• २०८२ कार्तिक २१, शुक्रबार

अजयमेरु कोट र मौला रानी

कैलास पाण्डेय

कैलास पाण्डेय

सयौँ सहलीसँगै राजप्रासादको विशिष्ट कक्षमा हुन्थिन रानी । रानीलाई अधेका कसैले हेर्न नमिल्ने गरि राखिन्थ्यो । अधेका रानीको छुट्टै सम्मान हुन्थ्यो । पहिरन पनि छुट्टै हुन्थ्यो । नारी हो वा सारी हो भने जस्तै शरीर पुरै ढाकिएको हुन्थ्यो । अरु महिलाहरू माझ रानीको पहिरन भेषभुषाले पहिचान गराएको हुन्थ्यो । रानीको कोठीसँगै कुण्टी बनाएको हुन्थ्यो । रेशमी सारी लगाउने , कुण्टीमा रहने अधेका भनेर रानीको परिचय नै हुन्थ्यो । निकै सिङ्गार पटार सहित कुण्टीमा रहन्थिन रानी महारानी । अति गोपनीय हुन्थे नित्य कार्यहरू । कोटमा कुनै किसिमको कमि हुन्थेन । खाने,बस्ने,सेवा ,सत्कारका लागि छुट्टाछुट्टै सहयोगी हुन्थे । रानी सामाजिक रूपमा पनि निकै सम्मानित उच्चपद थियो । राजाको प्रत्यक्ष भारदार तथा कर्मचारीसँग प्रत्यक्ष कामकारबाही हुन्थ्यो । आम जनमानसमा राजाले पुग्नका लागि धेरै प्रक्रिया हुन्थे । तर रानीसँगको भेट निकै दुर्लभ हुन्थ्यो । अति नै महत्त्वपूर्ण उत्सवमा राजासँगै रानी पनि जाने ब्यवस्थापन गरिन्थ्यो ।

राजालाई राजकाजकासाथै शिकारको सौख हुन्थ्यो । हुनत राजदरबारमा शिकारको कमि हुने त सवाल नै हुन्थेन तर राजालाई शिकारको निकै सौख हुने भएकाले राज्य भित्रका नाउँ चलेका शिकारी बोलाएर सिकार खेल्न जाने गर्थे । शिकार गर्न गएका शिकारी राजासँग प्रत्यक्ष कुराकानी गर्न सक्थे र गर्थे पनि । अरुकुरा गरे पनि राजाको सन्तानका विषयमा कोहि भन्न सक्दैनथे । सबैलाई थाह थियो कि सन्तान कै लागि राजाले सात रानी भित्र्याएका छन् भन्नेकुरा । जीवनको महत्वपूर्ण विषय सबैको सरोकार पनि हुन्थ्यो तर त्यो विषय उठान गर्न कसैले सकेन । गर्मि समय थियो । अन्य स्थान भन्दा अजयमेरु न्यानो, पारिलो घाम लाग्ने भएकाले पनि अधिकांस हिउँद यसै दरवारमा मुकाम हुन्थ्यो । अन्य रानी अरु कोटामा थिए नौली रानी सहित राजा अजयमेरुकोटमा बसेका थिए ।

रानीका सयौँ सहेलीहरु राजदरबार भित्र हुन्थे । अजयमेरुकोटमा नौली रानी राखे पनि राजाका छ रानी अरु पनि थिइन् । बि सं को नवौ शताब्दीको अन्ततिर निकै शक्तिशाली रहेको कत्युरी शासनमा राजा निरञ्जन पालको समय कत्युरी राज्यलाई शासन प्रशासन संचालन गर्न आठ भागमा विभाजन भएको देखिन्छ । कत्युरी शासनले शासन व्यवस्था चलाउन विभक्त गरेका भागहरु बैजनाथ,अस्कोट,सोर,द्वाराहाट, बाह्रमण्डल,सिरा,सुइ र डोटीका रुपमा रहेका थिए । सबै स्थानमा छुट्टाछुट्टै कोट निर्माण गरिएका थिए । आर्यव्रत,जम्बुदीपको केदारखण्डमा कत्युरी ठकुरी वंशको शासन निकै शक्तिशाली थियो । सुर्यवंशी राजाको शासन भएकाले राजालाई प्रजापालक,धर्मात्माका रूपमा राज्यको अभिभावक मान्दथे ।

