• २०८२ आश्विन २३, बिहीबार

शारदीय उत्सव

पवित्रा अधिकारी

पवित्रा अधिकारी

उत्सवहरूको पनि महाउत्सव हो दशैँ । त्यसको तयारी मानिसले मात्र होइन प्रकृतिले पनि गरिरहेको हुन्छ । शायद प्रकृति पनि चाहन्छ मानिसलाई खुसी राख्न । गृष्म ऋतुको तापलाई पन्छाएर वर्षात् ऋतुले धर्ती अनि आकाशलाई धोइपखाली गरेपछि आएको शरद ऋतुले दशैँको अनुभूति गराइदिन्छ । प्रकृतिले शारदीय उत्सव मनाउन सुरु गरेपछि हाम्रो घर आँगनमा दशैँले प्रवेश गर्छ । दशैँ उत्साह हो । दशैँ उर्जा हो । प्रकृतिले धर्तीलाई सफा र सुन्दर पारेजस्तै दशैँरुपी उत्साहले हामीले हामीलाई सफा पार्न थाल्दछौँ । हाम्रा सम्बन्धहरूलाई सुन्दर बनाउन थाल्छौँ ।
जीवन भोगका क्रममा टुटेका मनहरू, दुःखेको सम्बन्धहरूले पनि अपनत्व महसुस गर्ने गराउने उत्सव बनेर आएको हुन्छ दशैँ । उध्रिएका सम्बन्धहरूलाई मिलाएर त्यसमा उत्सवकै रङ्ग भर्ने समय पनि हो दशैँ । हुनत समय बदलिएको छ हामीले मनाउने चाडपर्वहरूले पनि कहीँ न कहीँ रङ्गहरू बदलेकै छन् । हाम्रा जीवनका धारहरूमा जे जे बदलिए पनि हरेक मानिसको अन्तर मनले सदैव चाहने प्रेम, करुणा, सम्मान, अपनत्वको भित्रि रङ्ग शायद कहिल्यै बदलिदैँन । यस्ता उत्सवरूपी उत्साहले मानिसको जीवनमा जीवन थपिरहन्छ । ऊर्जा थपिरहन्छ । जीवनप्रति आशामुखी हुनलाई प्राण थपिरहन्छ ।
मानिसले जति मानिसलाई बुझ्न सक्छ त्योभन्द बढी बुझ्ने प्रकृति हुन्छ । अनन्तकालदेखि प्रकृतिले यहाँको जीवनजगतलाई सुन्दर बनाउन, सिर्जनशील बनाउन समय अनुकूल कहिले प्रचण्ड ताप, कहिले वर्षात्, कहिले तुषारो बोकेर आउँछ । यतिबेला यी सबैलाई पन्छाएर शीतल शारदीय ऋतुले दशैँ उत्सव हाम्रा सामु लिएर आएको छ । शायद यसैले पनि होला हामीले मनाउने उत्सवमा मानव मन र प्रकृतिको खुब तालमेल देखिन्छ ।
समयको विकास सँगसँगै मान्छेको चिन्तन बदलिन्छ । चिन्तनको कारणले मान्छेको जीवनशैली बदलिन्छ । देशको राजनीति बदलिन्छ । बदलिने क्रममा चाडपर्वको रौनक पनि कहीँ न कहीँ बदलिरहेको हुन्छ । माटोले घर पोत्दा आउने मिठो बास्ना अब शहरले महसुस गर्दैन । बारीका कान्लाभरी फुल्ने फूलहरूको सुगन्ध गमलाका फूलले दिन सक्दैनन् । शहरबाट फराकिला चउरहरू लुप्त भएका छन् । गाउँघरमा जस्तो प्रशस्त लिङ्गे पिङहरू मच्चिदैनन् अब ।
पहिले जस्तो घरभरीका मान्छेहरूका नयाँ लुगा एउटै सन्दुकमा अट्दैनन् अहिले । दशैँमा मात्र नयाँ लुगा किन्ने चलन अब रहेन । पहिले जस्तो मिठो खान अहिले दशैँ कुर्नु पर्दैन तर पनि दशैँ भनेको दशैँ नै हो । दशैँ उत्सवको महत्वलाई हाम्रो आँतले, हाम्रो संस्कृतिले, एकअर्काप्रतिको अपनत्वले सधैँ स्विकारी रहने छ ।
…………………………………….

पवित्रा अधिकारी कवि तथा आख्यानकार हुनुहुन्छ ।  वहाको ’देह उत्सव’ कथासंग्रह प्रकाशित छ । आख्यानमै विध्यावारिधि गरिरहनु  भएकी पवित्रा लघुकथा, कथा, निबन्धमा सक्रिय हुनुहुन्छ ।