• २०८२ बैशाख १४ आइतबार

नारी पुजेर मानिस रमाउनु पर्छ

उमा शर्मा

उमा शर्मा

आगोको लप्कोमा बेरिएर जन्मिएकी नारी
चाहनाहरू भुसको आगोमा भित्रभित्रै सल्कायौ
स्वाभिमानहरू सुकेको दाउरामा दनदनी बाल्यौ
अस्तित्वहरू परमाणु बिस्फोटमा भस्मासत बनायौ
तिम्रा खरानी घस्नेहरू शिव भनिए
तिमीले बिद्रोह गर्नुपर्थ्यो, कहिल्यै गरिनौ ?
भावीको लेखा भनिदियौ

रहर नलाग्दै स्रिङ्गारिनुपर्ने नारी
रहर हुँदा हुँदै पखालियो
कहिले बोक्सी मानी डामियो
कहिले बेस्या भनि छामियो
मासिक धर्ममा अछुत बनाइयो
सुनपानी छम्केर चोख्याइयो
तिमी कठपुतली बन्यौ
तिम्रा नाच हेर्नेहरु देवराज इन्द्र भनिए
तिमीले प्रश्न गर्नुपर्थ्यो, कहिले गरिनौ ?
सबै नियति मानि दियौ

त्वम् शरणम् भनेर बाँच्ने नारी
अब मूल मन्त्र बदल्नुपर्छ
सशक्त आवाजले बोल्नुपर्छ
तिखारिएको कलमले लेख्नुपर्छ
निखारिएको मस्तिष्कले सोच्नुपर्छ
गुरूले दीक्षा माग्ने समाजमा
साधुले भिक्षा माग्ने समाजमा
आमाले अनिदो रातको हिसाव माग्नुपर्छ
विधवाले रूखो जवानीको मूल्य सोध्नुपर्छ
रथका पांग्रामुनि आमाहरू किचिरहे
छोरीहरू रथ हाँक्ने सारथि बन्नुपर्छ

विभेदले गाँजेको धेरै भयो
अब समीकरण सच्याउनुपर्छ
केही प्रश्न सोध्नुपर्छ
दीप बत्तीले घर उज्यालो पार्ने छोरीहरूले
दाग बत्तीले परत्र उजिल्याउन किन सक्दैनन् ?
घरका ढोका खोल्ने छोरीहरूले
स्वर्गका ढोका खोल्न किन सक्दैनन् ?
त्यसैले भ्रूणहरू गर्भमा चिमोटिनुहुन्न
निर्मला र भागीरथीहरू धर्तीमा निमोठिनुहुन्न

अब इतिहासको अनुसरण गर्नुपर्छ
रक्तबीज संहार गर्ने काली बन्नुपर्छ
धर्तीको छाती चिर्ने सीता बन्नुपर्छ
अलौकिक गर्भले प्रकृतिलाई चुनौती दिने कुन्ती बन्नुपर्छ
छोरीहरूकोे जिजीविषाले आमाहरू बौरनुपर्छ
यत्र नार्यस्तु पूजयन्ते रमन्ते तत्र देवताः
नारी पुजेर ईश रमाए
नारी पुजेर मानिस रमाउनुपर्छ
नारी पुजेर मानिस रमाउनुपर्छ


(शर्मा सक्रिय साहित्यकार हुन् ।)
Email: [email protected]