आऊ हामी आज
एक- अर्काको आँखामा
यौटा मीठो सपना देखौँ
फेरि यो दिन
आऊला- नआऊला
आऊ हामी
एक- अर्कामा रुझौँ मायाले
फेरि बादल छाऊला- नछाऊला
आउन त अर्को वर्ष आऊला
मायाको तिर्सना जगाऊला
टुटेफुटेको जिन्दगीमा
नयाँ रस रङ ल्याऊला
गाउँदै मिलनको गीत
मिलनले सङ्गीत सुनाऊला
तर
आजको
यही पललाई अँगाल्नु छ
रुग्ण तन- मन व्याधिलाई
स्नेहले पखाल्नु छ
बाँच्नु छ मीठो यथार्थ
तिमी र म, म र तिमी
र
सम्हाल्नु छ एक अर्काको माया
आऊ हामी बाँधिऔँ
मायाको बन्धनमा
नियतिले फेरि
यो पल
जुराऊला- नजुराऊला
रीतको जालो हटाई
प्रीतको संसारमा
एक- अर्कामा रम्दैझुम्दै हामी
आजको शुभ्र उज्यालोमा
स्पर्श साटौँ
भोलि फेरि
सूर्य उदाऊला- नउदाऊला
आऊ हामी एक भएर
सुनौँ
एक- अर्काको स्पन्दन
फर्केर यो दिन आऊला- नआऊला ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)