समाचार

सँसारको जुनसुकै कुनामा भ्रमण गर्न जाँदा पनि माग्नेहरूसँग जम्काभेट हुने गर्दछ । सडक, सडकपेटीहरू, पसलका अगाडि हात थापी पैसाको ‘भिक्षा’ माग्नेहरू बग्रेल्ती भेटिइन्छन् । छिमेकी देश भारततिर जाँदा त्यहाँका मन्दिर, मस्जिद, होटेल, रेस्टुरेन्ट सबैतिर दयनीय अवस्थाका माग्नेहरू देखिन्छन् । भनिन्छ भारतमा त मगन्तेहरूको सञ्जाल खडा गरी करोडौँ रूपियाँ कमाउने मगन्ते माफिया पनि क्रियाशील छन् । यस तथ्यलाई पुष्टि गर्नका लागि अङ्ग्रेजी चलचित्र ‘स्लमडग मिलियोनेअर’ हेरे पुग्छ, जसमा मगन्ते-माफिया के हो र कसरी सञ्चालन हुन्छ भन्ने कुरा प्रस्टसँग देखाइएको छ । एकपल्ट बनारस घुम्न जाँदा मैले माग्नेहरूको हुल नै देखेकी थिएँ । यसै गरी नेपालमा पनि माग्नेहरू छ्यापछ्याप्ती नै छन् । नेपालको पर्यटकीय सहर पोखरामा विदेशी पर्यटकहरूलाई स्थानीय मगन्तेहरूले हैरान पारेका समाचारहरू सचार माध्यमबाट पढ्न, सुन्न र हेर्न पाइएको थियो । काठमाडौँको नयाँसडक, बसस्टप, पशुपतिक्षेत्र अनि ठमेल बजारमा माग्नेहरूले पर्यटकहरूको हात तान्ने, पछिपछि लाग्ने, नदिएमा तथानाम गाली गर्ने गरेको देखिन्छ । कुनै समय दरबारमार्गस्थित निरोलाज रेस्टुरेन्टमा खान खान जाँदा माग्नेहरूको ताँती झ्यालमा बसेर ग्राहकहरूसँग पैसा मागिरहेको देख्दा खानै मन नलागी फर्किएको अहिलेसम्म पनि सम्झिरहन्छु । माग्नेहरू किन माग्छन् भन्ने कुरा अनन्त बहसको विषय हो । माग्नका लागि माग्ने वा कुनै विवशताका कारण माग्नुपर्ने भन्ने विषयमा सबैका आ- आफ्ना तर्कहरू हुने गर्दछन् । प्रस्तुत लेखको उद्देश्य त्यतातिर जानु नरहेको हुनाले माग्नेहरूका थरीथरीका रूपतर्फ नै मोडिऔँ ।
अमेरिकाजस्तो धनी देश- (जहाँ मेहनत गर्याे भने सबैका आवश्यकताहरू पूरा हुन्छन्) मा पनि माग्नेहरू हुन्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर वास्तवमा नै यहाँ पनि माग्नेमान्छेहरू भेटिइन्छन् । भारत र नेपालमा जस्तो बग्रेल्ती त छैनन् तर अमेरिकी परिप्रेक्ष्यमा यहाँका लागि धेरै नै मानिन्छ । वासिगटन डिसी वरिपरि, न्युयोर्कको म्यानह्यटन, स्यानफ्रान्सिस्कोको डाउनटाउन, सिकागो सहर गएका वेला हामीले थरीथरीका माग्नेहरू देखेका छौँ । यहाँ दुई मुख्य प्रकारका मगन्तेहरू हुन्छन् । पहिलो, आफ्नो घरबार नभएका खुला आकाशमुनि जीवन बिताउने माग्नेहरू जसलाई ‘होमलेस’ भनिन्छ र दोस्रो, ओत लाग्ने ठाउँ त भएका तर दुव्र्यसनले ग्रस्त व्यक्तिहरू जो मागेर आफ्नो आवश्यकता पूरा गर्छन् । यी दुईमध्ये होमलेस खालका माग्नेहरू नै बढी देखिन्छन् । भारत र नेपालमा जस्तो बग्रेल्ती त