राजाको दरवार कोटलाई देवालय जत्तिकै पवित्र मानिन्थ्यो । मन्दिरलाई दैवीय शक्तिको केन्द्र मानिए जस्तै कोटलाई राजकीय शक्तिको केन्द्र मानिन्थ्यो । कोट निर्माण गर्न हरेक नागरिकले पनि गच्छे अनुसार योगदान गरेका हुन्छन नै । त्यस्तै कसैको व्यक्तिगत घर निर्माण हुँदा कोटबाट शिला दिने गरिन्छ । कोट र नागरिक बिचको सहसम्बन्ध हो यो । कश्मीरदेखि कर्णालीसम्म विभिन्न स्थानमा कोट बनाइ त्यहाँको जिम्मेवारी बहन गर्ने जिम्वाल, रजवार तोकिएका हुन्थे । राजा अजयले सुमेरु पर्वत अर्थात मेरु जति ठूलो कोट बनाए भनिएबाट अजयले बनाएको मेरुपर्वत जस्तो कोट अजयमेरुकोट भनिन गयो । त्यसैकोटमा नौली रानी राखिएकी थिइन् ।

कोटमा रानीका लागि कुनै कमी थिएन । रानीका लागि स्नान गर्न रानी तलाउ बनाइएको थियो । विचरण गैर्नकालागि रानी वन थियो । भोजनका लागि जोरायलबाट बासमती चामल आउँथ्यो । राइल्डभडाँरको सेरो,सकायलको सेरो,तीनताली,तलकोटको सेरा, बझाङका जिउलाबाट पनि चामल ल्याइन्थ्यो । राजा पृथम देवको निकै प्रसस्ती थियो । विशाल राज्य निर्माण गरेका थिए । प्रतापी राजाका रूपमा लोक विख्यात थिए । पृथम देवकी महारानी उदिय सुरिज रुप यौवनले धपक्क उज्याली जाज्वल्यवान थिइन । जतिसुकै शक्तिशाली देश र राज्य लोक विख्यात भएपनि दरवारमा सन्तानको अभाव थियो । सन्तान कै इच्छाले सातौं विवाह गर्ने पुगेका थिए ।

राजाका सहयोगी र बोलाइएका शिकारीले राजासँग त भन्ने हिम्मत गर्दैनथे तर रानीका सहेली मजाक गर्दै रानीसँग अन्तरङ्ग कुरा गर्थे । “कोटमा रौत्यलाको अभाव भयो“ बिना नाउँकि सहेलीले कुराको शुरुआत गरि । कुराको भेउ पाए पछि के बाँकी राख्थे । साथी जस्तै थिए सबैजसो सहेलीहरु । धेरैजसो सखिका रुपमा माइतबाट संगै आएका थिए । कोरिकन्या भने त थिएनन अधिकांश विवाहित थिए । दरबार मै काम गर्नेहरू पुरै परिवार समर्पित हुन्थे । सेवा सुश्रुषामा पूर्ण प्रतिबद्ध हुन्थे । निकै विश्वास पात्र भएकाले अति संवेदनशील कार्यको जिम्मेवारी दिइएको हुन्थ्यो ।

