समाचार

राल्फा साङ्गीतिक समूहमा लागेर क्रान्तिकारी गीत गाउँदै हिँडेका रायन राजपरिवारसम्बद्ध बालमन्दिरको विद्यालयमा शिक्षण गर्छन् भन्ने कुरा गुप्तचरहरूले पनि पत्ता लगाउन सकेनन् । रायनले अक्षरङ्ग का लागि रमण घिमिरेलाई यी र यस्तै प्रसङ्गहरू यसरी सुनाए–
म त्यति बेला रेडियो नेपालमा करारमा गाउँथेँ । गाउँदै गएपछि बिस्तारै थाहा पाएँ– त्यहाँ बाहिरबाट आउने कलाकारलाई असाध्य शोषण गरिँदोरहेछ । काठमाडौँ र बाहिरका कलाकारहरूबीच ठूलो भेदभाव हुँदोरहेछ । हामी त पहाडबाट बढो दुःख र अभाव बोकेर आएका थियौँ । हाम्रो पहिरन र लबजले नै पहाडे भनेर छुट्ट्याउँथ्यो । यहाँका कलाकारहरू सुकिला–मुकिला थिए । तिनका नजरमा हामी त ढाक्रे ! तर पनि हामीले गाउने फरक खालका लोकगीतका कारण हाम्रो छुट्टै र राम्रो कलाकारको पहिचान बनियो । गीत गाएको थोरै रकम पाउँथ्यौँ– एउटा गीतको जम्मा १० रुपियाँ पाउँथ्यौँ । महिनामा दुईदेखि चारवटासम्म गीत हाम्रो भागमा पथ्र्यो । यही २०–४० रुपियाँँ पारिश्रमिकका भरमा बाँच्नुपर्ने अवस्था थियो । तर त्यो पारिश्रमिकमा पनि शोषण भयो । हाम्रो नामको पारिश्रमिकको चेक त्यहीँका लेखा शाखाका कर्मचारी र वरिष्ठ कलाकारहरूले भँजाएर खाएछन् ।
हाम्रो पारिश्रमिक अरूले नै पच पारेको कुरा मञ्जुलबाट हामीले थाहा पायौँ । त्यस बेला मञ्जुल राष्ट्र ब्याङ्कमा काम गर्थे । एक दिन उनले तिमीहरूले आज चिया खुवाउनुपर्छ भने । हामीले भन्यौँ– हामीसँग कहाँबाट पैसा हुनु र चिया खुवाउनु ? अनि उनले भने– ‘आज तिमीहरूको पारिश्रमिकको चेक त साटिएको छ त !’ अनि हाम्रो मनमा चिसो प-यो । हामीले त्यहाँका कार्यकारी निर्देशक प्रकाशमान सिंहलाई भेट्यौँ । त्यस बेला निर्देशकलाई भेट्नु भनेको पनि राजालाई भेट्नु बराबर हुन्थ्यो । उनले तिमीहरूले पारिश्रमिक पाउँछौ भनेर आश्वासन त दिए तर हामीले त्यो पाएनौँ । त्यस बेला मकरबहादुर बान्तवा विशेष प्रहरीका प्रमुख थिए । उनी बडाहाकिम भएर २००७ सालदेखि नै ओखलढुङ्गामा बसेकाले उनीसँग हाम्रो चिनजान थियो । हामीले उनीसँग यसबारे गुनासो ग-यौँ । उनकै सल्लाहमा हामीले एउटा निवेदन दियौँ । उनले भोलिपल्टै रेडियो नेपालमा छापा मारिदिए । त्यो बेला कुनै संस्थामा छापा मारिनु भनेको ठूलै काण्ड हुन्थ्यो । त्यसपछि रेडियो नेपालमा हाहाकार मच्चियो । कलाकारहरू भागभाग भए, कति भूमिगत पनि भए । यो कुरा दरबारसम्म पुग्यो तर केही कलाकारहरू राजदरबारका प्रिय भएकाले कसैमाथि कारबाही भएन ।