छैनन् तर अमेरिकी परिप्रेक्ष्यमा यहाँका लागि धेरै नै मानिन्छ । यी दुईमध्ये होमलेस खालका माग्नेहरू नै बढी देखिन्छन् । यी होमलेसहरू विशेषतः मानिसहरूको आवागमन बढी हुने ठाउँजस्तै कन्भेनिएन्स स्टोर, ग्यास स्टेसन (पेट्रोल पम्प) रेल्वे स्टेसन, बसस्टप, रेस्टुरेन्ट, सडकका इन्टरसेक्सन (चौरस्ता) मा लेन छुट्याउने पेटीमा बढी देखिन्छन् । अधिकांशसँग ग्रोसरी पसलमा प्रयोग हुने सपिङ् कार्ट हुन्छ जसमा उनीहरूको सम्पूर्ण ‘घरबार’ निहित हुन्छ । उनीहरूका ओढ्ने ओछ्याउने लुगा अनि अन्य खत्र्याकखुत्रुक सामानहरूले भरिएका हुन्छन् यी कार्टहरू । त्यही कार्ट घिच्याउँदै उनीहरू एक ठाउँबाट अर्को ठाउँ घुम्ने गर्छन् । यिनीहरूसँग फेरफार गर्न जगेडा लुगा नहुने भएकाले सधैँ नै एउटै लुगाले काम चलाउँछन् । यिनीहरूलाई नुहाउने सुविधा पनि सजिलै प्राप्त नहुने भएकाले र कतिपयका हकमा नुहाउने इच्छै नहुने भएकाले यिनीहरू दस हात परबाट नै गन्हाउँछन् । भुइँमा सुत्ने भएकाले उनीहरूका लुगा कात्ती परेका हुन्छन् । जाडो एवं प्रचण्ड गर्मीयाममा सरकारले यिनीहरूको हेरचाहका निम्ति न्यानो र शीतल दुवै प्रकारका सुविधायुक्त निःशुल्क सेल्टर भवनहरू बनाइदिएको छ तर उनीहरू त्यस्ता सेल्टरमा जान चाहँदैनन् किनभने त्यहाँ नियम, कानुन र अनुशासनमा बस्नुपर्छ । सधैँ आफ्नो मनमौजी र छाडा भएर डुलिरहेको जिन्दगीमा उनीहरू कुनै पनि प्रकारको बन्धनमा बाँधिन चाहँदैनन् । अँ, खाना खुवाउने ठाउँमा भने यिनीहरू तँछाड र मछाड गर्दै पुग्छन् । सामाजिक संस्थाहरूले निःशुल्क खाना वितरण गरेका ठाउँमा यिनीहरूको उपस्थिति बाक्लै देखिन्छ । यिनीहरू मुखले माग्दैनन् । जसले दया गरेर दिन्छन् उनीहरू ‘थ्याङ्क यु’ भनेर लिन्छन् । जबरजस्ती गर्दैनन्, पछिपछि लाग्दैनन् ।
न्यूयोर्क गएको वेला त्यहाँको भूमिगत रेल्वे स्टेसनमा केही व्यक्तिहरूले दानपात्रको रूपमा आफ्नो छत्रेटोपी भुइँमा राखी गितार बजाउँदै मग्न भएर मागिरहेको देखेँ । त्यस्तै स्यानफ्रान्सिस्कोको फिसरम्यान ह्वार्फमा अनेकौँ जिम्नास्टिक चटक देखाई पैसा मागेको र विभिन्न कार्टुन क्यारेक्टरको चोगा भिरी फोटो खिचाउन चाहनेहरूसँग ‘शुल्क’ लिएको पाएँ ।हजारौँ पर्यटकहरूको रेलपेल हुने त्यस्ता ठाउँमा नेपाल, भारतमा जस्तो माग्नेहरूको असभ्य व्यवहार देखिएन । इच्छा हुनेले टोपी या बट्टामा पैसा राखिदिन्छन् तर ‘कति थोरै ?’ वा ‘अलिक थपिदिनूस् न’ भनेको त्यहाँ सुनिएन । नेपाल पुगेर आएका मेरा केही साथीहरूले उनीहरूलाई पोखरा र काठमाडौँको ठमेलमा माग्नेहरूले वाक्कै बनाएको कुरा मलाई सुनाएका थिए ।
