• २०८२ कार्तिक १, शनिबार

विमल अर्यालको “अन्तर्मनका तरङ्ग” कथासङ्ग्रह सार्वजनिक

काठमाडौं ।

भैरव स्मृति भवन, नयाँबस्ती, जोरपाटीमा आयोजित कार्यक्रममा अभिनव साहित्य समाजको २८४औं मासिक शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा “अभिनव कमला सङ्घर्षशील नारी पुरस्कार” वितरण तथा अभिनवका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित “अन्तर्मनका तरङ्ग” कथासङ्ग्रहको विमोचन विशिष्ट व्यक्तित्वहरूबाट सामुहिक रूपमा गरिएको थियो ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको अध्यक्षता र सहकोषाध्यक्ष मेनका पोख्रेल आचार्यको सहजीकरणमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि चर्चित पत्रकार तथा साहित्यकार रोचक घिमिरे हुनुहुन्थ्यो भने विशेष अतिथिमा गोकर्णेश्वर नगरप्रमुख दीपक रिसाल, उपप्रमुख– सान्नानी लामा, उपाध्यक्ष विमल अर्याल लगायत हुनुहुन्थ्यो । ‎कार्यक्रममा “कमला सङ्घर्षशील नारी सम्मान २०८२” सिन्धुपाल्चोकका पुराणवाचिका भगिनीद्वय सरस्वती चौंलागाईं “साकम्भरी” र गार्गी चौंलागाईं “साम्भवी”लाई दोसल्ला, सम्मानपत्र र नगद २५ हजार संयुक्त रूपमा विशिष्ट व्यक्तित्वहरूबाट अर्पण गरियो ।

पुरस्कारको स्थापनाका विषयमा गोविन्द घिमिरे वेदमणिले विमल अर्यालले आफ्नी काकीआमा स्व. कमला अर्यालको नाममा रू. ५ लाखको अक्षयकोष राखेर स्थापना गर्नुभएको चर्चा गर्दै संस्कृत छात्रावासमा भएको आफ्नो अन्तर्वार्ताका कटु प्रसङ्ग पनि सुनाउँदै पुरस्कृत पुराणवाचिका व्यक्तित्वद्वयको सामान्य परिचय र बधाइ तथा शुभकामना पनि दिनुभयो । विमल अर्यालको आजै विमोचन हुनै लागेको कथासङ्ग्रहको बारेमा पनि थोरै परिचय दिनुका साथै विमलजीलाई बधाइ र शुभकामना दिनुभयो ।कार्यक्रममा विमल अर्यालको कथासङ्ग्रह “अन्तरमनको तरङ्ग” र अभिनवप्रभाको विजय चालिसे विशेषाङ्कको सामुहिक विमोचन पनि गरियो । विमोचित “अन्तरमनको तरङ्ग” माथि महेश्वर खनालले संक्षिप्त चर्चा गर्नुभयो । पुरस्कृत व्यक्तित्व गार्गी चौंलागाईं “साम्भवी” ले आफ्नो मन्तव्यमा कविशिरोमणि लेखनाथको बुद्धिविनोदका २ श्लोकलाई आधार बनाएर अध्यात्मप्रति केही विचार व्यक्त गर्नुभयो । उपमेयर सान्नानी लामाबाट छोटो शुभकामना र बधाइ मन्तव्य दिनुभएको थियो ।

विमल अर्यालले सबैप्रति आभार अर्पण गर्दै श्रोताहरूलाई यो विमोचन कार्यक्रममा उपस्थित भैदिएर मेरो उत्साह बढाइदिनुभएको छ भन्नुभयो । नगरप्रमुख दीपक रिसालले गोकर्णेश्वर क्षेत्र रमेश विकल, भैरव अर्यालजस्ता साहित्यिक प्रतिभाहरूको उर्वर थलो भएकाले यसको साहित्यिक उत्थानमा यो नगरपालिका उदार बन्न प्रयत्नरत रहेको छ भन्दै हाम्रो देशप्रति विदेशी हस्तक्षेप भएको सङ्केत दिंदै साहित्यकारहरूले नै यथातथ्य लेखेर देश बचाउन सक्ने र साहित्यिक कार्यक्रमहरू अझै बाक्लै हुनुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि रोचक घिमिरेले पुरस्कृत भगिनीद्वयलाई हार्दिक बधाइ दिंदै पुराणवाचनका क्रममा तुलसीदासका उदाहरण दिनुभन्दा आफ्नै देशका साहित्यकारहरूको उदाहरण दिनु उचित हुने भन्नुभयो । गोकर्णेश्वर नगरपालिका विशेष साहित्यिक प्रतिभाहरूको थलो भएको र अभिनवले साहित्यिक विकासमा धेरै राम्रो भूमिका गर्दै रहेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित निम्न स्रष्टाहरूद्वारा कविता, गजल, मुक्तक, ताङ्का, भजनहरू प्रस्तुत गरिएका थिए । वाचन गर्नेहरूमा ‎चेवन बस्नेत ठूलाघरे, ढुण्डीराज पोख्रेल, मेघराज ढकाल, मधुसूधनप्रसाद घिमिरे– (कविता, उपजाति छन्दमा),बुद्धिसागर पौडेल – (गद्यकविता ),सरिता दुलाल घिमिरे – (गजल), आल्फी फोहेन फाक्लुप्पा– गजल, दिवाकर न्यौपाने–(शुभकामना कविता लयमा), ‎ठाकुरप्रसाद खतिवडा– “अति” (कविता,अनुष्टुप् मा, ‎प्रकाश बस्नेत गफाडी– (मुक्तक ३ वटा), ‎कृष्णप्रसाद पौड्याल जस्ताघरे– कविता (“मेरो देश दलाल भ्रष्ट खलका चाट्ने कसौंडी नहोस्”) शार्दूलविक्रीडितमा, ‎महेश्वर खनाल– (कविता “भट्टीमा जलेको आमाको चूलो” वसन्ततिलकामा), खोलाघरे साहिंलो–(कविता” सर्वोच्च अदालतलाई निसाफ” शार्दूलविक्रीडितमा, सुशील आचार्य (कविता– तिहार), ‎वासु पौडेल–(कविता “सुन्दरीजल..” , शार्दूलविक्रीडितमा) थिए ।

त्यसैगरी ‎सीताराम पोख्रेल (तिहारको शुभकामना गीत,लोकलयमा), ‎विजयध्वज थापा (“अति नगर” गद्यकविता), ‎भवानी सापकोटा (“आमा” गद्यकविता ), ‎जीके खडेरी (केही ताङ्काहरू), ‎अप्सरा ढकाल (एउटा मुक्तक), (गजल”देख्दैछु मन्द हाँसो.सुन्दर अधर छ…), ‎सृजन नेपाल (कविता छोराको बिदा लोकलयमा), ‎घनश्याम प्रसाईं (सँगिनी लयमा भजन), लगायतले सिर्जना वाचन गर्नु भएको थियो ।