यही काण्डले हो या कसरी हो त्यसपछि वान्तवाको सरुवा नै भयो । उनको ठाउँमा छिरिङतेन्जिङ लामा आए । उनलाई पनि चिनेका थियौँ तर दरबारको दबावमा परेर उनले हामीलाई मिलापत्र गर्न दबाब दिए । तर वान्तवाले मेरो हातबाट पैसा पायौ भने मात्र लिनु नत्र नलिनु भनेकाले हामीले मिलापत्र गर्न मानेनौँ । त्यही बेला लामा पनि मेची अञ्चलको अञ्चलाधीश भएर झापा गए । अनि यो हाम्रो बुताभन्दा बाहिरको कुरा हुनपुग्यो । यो घटना त्यत्तिकै सामसुम भयो । त्यसपछि हामीलाई रेडियो नेपालले पूरै पाखा लगायो । हाम्रै पारिश्रमिक पचाउनेहरूले उल्टै हामीलाई काट्छौ, मार्छौं भन्नेसम्म धम्की दिनथाले । अनि केही सीप नलागेपछि हामीले रेडियो छोड्यौँ ।
यो मात्र होइन । हामीलाई रेडियो नेपालले गीत सेन्सरका नाममा पनि अत्तो थाप्थ्यो । पञ्चायत भर्खरभर्खर सुरुभएको बेला थियो– २०१९ सालको कुरो हो । हामीले एउटा ठेट लोकगीत तयार पारेका थियौँ– ‘गाई चर्नेमा भैँसी च-यो वनको सेखी झ-यो, वनको राजा कुसुन्डालाई हजुर भन्नुप-यो’ । रेडियो नेपालमा त्यतिबेलाका नामी कवि–सङ्गीतकारहरू नै थिए गीत जाँच्नेमा । तर तिनीहरूले ‘धत् यस्तो गीत पनि पास हुन्छ’ भनेर सेन्सर गरिदिएनन् । यसलाई तिनीहरूले प्रजातन्त्रको ठाउँमा पञ्चायत ल्याएको र राजालाई अपमान गरेको भन्ने अर्थ लगाए । पछि हामीले हामीले ‘मै हुँ भन्ने सान्नानीलाई हजुर भन्नुप-यो’ भनेर शब्द बद्लेर रेकर्ड ग-यौँ ।
त्यही बेला पारिजात दिदीसँग भेट भयो । पारिजात त्यतिबेला गीत लेख्नु हुन्नथियो । हाम्रा गीत सुनेपछि हाम्रै आग्रहमा उहाँले गीत पनि लेख्नुभयो । ती गीतमा हामीले सङ्गीत भरेर सुनायौँ । अनि सङ्गीतमा नयाँपनको कुरा आएपछि यसलाई एउटा नयाँ नाम दिइयो । अनि रामेश, म, मञ्जुल र अरिमसम्मिलित ‘राल्फा’ समूहको जन्म पारिजात दिदीकै कोठाबाट भयो । त्यसपछि हामी कोठाबाट सडक, स्कुल, डबली, चोक हुँदै आमजनतासँग जोडिन थाल्यौँ ।
एकातिर सङ्गीतमा नयाँपनको कुरा लिएर राल्फा अगाडि बढिरहेको थियो, अर्कोतिर मचाहिँ १०–४ को शिक्षक भएर बालमन्दिरमा काम गर्नथालेँ । त्यो बाल सङ्गठनअन्तर्गत अनाथ बालबालिकालाई राख्ने संस्था थियो । तीन–चार सय नानीहरू त्यहाँ बस्थे । तत्कालीन रानी रत्न बालमन्दिरकी संरक्षिका थिइन् । ती अनाथहरूका लागि खोलिएको विद्यालय थियो । त्यति बेलासम्म नयाँ शिक्षा लागू भइसकेको थिएन । तर ‘मोडेल’ स्कुल भनेर देशका विभिन्न पाँच ठाउँमा यस्ता स्कुलहरू खोलिए । यसअन्तर्गत बालमन्दिर पनि प¥यो । र यसका लागि विशेष शिक्षकहरू नियुक्ति गर्ने आह्वान भयो । मैले पनि अन्तर्वार्ता दिएँ र विशेष शिक्षक भएर त्यहाँ २०२४ देखि ०४८ सालसम्म २४ वर्ष शिक्षण गरेँ ।
त्यहाँ रानी रत्न, राजा महेन्द्रलगायत राजपरिवारका सदस्यहरू आइरहन्थे । रानी त हप्ताको दुई–तीनचोटि नै बालमन्दिर आउँथिन् । हामीले पढाउनेबाहेक उनीहरूले लगाए–अह्राएको प्रशासनिक काम पनि गरिदिनु पथ्र्यो । विद्यालयमा बढो सतर्क हुनुपथ्र्यो । प्रहरी, सेना, गुप्तचर सँगसँगै तैनाथ हुन्थे । यसरी राल्फाबाट कार्यक्रम गर्दा गुप्तचरहरूले यसको जानकारी सम्बन्धित ठाउँमा पु¥याउनु स्वाभाविक थियो ।
