• २०८२ कार्तिक ४, मंगलवार

सुधा शर्माको समालोचना कृतिमाथि परिचर्चा

काठमाडौं ।

लेखक तथा समालोचक सुधा शर्माको समालोचनात्मककृति ‘समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन’माथि परिचर्चा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार तथा समालोचक प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी गर्दै नेपाली निबन्धकृतिमा समालोचना कम लेखिँदै आएको चर्चा गरे । कृतिकार शर्माको पहिलो कृति भए पनि यसमा गहन विषय समेटिएको प्रधानले बताए ।

प्रधानले भने, “हामीले जत्तिकै उत्तर आधुनिकताको कुरा गरे पनि हाम्रो धरातल पूर्वीय दर्शन नै हो । र, कृतिकार शर्माले नेपाली निबन्धमा देखिएको पूर्वीय दर्शनलाई सुक्ष्म विश्लेषण गर्नु भएको छ । तसर्थ यस कृतिले धेरैलाई मार्गनिर्देश गर्छ ।” समीक्षक समालोचक ज्ञानु अधिकारीले शर्माको कृतिमा उनले गरेको साहित्यिक साधना झल्किने बताइन् । अधिकारीले भनिन्, “यसमा आजका समकालीन निबन्धहरूको चर्चा गरिएको छ । ज्ञान र जानकारीका दृष्टिकोणबाट यो पुस्तक महत्वपूर्ण छ । समालोचित निबन्धहरूमा प्रयुक्त दार्शनिक पक्षहरूलाई शर्माले टपक्क टिप्नुभएको छ ।”

समीक्षकद्वयले कृतिमा केही कमिकमजोरी भए पनि कृति बलियो रूपमा आएको बताए । कार्यक्रमका प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लेखक शर्माले एउटा गहन पुस्तक पाठकमाझ ल्याएको चर्चा गर्दै कृतिमाथि प्राज्ञिक बहस र सुक्ष्म समीक्षा भएको उल्लेख गरे । निबन्धकार श्रीओमश्रेष्ठ रोदनले शर्माले प्रारम्भमै गाह्रो काममा हात हालेको भन्दै निबन्धमा प्रयुक्त पूर्वीय दर्शनलाई केलाउनु आफैँमा उपलब्धिमूलक कार्य भएको बताए । कृतिकार शर्माले आफ्ना गुरुहरूको प्रेरणाले यो कृति आएको उल्लेख गर्दै आफूले पूर्वीय दर्शनको अध्ययन गर्दाको अवस्थाबारे बोलिन् ।