स्नानको तयारीमा रहेका सहेलीसँग अन्तरङ्गका कुरा गर्दै गफिँदै रानीको सवारी पुग्यो । तातोपानीको प्रबन्ध थियो । रानीको इच्छा अनुसारको पानीको प्रयोग गर्न मिल्ने व्यवस्था थियो । विधिपूर्वक मन्त्र उच्चारणसंगै स्नान सुरु भयो । स्नान गराउँदै बिनाले फेरि अघि कै कुरा दोह¥याइ “ रौत्याला भए सबै खेलाउथौ।“ रानीले एकै शब्द “बिन्नरी” भन्दा सबै रानीको चित्त बुझेन हाम्रा कुरा भनि चुप लागे । स्नान सकिवरी सुर्य अर्घ दिंदा बिनाको प्रस्ताव भगवान सुर्यसँग कामना गरिन । मौला शिव भक्तिनी थिइन । माइती दरवारमा गराइने विभिन्न पुजा मध्ये स्वस्थानी व्रत कथाको निकै प्रभाव थियो। शिवजी पति पाऊँ भनी गरिएको गौरीको कठोर व्रतले मौलालाई शिव साधनामा डो¥याएको थियो । हरेक दिन स्नानसंगै शिव पाञ्चायनको पुजा गर्ने गर्थिन । बिन्नरी अर्थात बिनाको जिस्क्याइले रानीमा अर्को तरंग उत्पन्न भयो ।

पुजा आराधनामा सघाउने चन्द्रासंग अघि बिन्नरीले शुरु गरेको कुरालाई रानीले बढाउन थालिन । “धेरै कुरा आफ्नो चाहानाले मात्र हुँदोरहेनछ। दैव ,संजोग र कर्मको लेखी पनि चाहिने रहेछ।“ रानीका कुरा बुझेर चन्द्राले कुरा थपी “ महारानी पूर्वजन्मको प्रभाव र लेखी पनि होला तर आ तर आफुले पनि कर्म गर्नु पर्छ। कर्म साधना देवमय छ निश्चितरूपमा हर्क देखिन्छ होला।“ “अझै भन्दै गइ “द्विजराज ज्योतिषीमा निकै ठुलो ज्ञान छ। बोलाउने आज्ञा होस, बोलाउँछौं र कुनै अनुष्ठान गरौंला ।“ रानीबाट ज्योतिषी बोलाउने निर्देश भयो । द्विजराज ज्योतिष र जोगी पण्डित दरवारमा पुगे ।

महारानीको दर्शनका लागि पण्डित द्वय प्रतीक्षामा थिए । विशिष्ट पाहुना कक्षमा बसेका पण्डितहरू फूल गुच्छा समातेर बसेका थिए । पहिलो पटक दर्शन गर्न पुगेका थिए । मौला राजा प्रीर्थौदेवका सात रानी मध्ये सबैभन्दा कान्छी रानी थिइन । अन्य एक दुइ रानीहरु दुलही अन्माउदा द्विजराज आचार्य बनेर गएका थिए । सातौँ रानी भित्र्याउदा त्यस्तो संयोग परेको थिएन । आज दर्शनको मौका मिलेको थियो । मंगलगानको तयारीमा थिए दुवै जना पण्डितजीहरू । सुसारे सहेलीले सवारीको संकेत गरे पण्डितले मंगलाचरण वाचन गरे । सश्वर वाचन गरिरहेका पण्डितजी सामुन्ने नौली महारानीको उपस्थिति भयो ।

राजगुरु परम्परामा रानीले पाउलागी ढोग गर्नु पर्ने र पण्डितले स्वस्ती फर्काइ आशीर्वाद दिने गरिन्थ्यो । त्यस्तै स्वस्ती वाचनसंगै स्वस्ती फर्काउँदै ल्याएका फूल गुच्छा र सगुनको प्रतीक दहिको ठेकी हरियो साग ,दूध,दहि, ध्यु,मह,सक्कर सहित पञ्चामृत अर्पण गरे । मेवा मिष्ठान सहित ऋतु फलहरू बोकेर ल्याएका थिए त्यो पनि दिए । घ्यू मा पकाइएको पक्वान नैवेद्य स्वरुप दिए । त्यसैगरि वस्त्र, आभूषण र दाम राखेर महारानीलाई दिए । द्विजोचित कर्मबाट दर्शनभेट भएपछि राजोचित सम्मानपूर्वक दान दक्षिणाको प्रवन्ध भयो । शिष्टाचारको प्रक्रिया सकिए पछि दुवै पक्ष मौन रहे ।