मैले पढाउन थालेकै वर्ष अर्थात् २०२४ सालमा एउटा घटना घट्यो । त्यस बेला राजा महेन्द्र अमेरिकाको टेक्ससमा पुगेका रहेछन् । त्यहाँको एउटा लोकसङ्गीत प्रस्तुत गर्ने समूहलाई भेट्दा राजाले ‘नेपालमा यस्तो समूह छैन ?’ भनेर उनीसँगै अमेरिका गएका सांस्कृतिक संस्थानका तत्कालीन महाप्रबन्धक महेन्द्रनाथ खनालसँग सोधेछन् । रोचक कुरा उनी हल्टीकल्चरका मानिस कल्चरको महाप्रबन्धक भएका थिए । उनले ‘छ सरकार’ भनेर राल्फाको नाम दिएछन् । अनि राजाले ‘यसपालिको पुस १ गते तिनीहरूको कार्यक्रम राख्नू’ भनेर आदेश दिएछन् । त्यतिबेलाका राजालाई खुसी पार्न प्रशासकहरूले जे पनि गर्न तयार हुनुपथ्र्यो । खनाल पनि हामीसँगै रेडियो नेपालमा गीत गाउने भएकाले घनिष्टै चिनाजानी थियो । टेक्ससबाट फर्केपछि खनालले हामीसँग यो प्रस्ताव लिएर आए र भने– ‘सरकारले तपाईहरूको कार्यक्रम हेर्छु भनिबक्सेको छ ।’ हामीले भन्यौँ– ‘को सरकार ?’ उनले भने– ‘महेन्द्र सरकार !’ अनि हामीले फेरि प्रश्न ग-यौँ– ‘को महेन्द्र ?’ वास्तवमा हामी त्यस्ता व्यक्तिलाई कार्यक्रम देखाउँदैनौँ भन्ने अहम्मा थियौँ । हाम्रो जताततै प्रशंसा भइरहेको थियो, त्यसमाथि युवा जोस । हामी उनले प्रजातन्त्रको हत्या गरेको विरोधमा पनि थियौँ । पुस १ गते प्रजातन्त्रको हत्या गरेका दिन पञ्चहरू दिपावली गर्थे, हामी कोठामै भए पनि ब्ल्याकआउट गथ्यौँ ।
हामी राजालाई कार्यक्रम देखाउँदैनौँ भनेर अडिग भए पनि महाप्रवन्धक खनालको त जागिरको कुरा थियो । उनले पुस १ गते देखाउने भनेर राजालाई वचन दिइसकेका थिए । उनले ‘मेरो जागिरको सवाल हो यार, तपाईंहरूले कार्यक्रम गरिदिनुभएन भने मेरा त छोराछोरी भोकभोकै पर्छन् । जसरी पनि कार्यक्रम गरिदिनूस भनेर विन्तीभाउ गरे । यता मलाई मेरो बालमन्दिरको मेरो जागिरको पनि सवाल थियो । थाहा पायो भने मेरो जागिर चट् हुन्थ्यो । यसमा दुई थरी कुरा भए– पहिलो कुरा हामी सार्वजनिकरूपमा कार्यक्रम गरि नै रहेका थियौँ । यही कुरा महेन्द्रले पनि सुन्छन् र उनमा पनि केही परिर्वतन आउँछ भने राम्रै कुरा हुन्छ, त्यसैले गरौँ भन्ने भयो । अनि नगर्ने भन्नेहरूको तर्क– हिजो प्रजातन्त्रको हत्या गर्ने सामन्तलाई देखाउनु हुँदैन, उनीचाहिँ कम्मरमा हात लगाएर हेर्ने अनि हामीचाहिँ उनलाई कम्मरतोड झुकेर नमस्ते गरेर गीत गाउने ? गाउनुहुन्न भन्ने भयो ।
अन्त्यमा गाउनु पनि पर्छ भन्ने तर्कको पछाडि बहुमत देखियो । यसको पनि कारण थियो– त्यस बेला हामीलाई प्रहरीले लखेटिरहेका थिए । यस्तो अवस्थामा ‘राजाले हेरेको समूह’ भन्यो भने हाम्रा लागि त्यो एउटा लाइसेन्स, प्रमाणपत्रजस्तो पनि हुन्थ्यो । गाउँमा जान सजिलो हुन्थ्यो । त्यसैले हामीले ‘हुन्छ, गाउँछौँ’ भन्यौँ । हामी कार्यक्रममा भाग दिन गयौँ । यद्यपि राजा आउनुअघि नै कलाकारहरू मञ्चभित्र पसिसक्नुपर्ने, राजा ननिस्केसम्म बाहिर जान नपाइने, राजासँग सामूहिक