समाचार

हानोई ।
भियतनामको राजधानी हानोईमा असोज १८ देखि २३ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, नेपाल, कतार, मलेसिया, जर्मनी, इन्डोनेसिया र भियतनामका सुप्रसिद्ध कवि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्मेलनका क्रममा सहभागी कविहरूले हानोईस्थित आर्टिस्ट हिल कम्युनिटी मा बसेर साहित्यिक सृजनात्मक गतिविधिमा सहभागी हुनुभएको थियो । साथै, कार्यक्रमले स्थानीय पर्यटकीय स्थलहरूको भ्रमणमार्फत सहभागीहरूलाई भियतनामको सांस्कृतिक र ऐतिहासिक परिवेशसँग नजिकिएर अनुभव आदान–प्रदान गर्ने अवसर पनि प्रदान गरयो।
नेपाल र अस्ट्रेलियाको तर्फबाट प्रतिनिधित्व गर्दै कवि कुमाराज सुवेदीले सम्मेलनमा आफ्नो पाँच उत्कृष्ट कवितामार्फत दुवै देशको सांस्कृतिक पहिचान र भावनात्मक सेतु प्रस्तुत गर्नुभयो । ती कविताहरूलाई भियतनामी भाषामा अनुवाद गरी स्थानीय कविहरूले समेत वाचन गर्नुभएको थियो ।
कार्यक्रम समन्वयकर्ता क्यू विक हाउका अनुसार, यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले कविहरूबीचको सहकार्यलाई सुदृढ गर्दै विश्वस्तरमा साहित्यिक पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुरयाउँछन् । संस्थाकी अध्यक्ष थो बाड्ग आईले भियतनाममा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको कवि सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले भविष्यमा अझ गहिरो साहित्यिक सहकार्यका ढोका खोलेको बताउनुभयो ।