मेरो बसाइ अमेरिकाको राजधानी वासिङ्टन डिसीसँगै टाँसिएको मेरिल्यान्डमा छ । कामको सिलसिलामा वासिङ्टनको क्यापिटल (संसदभवन) नजिकै जानुपर्ने हुन्छ । मेट्रो रेलबाट जाँदा कफी पिउन युनियन स्टेसनमा ओर्लेर नजिकैको म्याकडोनाल्डस्मा छिर्दथेँ । त्यहाँबाट तात्तातो कफी लिई अमेरिकी चलनझैँ सुरूप सुरूप सुक्र्याउँदै कार्यस्थलतिर लाग्थेँ । युनियन स्टेसन निकै ठूलो र व्यस्त स्टेसन हो वासिङ्टन डिसीको । यहाँ मेट्रो रेल, मार्क कम्युटर ट्रेन, सीएसएक्स मालवाहक रेल अनि एमट्र्याक अन्तर्राज्यीय रेलसेवाले आफ्नो सेवा प्रदान गर्छन् । त्यसको अतिरिक्त मेट्रो बससेवा र ट्रेलवेज अनि ग्रेहाउन्ड अन्तर्राज्यीय बससेवाले पनि यसलाई आफ्नो अड्डा बनाएका छन् । यस स्टेसनमा, यसको वरिपरि पेटीमा ह्विलचेयरमा बसेर काखमा बट्टा राखी मानिसहरू माग्न बसेका हुन्छन् । कसैले एक डलर कसैले एक क्वार्टर (२५ सेन्टको सिक्का) राखिदिन्छन् ।गितार बजाउनेले पनि यसरी नै टोपी थापेर बसेको हुन्छ । एउटा रूसीजस्तो देखिने ‘भेटेरन’ (युद्धबाट फर्किएर सेनाबाट रिटायर्ड भएको व्यक्ति) चाहिँ खुट्टामा नक्कली घाउ बनाएर जेब्रा क्रसिङ्जस्तो व्यस्त स्थानमा माग्ने गर्थे । त्यस्ता माग्नेका दानपात्रमा पनि सिक्का र डलरका नोट देखिन्थे । ह्वाइट हाउसको नजिक म्याक्फर्सन स्ट्रिटमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टको फोहोर फाल्ने कन्टेनरबाट खाना खोतल्दै झोलामा राख्दै गर्ने मगन्ते पनि देखियो ।
मैले काम गर्ने वासिङ्टन डिसीको साउथ एच स्ट्रिट टोलमा बसबाट ओर्लिएपछि एउटा अचम्मको माग्ने म भेट्थेँ । हातमा बट्टा लिएर बसेको त्यस मानिसको दानपात्रमा मैले एउटा क्वार्टर राखिदिएँ । त्यस मान्छेले त्यो क्वार्टर फुत्त भुइँमा फालिदियो र भन्यो- ‘गिभ मि फोर डलर्स !’ म छक्क परेँ । उसले झर्केर थप्यो- ‘इफ यु डोन्ट ह्याभ फोर डलर्स, डोन्ट वरी । थ्याङ्क यू एन्ड गड ब्लेस यू !’ चुपचाप आफ्नो क्वार्टर टिपेर मअघि बढेँ । सोचेँ, साधारणतया यहाँका माग्नेहरू यसरी मुख फोरेर, रकम तोकेर माग्दैनन् । फेरि उसले ५ मागेन, १० मागेन । चार मात्रै माग्यो । उसलाई चारै डलर मात्र किन चाहिएको थियो यो रहस्य मैले केही बुझ्न सकिनँ ।
