समाचार
गरीबनाथ आफ्ना घरहरुमाथि डोजर चलेको विना अवरोध टुलुटुल हेरेर बस्यो । यस्तो निरीह अवस्था जीवनमा कहिल्यै भोगेको थिएन । यस्तो दिन पनि आउँछ भन्ने सायद सपनामा पनि सोचेको थिएन । सरकारी कर्मचारी देखि उपल्लो तहमा रहेका हरेक दलका नेताहरुसँग राम्रै उठबस थियो । दलहरुले सञ्चालन गर्ने हरेक आन्दोलनहरु उस्कालगि मोटो खुराकी हात पार्ने चाड भएर आउँथे । सत्तामा पुग्ने सबै दलको सदस्यता लिएको थियो । दलहरुलाई राम्रै लेबी र चुनावी खर्च पनि टक्रयाउथ्यो ।
सडक अबरुद्ध गर्न,टायर बाल्न,ढुंगा हान्न,राँके जुलुसको व्यवस्था गर्न सबै दलले उसैको सहायता लिने गर्थे र एकमुष्ट रकम थमाएर जिम्मा लगाउदथे । पाएको जिम्मेबारी इमान्दारीका साथ पूरा गर्ने उस्को आदत थियो । आन्दोलन सफल पार्न र सरकारमा पु–याउन उस्को ठूलै योगदान हुन्थ्यो । जुनसुकै सरकार आएपनि सुकुम्बासी समाधान आयोगमा उस्को सिट सुरक्षित हुन्थ्यो । मानौँ उ बिना देशको सुकुम्बासी व्यवस्थापन हुनै सक्दैन ।समय क्रम संगै जहाँ–जहाँ सुकुम्बासी बस्दै गए त्यहाँ–त्यहाँ उस्का घरहरु ठडिँदै गए ।
‘सुकुम्बासी संघर्ष समिति’,‘सुकुम्बासी व्यवस्थापन संघ’ जस्ता दर्जनौँ सुकुम्बासी झुण्याएका सँघ–समितिहरुमा उस्को नाम टागिएको थियो । उस्को शान,शौक,रजगज र हैकम देखेर डाहाले मुर्मुरिए पनि अगाडि बोल्ने हिम्मत कसैको थिएन । आफू चपली हाइटमा आलिसान बंगलामा बस्थो । मोटर चढेर भाडा उठाउन र आफ्नो पहुंच विस्तार गर्न हरेक दिन एक पटक टहलिन सुकुम्बासी आइपुग्थ्यो ।
उ आज अर्ध चेतमा थियो । सपना हो कि विपना ।
‘केही सामान निकाल्न बांकी छ की हजुर’ – सुरक्षा कर्मीले सोध्दा पो झल्याँस भयो ।
सोही बखत डोजरले झ्यालको सिसा झ–याम्म पारेको आवाज उ सम्म आइपुग्यो ।
चेतन काफ्ले
हालः न्युसाउथ प्लेनफिण्ड,न्युजर्सी,अमेरिका ।