• २०८२ कार्तिक २१, शुक्रबार

ममताको स्वाभिमान

केवरा भट्टराई

केवरा भट्टराई

रमाउने बहानामा अवहेलनामा ढकिएको हृदय,
तर पनि आँसु पुछ्दै हाँस्ने अधर,
निन्दा र अपमानको चक्रमा थिचिँदा पनि
उठ्ने आत्मबलमा गाढिएको कल्पना सुन्दर !

आफ्नै पौरखले सजाएको संसार,
कहिल्यै नझुक्ने ममताको स्वाभिमान
मायाको साहाराले सिंचेका सपनामा
सन्तानको भविष्यमा खोज्छु सम्मान
दिनमा घाम र तारा झैँ रातमा
सन्तान नै हुन् मेरा जीवनका अभिमान ।

होस्मा हुनुपर्नेले जब बेहोसीलाई अंगाल्छ
आफ्नो भन्दै जब आफ्नैले पिरोल्छ
दुखेको मनले सुनौलो घाम नदेखेरै
जीवनका रंगिन पाटाहरू रंगहीन बनाउँछ
तर घट्दैन, डराउँदैन, भाग्दैन ममत्व
सबै दुःख स्वाभिमानले समेट्छ

जुनतारा रातभरि आकाशमा चम्किएर
बिहानीमा हराएझैँ,
म हराउँछु सन्तानको खुसीमा र
बिलाउँछु आफ्नै अस्तित्वभित्र
ममताको त्यो असीम समुन्द्रमा
जहाँ म आफैँ तर्पण बनेर उज्यालो दिन ल्याउँछु र
हेरेर मुस्कुराउँछु सन्तानको आँखामा !!


केवरा भट्टराई, काठमाडौँ