• २०८१ माघ २ बुधबार

हे मन !

गीताश्री शर्मा

गीताश्री शर्मा

मेरो मन भित्रको मन
छोडी देऊ गुनासो गर्न
त्यो सेतो केशको तिमी
केश फुल्दैमा के भयो त !
रहरहरू फुल्न नदेऊ
इच्छा उमङ्गहरू झुल्न नदेऊ
कर्तव्यहरू भुल्न नदेऊ
अनि जोगाएर राख त्यो तिम्रो
ललाटको रातो टीकालाई
फुल्न देखि जोगाऊ
किन कि !
कोही त छन् पक्कै पनि
तिम्रो टीकाको तारीफ गर्ने
मेरो मन भित्रको मन पनि त छ
तिम्रो टीकाको तारीफ गर्ने ।

यसैले
छोडी देऊ गुनासो गर्न
त्यो मोटोपनको पनि
स्वास्थ्यलाई जोगाएर राख
तिम्रो शरीरलाई होइन
कोही त छन् नि पक्कै
तिम्रो सुन्दर मन बुझ्ने !
मिठो मुस्कान सुमधुर बोली र
तिम्रा हिँडाइमा रूझ्नेहरू।

यसैले !
छोड अब अनुहारको दाग छोप्न
कृत्रिम शृङ्गार त्यो मुहारमा रोप्न
खुल्न देऊ त्यो हाँसोलाई
ताकि
तिम्रो मुस्कान देखेर जल्नेहरू होलान्
जल्नेहरू लाई जल्न देऊ
शील- स्वभाव र गुणहरू देखी
भित्रभित्रै बल्नेहरूलाई
दनदनी बलिरहन देऊ।

यसैले अझ भन्छु सुन !
छोडीदेऊ आत्मा मारेर खान
नगर खानामा कटौती
नगर भोजनमा नियन्त्रण
सन्तुलित भोजन गर
जे मन लाग्छ खाऊ !
मनले जे भन्छ उसैमा रमाऊ
आत्मालाई सन्तुष्टी देऊ ।

किन भने कहीँ कतै
कुनै आत्मा पक्कै छ
तिम्रो खुशीमा रमाउने !
तिम्रो हातमा हात राखी
वचन र व्यवहारमा
तिम्रो साथमा रही
सिर्फ तिम्रो खुशीमा खुशीभएर
तिमीसँग रमाउने ।
यसैले
यदी तिमी फुल्छौ भने
उसैको निम्ति फुल
उसैको निम्ति झुल
उसैको निम्ति हाँस
बांच या नाँच पनि।

हरेक मोडमा या गोरेटोमा
गल्ली गल्लिमा या बजारहरूमा
गाउँ, बस्ती र पाखाहरूमा
पँधेरा, पोखरी र झरनाहरूमा
लछेप्रै छन्
ती कृत्रिम अनुहारहरू
रूप र जाली मनहरू
स्वार्थी तनहरू
र घमण्डले पुरिएर
मुखमा राम राम जप्दै
बगलिमा छुरा बोकी
तिम्रै वरिपरि घुम्नेहरूको ।

तर ! कोही न कोही छ ?
ती ठाउँबाट छुट्टै
भीडबाट चियाएर
कतै कुनामा बसी
तिम्रो खुशी र मुस्कानमा
रमाएर बस्ने
यसैले सक्छौ भने तिमी
त्यो अनुहार चिन
अनि शान्तिसँग भन
हो मैले तिमी जस्तै साथी
खोजिरहेथें ।
हे मन !!


गीताश्री शर्मा, सिक्किम, भारत
[email protected]