । जीवनलाई जीवन बनाएर बाँच । देश यौटा घर हो । हामीसबै एक परिवार हौँ । अनेकतामा एकता हाम्रो संस्कृति हो । देश, भाषा, संस्कृति भनेका प्राणहुन्, धेरै माया गर्नुपर्छ हिमाललाई गुराँस नै सुहाउँछ ।
यौटा सभ्य समाज नारीको गर्भबाट सरु हुन्छ बच्चाको स्वास्थ्य अवस्था हुँदै । स्वस्थ, शिक्षित नागरिकद्वारा हुन्छ र शिक्षित शिक्षाबाट । आधाआधा आकाशका हकदार नारीपुरुष दुवैलाई शिक्षाको आवश्यक छ । शिक्षाले नै मानिसको विवेकलाई जगाएर सही दिशा प्रदान गर्दछ । विश्वको प्रगति पनि यही शिक्षाकै कारणले चरम सीमामा पुगेको अवस्थामा शिक्षाको महत्त्व कति छ कति । जीवनलाई विश्वको अनुकूल बनाउनका लागि शिक्षाले सामथ्र्य दिन्छ भने नारीलाई घरपरिवार, रीति, परम्परा, संस्कारका नाममा जुन समस्या र बाधाहरू छन्, त्यसको निराकरण हरेक प्रकारको शिक्षाबाट सम्पन्न भएबाट नै हुन्छ । शिक्षाको महत्त्वका कारण नै आज तिम्रो र मेरो दूरीलाई सहँदै छु म । यो दूरीको तिक्तता मिठासमा बदलियोस् ।
पत्रको अन्त्यमा
छोरी ! जीवन मिठासमय र सुन्दर छ । त्यो हुनका लागि शान्ति समृद्धी र अमनचैन हुनुपर्छ । यी तीन कुरा जीवनमा नहुनु जीवन दुर्घटित हुनु जस्तै हो ।
परिवार भन्दा पर समाज छ, समाज भन्दा पर समाजले हेर्ने राम्रा नराम्रा आँखाहरू छन् । तिम्रो आफ्नो देश छ । देशको आफ्नै भूगोल छ । देशको गोलाद्र्धभित्र धेरै धेरै नियमहरू बनेका हुन्छन् ती नियमहरू पालना गर्नु सबैको दायित्व हो । आफूभन्दा पर राज्यले प्रतिभूत गर्ने विषय भए पनि यो शिक्षा र विवेकद्वारा प्राप्त गर्ने क्षमताको प्रतिफल हो । मेरो पत्रको उद्येश्य तिमी असल नागरिक बन्नुपर्छ भन्ने नै हो । असल नागरिक बन्नका लागि शिक्षा, ज्ञान र विवेक महत्वपूर्ण कुराहरू हुन् । तिमीले समयको महत्वलाई बुझेर देश, काल र परिस्थिति अनुरुप चल्न सक्यौ भने जीवन सार्थक हुनेछ । यही सार्थक जीवन नै मेरो चाहना हो । लेख्न त कति छ कति मनमा आमाको माया जस्तै । नसकिने गन्थन नसकिने माया र नसकिने उपदेशहरूलाई आज यति मै बिटमार्छु ।