• २०८१ माघ ५ शनिवार

आमा

सुमन वर्षा

सुमन वर्षा

पार गर्दै सम्बन्धका हिम श्रृङ्खला
कयौँ वसन्तकी साक्षी मेरी आमा
संस्कारको पाउजुमा सजिएर
रहरहरूलाई बन्दकी राखेर
सभ्यताको निरन्तर
सृष्टि गर्छिन्

सुन्दर इन्द्रेणीहरू
तमाम कठिनाइहरू छिचोल्दै
जिम्मेवारीहरूको पहाड उचाल्दै
भर्छिन इन्द्रेणीमा रंग

सृष्टिको रणभूमिमा
सहिद भएका थिए उनका
थुप्रै सपनाहरू
जीवन मरणको दोसाँधमा
जितेकि थिइन् मेरो अस्तित्व
कति नथाकी थपेकी थिइन्
मेरो खुसीमै उनको खुसी
साक्षात इश्वरको रूप आमा
सृष्टिको अनुपम सृजना
मेरो जीवनको मिठो बन्दना

अनपढ मेरी आमा
सरस्वतीको साक्षात स्वरूपा
उनैको काख मेरो पहिलो पाठशाला
उनै मेरो पहिलो शिक्षक
उनको बाणी मेरो पहिलो पुस्तक
र पढ्न सक्ने भएको छु म
जीवनको महाकाव्य

दुनियाँसंग अन्जान मेरी आमा
उनैले खोलिदिएको आँखाले
संसार हेर्दैछु
उनैले देखाको बाटो हिडेर
गन्तव्य पहिल्याउँदैछु
हरेक पटक पनि यही भन्छु आमा
कति निश्चल छ तिम्रो संस्कार
कति निस्वार्थ छ तिम्रो माया

मेरी आमा !
तिम्रो बात्सल्यको पुस्तकबाट
थुप्रै अध्याय पढ्न अझै बाँकी नै छ
ठूला ठुला सन्तहरूले छिचोल्न नसकेको
तिम्रो त्याग र ममताको शक्ति
सिकेर तिमीसँग आमाको सभ्यता
पैचो मागेर तिमीसँग आमाको दर्शन
आत्मासात गर्नुछ तिम्रो आदर्श
बुझ्नु छ र बुझाउनु छ
तिमीले बुझाएको
प्रेमको संदेश
प्रेमको परिभाषा
प्रेमको गहिराई ।


(वर्षा चर्चित कवि तथा साहित्यकार हुन् ।)