• २०८१ कातिर्क ३० शुक्रबार

तिम्रो मेरो कथा

सुरज पराजुली

सुरज पराजुली

तिमी नुहाएर बार्दलीमा कपाल सुकाउन आउँदा,
म मदहोस हुनेछु,
बतासले हल्का उडाएर, तिम्रो सुबास,
मेरो हरेक अंगमा छरेपछि
जसरी उड्छ होस,
बञ्जर खेतमा झोक्राएको किसानको
बर्षाको पहिलो पानीको थोपा र धर्तीको सम्भोगको सुगन्धले

एउटा प्रेमील कविता लेखी कापीको पानामा,
हवाई जहाज बनाई उडाउँदा तिमीतिर,
तिमी छुटाईदिनु दुई ओठलाई एक आपसबाट
म पगल हुनेछु खुशीले
जसरी बौलाउँछ मट्टीतेल आगोको एक झिल्को मुस्कानले

गोधुली साँझमा,
साईकलमा गुन्गुनाउदै पुराना प्रेम गीत
तिम्रो घरको चक्कर लगाउँदा
पिंढीमा बसेर,
अरूबाट नजर बचाई चोरी–चोरी हेर्नु मलाई
ती गाजलु आँखाले
म मख्ख पर्दै लाजले,
बजाउनेछु, साईकलको घण्टी टिरिङ टिरिङ
जस्तो कि मख्ख पर्छे
एउटी आमा
बर्षौको पर्खाईपछि जन्मिएको सन्तानको पहिलो हेराईले

बेमौसमी झरीमा
एउटै छाता मुनी हिंड्दै गर्दा
कुनै सुनसान गल्ली
एक अर्काको स्पर्शबाट बच्न,
आधा तिमी आधा म भिजेपछी
सुटुक्क तिम्रो कान्छी औँलाले,
गर्नु बाचा मेरो कान्छी औँलासँग
हाम्रो पवित्र समबन्धको,
कंक्रिटले रोडासँग जसरी गर्छ बाचा
सुमधुर नाताको
र तयार गरीदिन्छ
कसैको सपनाको एउटा सुन्दर वासस्थान

कुनै सिसौको रुखमा
दिल बनाएर, लेखेपछि तिम्रो मेरो नाम
चुमौंला एक अर्काको अधर,
र तरङ्गीत बनौँला मायाले
जसरी एक अर्कालाई चुमेपछि तरंगीत हुन्छन्,
कुनै पोलका प्लस माईनस तारहरू

आऊ हामी कसैले गरे जस्तै प्रेम गरौं,
आऊ हामी युगले नगरेको प्रेम गरौं

धेरै भयो जगतमा वियोगान्त प्रेम कथाहरू
अब पालो तिम्रो मेरो कथाको ।


सुरज पराजुली