• २०८२ कार्तिक ७, शुक्रबार

कथावाचनको २३औँ शृंखलामा सुनिए पाँच कथाकार

काठमाडौं ।

नेपाली कथासाहित्यको पुनर्जागरण अभियानअन्तर्गत बितेको दुई वर्षदेखि हरेक महिनाको अन्तिम शुक्रबार गरिँदै आएको कार्यक्रममा योपटक नयाँपुराना गरेर पाँच कथाकारले कथावाचन गरे । दिवंगत कथाकारको सम्मानमा गरिने वाचनमा योपटक भीमनिधि तिवारीको कथा ‘चखेवा चखेवी’ रह्यो । यो कथा शारदा पत्रिकाको वर्ष १ अंक ७ (वि.सं. १९९२ भाद्र)बाट लिइएको थियो । यसलाई कथाकार समिना खनाल पृथाले वाचन गरिन् ।

त्यसपछि नियात्राकार निर्माेही व्यासले कथा ‘स्वयम्भूका आँखाहरू’ वाचन गरे । कथाकार इन्दिरा प्रसाईले आफ्नो प्रकाशित कथा ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ वाचन गरिन् । कथाकार बाबा न्यौपानेले कथा ‘रतेली’ वाचन गरे । युवा कथाकार मानसीले ०७६ सालको बाह्रखरी उत्कृष्ट कथासंग्रहमा प्रकाशित ‘चन्द्रिका’ शीर्षकको कथावाचन गरिन् ।

समीक्षक प्रा. डा. भरतकुमार भट्टराईले कथाकारद्वय प्रसाई र न्यौपानेले वाचन गरेका कथामाथि संक्षिप्त समीक्षा गरे । समीक्षक प्रमोद प्रधानले निर्माेही व्यास र मानसीका कथामाथि संक्षिप्त समीक्षा गरे । कथावाचन अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले कार्यक्रमका उद्देश्यहरूबारे प्रकाश पारे । कथा विधाप्रति आमपाठकको रुचि जगाउन यसप्रकारको काम गर्दै आएको उनले बताए । अग्रज कथाकार पुष्कर लोहनीले अभियानका बारेमा बोले ।