समाचार

पहिले त तिमी आफ्ना आँखाहरु खोल
धेरै वर्ष भैसक्यो
तिमी यसरी सुतेको
तिम्रो प्यारो संगिनी त्यो मोबाइललाई
पहिले बेस्सरी थिचेर बन्द गरिदेउ
अनि वेगले हुर्याइदेउ
भित्ताको पल्लो कुनातिर
ताकि त्यो चुरचुर भै फुटोस्
अनि बल्ल उठ तिमी,
तिमी जुरुक्क उठ
र ओछ्यानमाथिको त्यो ओढ्ने
जुन तिमी वर्षौँदेखि ओढिरहेका छौ
त्यसलाई पनि पर भुँइतिर मिल्काइदेउ
त्यो कीरा आज कवचबाट निस्कनै पर्छ
अब तिमी आफ्नो झ्यालतर्फ जाउ
सधैँ उज्यालो छेकिरहने ती अँध्यारा पर्दाहरुलाई
तिमी निर्ममतापुर्वक च्यातिदेउ
अनि झ्यालहरुका चुकुल
जुन वर्षौँदेखी बन्द छन् ,
तिनलाई तिमी एकपटक मायाले सुम्सुम्याउ
र बिस्तारै खोलिदेउ
अनि सँगै खुल्नेछ तिम्रो अन्तरआत्मा पनि
तिमीलाई आँखाको खाँचो छ, सिसाको होइन
भित्री मनको दृष्टिजत्ति सफा अरु केही छैन
अब तिमी ढोकातर्फ अघि बढ
त्यो ढोकाको चुकुल खोल्नतिर नलाग
बरु त्यसलाई लात्ताले जोडले फट्कार
ताकी त्यसको चुकुल सधैँका लागि भाँचियोस्
र तिम्रा लागि ढोका सधैँ खुलिरहोस्
बाहिर पाइला चाल्नलाई ढोका खुला राख्नै पर्छ
भित्र दियो बाल्नलाई हृदय खुला राख्नै पर्छ
त्यसपछी तिमी सोझै बाहिर हान्निउ
छैनी, कोदालो र गिँती खोज
र सीधै आफ्नै घरको पर्खालतर्फ जाउ
हातमा त्यो गिँती समाउ र पर्खालमा
जोड्जोडले प्रहार गर
आज तिमीले त्यो पर्खाल भत्काउनैपर्छ !
अग्ला अग्ला पर्खालभित्र मरिरहेछौ हर प्रहर
खुला आकाश, खुला हृदय, खुलामै छ खुसी हैन र ?
त्यो पर्खाल भत्काइसकेपछी अरु छिमेकीले तिमीलाई देख्नेछन्
वर्षौँसम्म बोलचाल नभएका उनीहरु
तिमी नजिक आएर बोल्न खोज्नेछन्
तिमी उनीहरु सबैसँग प्रेमले बोल्नु
र गर्नु सभ्य बहस
सम्झाउनु उनीहरुलाई
बदल्नु उनीहरुको संकुचित सोच
मनाउनु तिनलाई पनि
आ-आफ्ना घरको पर्खाल भत्काउन
बुझाउनु यो,
कि जबसम्म समाज बदलिँदैन
तबसम्म संसार बदलिँदैन ..
पर्खाल भत्काइसकेपछि
अब तिमीहरु सबैजनाले
आ-आफ्ना हातमा छैनी लिनु
र आ-आफ्ना आँगनको सिमेन्ट, टायल र मार्बल फुटाउनु
र रोप्नु त्यसमुनिको माटोमा
माया, प्रेम र सद्विचारका विरुवाहरु
हाँसो, मुस्कान र सद्भावनाका बोटहरु
त्याग, सेवा र समर्पणका वृक्षहरु
किनकी,
माटो पाएमा नै उम्रन्छ कुनै फल
माटो छोएमा नै बन्छ कोही सफल
अब जब फल अनि फुलहरु
फल्ने-फुल्नेछन्
तिम्रो मनको बारीमा
ती उडिगएका चराहरु
कोइली, चिबे र मैनाहरु
फेरि फर्किनेछन्
आ-आफ्ना गुँडमा ,
फर्किनेछन् फेरि
पुतली, मौरी र जुनकिरीहरु,
र तिनीहरुसँगै फर्किनेछ
तिम्रो घरआँगनमा हरियाली
तिम्रो समाजमा खुसियाली ..
खुसी खोज्दै भागेको मानिस, तिमी अहिले कहाँ पुगेका छौ?
खजाना त त्यहीँ छ, तिमी अहिले जहाँ लुकेका छौ !
-संसार नेपाली