एक छिनको मौनता पछि जोगराज पण्डितले दरवारमा बोलाउनको कारण सोधेर कुराको शुरुआत गरे “ कोट आउन मर्जी भएको थियो । हामीहरू आएका छौं । केही सेवा गर्न पाए हुन्थ्यो ?“ “ केही अनुष्ठान गर्नु पर्ने थियो । त्यसका विषयमा छलफल गर्न बोलाएको ।“ पण्डितका कुराका बिचैमा रानीले थप्नु भयो। “ हुन्छ महारानी,मर्जी भए अनुरुप गरौंला । “पण्डितले कुरामा सहमति जनाए। “ग्रहदशा,हेर्नु प¥यो, के गर्दा उपयुक्त हुन्छ? “ रानीले कुरा बढाउदै गइन ।

राजगुरु र राजपुरोहितका रुपमा पुस्तौंदेखि त्यहि कोटसँग जोडिएका थिए द्विजराज र जोगराज पण्डितहरु । ज्योतिषी विद्या दुवैले काँशीबाट र बुबा बाजेको सत्प्रेरणाले दरवारसँग जोडिएका थिए । दरवारका नित्यकार्यसंगै विशेष अनुष्ठान गर्ने गर्दथे । ज्योतिष विद्याको ज्ञान पनि थियो । महारानीसंगको कुराकानीका क्रममा जलपान, फलफूलको व्यवस्था भयो । महारानीको जन्म कुण्डली हेरियो । शुभलग्नको चर्चा भयो । जुन उद्देश्यले हेराली गणाली भएको थियो त्यो प्रसंग उठान भएन । स्वयं रानीलाई पनि त्यही प्रसंगमा कुरा गर्न हिम्मत आएन । जोगराज पण्डित छेउबाट पानीको गिलास उठाउदै बिन्नरीले खुसुक्क भनी “रौत्यालो पाउने योग भनिदिनु गुरु।“ हेरालीगणालीको भाव बुझेर “पुत्र योग निकै राम्रो छ। उतरार्धमा तीन सन्तान हुने योग छ ।“

जोगराज पण्डितले सबैको जिज्ञासा मेटिने किसिमले कुरा राखे । त्यही बिचमा द्विजराजजीले यसैवर्ष दरवारमै कुनै अनुष्ठान गर्नु भन्दा माघ महिनामा परशुरामतीर्थमा कल्पवास बस्ने त्यही माघ महात्म्य लगायत पाठ गर्ने गराउने । यज्ञ, यज्ञादीसहित सोल शिवालयको पुजा गर्ने सुझाव दिए । द्विजराजले थपे “लोक मान्यतामा तीर्थ मै को ठूलो परशुराम र देवता मै को ठूलो भागेश्वर भनिन्छ । तीर्थ स्नान र देवपुजा दुवै कार्यका लागि परशुराम तीर्थको कल्पवास निकै महत्वको छ । कल्पवासले कामना पूरा गर्दछ । स्कन्द पुराणले पनि भनेको छ गङ्गास्नानाद्दशगुणा फलं प्राप्य तपोधन ।

गङ्गा स्नानमा पाईने फल भन्दा परशुरामतीर्थ स्नानमा दशगुणा बढी फल परशुराम स्नानले पाइन्छ । तीनलोकमा चर्चित तीर्थ परशुराम हो । जहाँ स्नानले सयौ कुल पापबाट मुक्त भइ वैकुण्ठ लोग पुग्दछन ।“ द्विजराज संगै जोगराज पण्डितले फेरी थप्दै गए “परशुरामतीर्थ जहा परशुरामजीलाई चिरन्जीवीको वरदान दिइएको थियो । जहा परशुरामजी बाट पुजित भार्गवेश्वर थान रहेको छ ।“

ज्योतिषीबाट पाएको सल्लाह र पुत्र योगको कुरा राजालाई रानीबाट जानकारी गरियो । कल्पवास साधनाका विषयमा कुनै प्रतिक्रिया दिएनन तर “हात पडेकी सैइ छ ।” भन्दै विश्राम गर्न गए । महारानीको पनि सधैँ झैँ नित्यकर्म चलिरह्यो । दिन ढलेसंगै सबै आ आफ्ना विश्राम कक्षतिर लागे ।


कैलास पाण्डेय