• २०८१ पौष २९ सोमबार

भाँचिएको स्टूल, सिंहासन र पत्निका बारेमा

ओबायद आकाश

ओबायद आकाश

यो पालीको इदमा त्यस्तो रमाइलो छैन
यसैकारणले मेरी श्रीमती
बंग्ला छोडेर चाइनिज
खाना पकाउँदैछिन्

एक्लै भान्सामा काम्दै बसेकी छिन् ।

अर्कोतिर ग्ंयास–चुल्होमा
कसौंडीमा पानी तात्दैछ
एक बटुका मह, कुच्याइएको अदुवा
अनि
कागतीको रस तयार छ
कुल्ला गर्नका लागि ल्वांग–पानि
उम्लिँदै–पानीको वाफ पनि तयार छ
यी सबै कुराहरू एकतरिकाले
धँुवाको सिंहासन बनेर फैलिएको छ
यि नै ति कुराहरू हुन्
जसले बिर्साइदिन्छ चाइनिज सामान ।

मलाई देख्नासाथ
मेरी उदास श्रीमतीले
भाँचिएको स्टूल देखाउँदै
तिक्ष्ण स्वरमा भनिन्
‘यो फालेर अर्को ल्याउन सक्दैनो ?
बस्दा नि हल्लिएर च्यारच्यार गर्छ
मेरो कुर्ता, मेरो सल च्यातिदिन्छ
त्यसमाथि सधैं लड्ने डर..’

श्रीमतीलाई शान्त पार्दै भन्छु–
‘ठिक छ बाबा,
कमसेकम आजको दिन त…’
मेरो मुखबाट कुरा खोस्दै
झन झर्किएर भन्न थालिन्–
‘तिमीलाई थाहै छ
यस्तो गजेडी गफ मलाई पटक्कै मन पर्दैन
म राम्ररी बुझ्छु
तिमीलाई त केवल आफ्नै मतलव छ
एकदिन तिमीले नै भनेको हैन–
एकजस्तै हुन्छन,
भाँचिएको स्टूल र सिंहासनको चरित्र
जतिबेला पनि लडिने हो कि
भन्ने डर भइरहन्छ ।’
बल्ल बुझें मैले तिम्रो कुरा
तिमी मलाई यो स्टूलकाट लडाउन चाहन्छौ
ताकी भाँचिउन् मेरा हात खुट्टा
तिमी चाहन्छौ कि म
सिंहासनबाट झरिएको राजाजस्तो होउँ
तिमी मलाई
यो दुनियाँमा, अभागी र एक्लो बनाउन चाहन्छौ ।
र मलाई थाहा छ
यो मौकामा तिमी
आफूलाई मन पर्ने रूखहरूमा
पोस्टर टाँस्न चाहन्छौ–
‘ऊफ ! कस्तो असंगती !’
‘अनि कस्तो एकाकीपन!’
‘हे कविता !’

अनुवाद: राजेन्द्र शलभ