यसरी नै कफी पिउन म्याकडोनाल्ड्स पस्दा त्यहाँ पनि अफ्रिकी-अमेरिकी मगन्तेहरू कोही क्वार्टर माग्ने, कोही एक कप कफी किनिदेऊ भन्ने र कोही एक सेन्ट (एक पैसा ) मात्र देऊ भन्ने पनि भेटिइन्छन् । क्वार्टर वा कफीको माग गर्ने कुरा त स्वाभाविकै हो तर एक सेन्ट मात्र मागेको देख्दा मलाई अचम्म लाग्यो । मैले एउटालाई सोधेँ पनि- ‘एक पैसा मात्र किन ? के आउँछ एक पैसाले ?’ त्यसको जवाफमा मुसुक्क हाँसेर उसले आफ्नो पोल्टो देखायो, जसमा आधा किलो जति एक सेन्टका सिक्काहरू थिए । त्यो देखेर म पनि नमुस्काइरहन सकिनँ । थरीथरीका माग्नेहरू छन् अमेरिकामा । कसैलाई क्वार्टर मात्रै भए पुग्छ, कसैलाई कफी वा स्यान्डविच मात्रै भए पुग्छ, कसैलाई एक डलरदेखि बढी चाहिँदैन र कसैलाई ठ्याक्कै चारै डलर चाहिन्छ । लाग्छ यहाँका माग्नेहरूमा आत्मसम्मानको भावना प्रबल छ, त्यसैले कसैले नदिएमा पनि विनाभावावेश त्यस निराशालाई दबाउँछन् । एकपल्ट माग्छन्, दोस्रोपटक माग्दैनन् ।
अहिले अमेरिकामा कोरोनाको प्रचण्ड कहर व्याप्त छ । अन्य रेस्टुरेन्टहरूले जस्तै म्याकडोनाल्ड्सले पनि भित्र बसेर खाने व्यवस्था हटाई केवल ड्राइभ थ्रु सेवा मात्र कायम गरेको छ । त्यसैले ढोकाबाहिर उभिएर माग्नेहरू अहिले देखिँदैनन् । एकदिन मैले म्याकडोनाल्ड्समा अड्डा जमाएर बस्ने एउटा अश्वेत माग्नेको खोजी गरेँ । ऊ ढोकाभन्दा अलिक पर पेटीमा ढल्किएर बसिरहेको देखेँ । ‘लौ कफी खाऊ !’ भन्दै मैले उसलाई एक डलर दिएँ ।‘गड ब्लेस यु’ भनेर उसले पैसा लिएर आफ्नो खल्तीमा राख्यो । सामान्य अवस्थामा ऊ जहिले पनि म्याकडोनाल्ड्स भित्रै बसिरहेको हुन्छ र त्यहाँको म्यानेजरले पनि उसलाई केही भन्दैन । मेट्रो स्टेसनतिर पनि माग्नेहरू बसेका देखिन्छन् । छेउबाट आउने जानेलाई ‘गुडमर्निङ्’ भन्छन् । कसैले पैसा दिएमा खुसी हुन्छन्, नदिएमा पनि चित्त दुखाउँदैनन् । यस्ता माग्नेहरूमा जम्मा भएको पैसाले खाना होइन लागू पदार्थ किन्ने जमात पनि भेटिइन्छन् । विशेष गरी वासिङ्टन डिसीको एच स्ट्रिट क्षेत्रतिर यस्ता माग्नेहरू देखिन्छन् । यो क्षेत्र दुव्र्यसनीहरूको अखाडा मानिन्छ ।
यसरी यस पाताल नगरीमा यसप्रकारले माग्नेहरूलाई देख्दा एकातिर यस्तो धनाढ्य मुलुकमा पनि मानिसहरू माग्न बाध्य हुँदा रहेछन् भन्ने सोचेर उदेक लाग्ने अर्कोतिर आप्रवासीहरूसमेत मिहिनेत गरेर आफ्नो जीवन चलाउन सक्छन् भने यहीँकै बासिन्दा भएर उनीहरूले किन भिख माग्नुपर्ने भन्ने उदेक पनि नलाग्ने होइन । जे होस्, यस देशका मगन्तेहरू सभ्य छन् । पछिपछि लागेर दुःख दिँदैनन् । पैसा पाएपछि ‘थ्याङ्क यु, गड ब्लेस यु’ भन्छन् ।उनीहरूको यस्तो शिष्टता र मर्यादामा बस्ने स्वभावका कारण यहाँको कुनै माग्नेले माग्दा उसलाई थोरै भए पनि केही आर्थिक सहायता गर्न मन लाग्दोरहेछ ।
(मेरिल्यान्ड, अमेरिकानिवासी निरौला विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र्सस्थाहरूसँग आवद्ध छिन् । उनका विभिन्न विधामा तीनवटा कृति प्रकाशित छन् ।)