समाचार

काठमाडौं ।
साहित्यकार तथा साहित्यिक पत्रकार जयदेव भट्टराईद्वारा लिखित संस्मरणात्मक शब्दचित्र ‘नमन’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
बिहीबार कुपन्डोल ललितपुरमा आरब्धद्वारा आयोजित कार्यक्रममा शशि शाह, भुवन चन्द, नूपुर भट्टाचार्य, शंकरनाथ रिमाल, तीर्थबहादुर श्रेष्ठ, उर्मिला गर्ग लगायतले कृति सार्वजनिक गरे । यस संस्मरणात्मक शब्दचित्रमा विभिन्न क्षेत्रमा ख्याति कमाएका ३८ जना व्यक्तित्वका व्यक्तिनिबन्ध समावेश गरिएको छ ।
कार्यक्रममा कृतिमाथि बोल्दै साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लले कृतिकार भट्टराईको साहित्यिक कर्मको चर्चा गर्दै उनले उल्लेख्य काम गरेको बताए । यो पुस्तक एउटा कालखण्डको जिउँदो इतिहास भएको बताउँदै साहित्यकार मल्लले पुस्तकले धेरै अग्रज सर्जक तथा व्यक्तित्वलाई समाजमा चिनाउने बताए ।
अर्का वक्ता प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिकार भट्टराईले पुस्तकका माध्यमबाट त्यसबेलाको समय र समाजलाई पाठक माझ ल्याएको बताए । उनले यो उपयोगी निबन्धात्मक पुस्तक भएको पनि चर्चा गरे । कार्यक्रममा अग्रज चित्रकार केके कर्माचार्य, कृतिकार भट्टराई लगायतले बोले ।