कविता

दाङ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालद्वारा १२ जिल्लामा सञ्चालन हुने जिल्लाव्यापी मासिक कार्यक्रमअन्तर्गत दाङ जिल्लाको कार्यक्रम भक्ति थापा स्मृति पार्कमा सम्पन्न भएको छ । कार्यक्रममा ‘नारी स्रष्टाहरूको पहिचान र योगदान’ विषयमा सन्ध्या रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ‘विभेदरहित संस्कृति निर्माणमा साहित्य र कलाको भूमिका’ शीर्षकमा ऋषि आजादले कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रस्तुत कार्यपत्रहरूमा बुनू लामिछानेले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सभामुख माननीय तुलबहादुर घर्तीमगरले नारी स्रष्टाको भूमिकाको प्रशंसा गर्दै विभेदरहित संस्कृति निर्माणमा साहित्यकार र कलाकारहरूको सक्रिय भूमिकाको आवश्यकता औंल्याउनुभयो । उहाँले २०६३ सालपछि समानुपातिक समावेशी प्रतिनिधित्वका माध्यमबाट उत्पीडित वर्ग सत्तामा पुगे पनि विभेद उन्मूलनका लागि निष्ठापूर्वक कार्य हुन नसकेको बताउनुभयो । समाजमा विद्यमान मनोवैज्ञानिक दरार हटाई समतलीय संस्कृति निर्माणतर्फ उन्मुख हुनुपर्ने उहाँको धारणा थियो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक पुरुषोत्तम खनालले संस्था स्थापना पछिदेखि निरन्तर क्रियाशील रहँदै आएको बताउँदै आगामी दिनमा पनि यसले रचनात्मक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । डा. टीकाराम उदासीले नारी स्रष्टासम्बन्धी विस्तृत तथ्य प्रस्तुत गरिएकामा सन्ध्या रेग्मी र बुनू लामिछानेलाई धन्यवाद ज्ञापन गर्दै बहुसांस्कृतिक मुलुक नेपालमा अनेकतामा एकता कायम गर्न साहित्यकार र कलाकारको विशेष भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा उत्तम कृष्ण मजगैंयाले कार्यपत्रमा सुधारका सुझाव प्रस्तुत गर्दै साहित्य र कलाले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका उपाध्यक्ष तिलक लामिछाने र महासचिव पुरुषोत्तम पाण्डेयले रचना वाचनका साथै संस्थाका आगामी योजनाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रममा रामगोपाल यादव, केशरी यादव, शनिराम चौधरी, तीला पन्थी ‘सुस्मिता’, पुरन शर्मा, शारदा शर्मा, डा. कृष्णराज डिसी, चन्द्रबहादुर थापा र दीपक शर्मा ‘समीर’ले कविता वाचन तथा विचार प्रस्तुत गर्नुभएको थियो । साथै, संस्कृति संरक्षण र साहित्यमा विशेष योगदानका लागि केशरी यादव, शनिराम चौधरी र तीला पन्थी ‘सुस्मिता’लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अवधी संस्कृति संरक्षण प्रतिष्ठान गढवाका कलाकारहरूले विशेष सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष साहित्यकार नीमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष राधा गौतमको स्वागत मन्तव्य र सचिव गुरुप्रसाद कुमाल ‘बुलबुल’को सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार हरि पोखरेल, पूर्व महासचिव अर्जुन शर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चकी उपाध्यक्ष योगमाया शाहीलगायतको उपस्थिति रहेको थियो ।