तस्बिर पनिे खिच्नुपर्ने जस्ता सर्तहरू पनि थिए । तर हामीले यी सबै कुरा अस्विकार ग-यौँ र खालि दौरा–सुरुवालसम्म लगाएर मञ्चमा प्रस्तुत हुने सर्त मान्यौँ । फेरि हामीसँग त दौरा–सुरुवाल पनि थिएन । महाप्रबन्धकले नै सबै व्यवस्था गरिदिए । जिउमा नमिले पनि दौरा–सुरुवाल लगाएर लगातार पाँच–छवटा गीत गायौँ र राजासँग फोटो नखिची राजाभन्दा अगाडि नै हामी हलबाट फुत्त निस्केर डेरातिर लाग्यौँ ।
म दिउँसो बालमन्दिरमा गर्दै बेलुका राल्फामा लागेर विद्रोही गीत पनि गाउन थालिसको थिएँँ । राल्फाको गायक रायन यहीँ काम गर्छ भनेर मलाई खोज्न गुप्तचरहरू बालमन्दिर आउँथे । दरबारभित्रको स्कुल– त्यहाँ हामीले राजारानी, युवराज्ञी, अधिराजकुमारीहरू आउँदा सधैँ बढो सतर्कतापूर्व स्ट्यान्डबाई भएर काम गर्नुपथ्र्याे । तर शिक्षकका रूपमा मेरो नाम थियो, नारायणभक्त श्रेष्ठ । एउटा असल गुरुको रूपमा म त्यहाँ परिचित थिएँ । फेरि त्यहाँकी प्रिन्सिपल थिइन् राजाका स्वकीय सचिवकी भाइ–बुहारी । तिनीहरू श्री ५ भन्दा पनि ठूला श्री ६ नै हुन्थे त्यहाँ । यति हुँदाहुँदै पनि कसैले रायनलाई पत्ता लगाउन सकेन । म बाहिर रायन भित्र नारायणभक्त नै भइरहेँ । प्रहरीहरू त्यो मानिस यही स्कुलभित्र पसेको छ भनेर बरोबर खोज्न आउँथे, प्रिन्सिपल र अरू शिक्षकहरूसँग रायनका बारेमा खोजखबर गर्थे । तर म त्यहाँ त एक राम्रो गुरुको रूपमा नानीहरूलाई पढाइरहेको हुन्थेँ । त्यहाँका शिक्षक साथीहरूलाई पनि म नै रायन हुँ भन्ने थाहा थिएन । पछि तिनै साथीहरू मलाई ‘यहाँ हुँदै नभएको रायन भन्ने गायकलाई प्रहरीले खोज्न आइरहन्छन्’ भनेर सुनाउँथे । बाहिर सतर्क भए पनि त्यस बेला सुराकीहरू जताततै छ्याछ्याप्ती भए पनि एउटा रायनलाई पत्ता लगाउन नसकेकोमा म भित्रभित्रै मुस्काउँथे ।
पहिला महेन्द्र पुलिस क्लबमा कार्यक्रम गर्दा त्यहाँका एक डीएसपी सिंहबहादुर मोक्तानले हामीलाई चिन्थे र सतर्क हुन भनेका थिए । हुनसक्छ स्वयम् प्रहरी महानिरीक्षक रोमबहादुर थापाले पनि हाम्रा गीत मन पराउँथे र उनले पनि हामीप्रति सहानुभूति राखेर हामीलाई सतर्क गराउन खोजेका थिए कि ! तर, म अरू साथीहरूभन्दा बढी सतर्के थिएँ, किनभने म बालमन्दिरमा काम गर्थेंं । तर तिनीहरूले जति नै कोसिस गरे पनि रायन र नारायणभक्त श्रेष्ठ एउटै व्यक्ति हो भनेर पत्ता लगाउन सकेनन् । २०४६ सालको जनआन्दोलनका क्रममा चैत ३ गते जब हामी प्रहरी खोरमा पुग्यौँ । त्यहाँ टेलिभिजनले खिचेर मेरो अनुहार देखायो र रायन भन्ने व्यक्ति म नै हुँ भनेर धेरैले चिने । तर त्यसपछि पञ्चायती व्यवस्था नै ढलेकाले रायनलाई चिनेर पनि मेरो जागिरमा कुनै अवरोध आएन । बरू अहिले म नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको कुलपति भएपछि रायन र नारायणभक्त एउटै व्यक्ति रहेछन् भन्ने कुरा सबैलाई थाहा भएको छ ।