• २०८१ पौष २९ सोमबार

लघुकथा समाजद्वारा दुई स्रष्टा सम्मानित

काठमाडौँ, ९ फागुन, २०७८

लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री- केशर कथासम्मान- २०७८’ कथाकार मधुवन पौडेललाई र ‘बाटुली- खिलध्वज लघुकथा सम्मान- २०७८’ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले दुवै स्रष्टालाई सम्मानपत्रसहित नगद २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले नेपाली कथासाहित्यले विदेशका कथासँग कुम जोड्ने क्षमता राखेपनि सार्थक अनुवाद नभइदिँदा नेपाली कथाले विश्वबजार पाउन नसकेको बताए । घिमिरेले नेपाली कथा लेखनको प्रारम्भिक कालको चर्चा गर्दै कथाको विकासमा साहित्यिक पत्रकारिताले पुर्याएको योगदान बारे उल्लेख गरे ।

कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले स्रष्टाहरूको सक्षिप्त दिँदै २०१९ सालदेखि साहित्य लेखनमा लागेका कथाकार मधुवन पौडेलका कथा नेपाली कथासाहित्यमा बलियो लेखनकासाथ उभिएको बताए । प्रा. डा. गौतमले लघुकथाकार हरिप्रसाद भण्डारीको लेखनकर्मको चर्चा गर्दै उनले लघुकथाकै क्षेत्रमा एमफील गरेको र लघुकथाको विषयमा नै विद्यावारिधि गर्न लागेको बताए ।

साहित्यकार अशेष मल्लले उपयुक्त स्रष्टालाई सम्मानित गरेर लघुकथा समाज र दुवै सम्मान आफैँ सम्मानित भएको उल्लेख गरे ।

यसअघि सावित्री केशर कथासम्मान वरिष्ठ कथाकारहरू परशु प्रधान, भाउपन्थी, सनत रेग्मी र डा. राजेन्द्र विमललाई प्रदान गरिसकिएको छ भने बाटुली खिलध्वज लघुकथासम्मान डा. लक्ष्मणप्रसाद गौतम, हिरण्य भोजपुरे, महेश प्रसाई र धु्रव मधिकर्मीलाई प्रदान गरिसकिएको छ ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरू मधुवन पौडेल, हरिप्रसाद भण्डारी, सुमन सौरभ र सिन्धु गौतमले पनि मन्तव्य व्यक्त गरेका थिए ।


आमा

ऊख