कविता

क्लान्त प्रकृतिको सान्ध्य–सुधाको
साथ बहेर
मेरो सुस्ताएको अन्तर वेदना
झस्काएर
कस्को हो त्यो स्पर्श ? रुन बाध्य गराउने
भर्खर उठेको बोझिल उषाको
पलकपछाडि लुकेर
तिरिमिरि प्रभातको नव–रश्मिको
रक्तिमाभित्र लुकेर
कसको हो त्यो छाया ? मलाई झस्काउने !!
पारिजात