• २०८१ फागुन ३ शनिवार

दुर्गाकिरण तिवारीका पाँच मुक्तक

लगाइदेऊ कपालमा शिरफूल, मायाको बनाऊ ताज,
रहन देऊ हामीबीचका कथाहरू यसै नखोल्नु राज,
भलै बिलाओस् इन्द्रेणी, रङ्गझैँ मस्तिष्कमा छाउँछन्
नखोलिदेऊ पर्दा सम्बन्धको, बरु ढाकिदिनू है लाज ।

भागिदिन्छ तीव्र गतिमा रोकेर रोक्न सकिँदैन
आदेश दिँदै आफैँले दिशाहरू तोक्न सकिँदैन
भैदिन्छ चञ्चल बदमास भगिदिन्छ परपरसम्म
नबन्न ! प्रेमिल भन्दै मनमा लगाम ठोक्न सकिँदैन ।

स्वागत छ, आऊ ! बर्सात गरिदेऊ खडेरी छ हृदयमा
हमेसा रिक्त पन मायाले भरिदेऊ खडेरी छ हृदयमा
हजुर साथै मिली सजाऊँला सुन्दर प्रेमको घर–संसार
सौम्य खुसीका वीजहरू छरिदेऊ खडेरी छ हृदयमा ।

सक्छौ भने सम्झनाको मानापाथी भरे हुन्छ
पैँचो तिर्न पर्दैन भो चलनचल्ती गरे हुन्छ
विश्वास र समर्पणमा एकअर्कामा हराउँदै
फुलाउन फूल हृदयमा मायाको वीज छरे हुन्छ ।।

आजकल खै किन हो ? जो हेरे पनि उस्तैउस्तै लाग्छ
फरकफरक तबरले श्वास फेरे पनि उस्तैउस्तै लाग्छ
सबैको मनमा मेरो मनमा झैँ निर्मल गङ्गा हुन्छ ठान्थेँ
फरक मनका फरक नक्सा केरे पनि उस्तैउस्तै लाग्छ ।


दुर्गाकिरण तिवारी