कविता

काठमाडौं ।
चर्चित लघुकथाकार सुमन सौरभको नवोदित लघुकथाकृति ‘रे ‘को मंगलबार लोकार्पण गरिएको छ । ठमेलमा एक कार्यक्रम विच ‘रे’ को प्रा.डा.लक्ष्मणप्रसाद गौतम,वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,स्रष्टा सुमन सौरभ,कवि नरेन्द्रकुमार नगरकोटी,तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन् ।
पृथक धारमा लघुकथा सृजना गर्ने सुमनको यो छैठौं लघुकथा कृति हो । प्रा.डा.गौतमले बौद्धिक लघुकथाकारको रुपमा सुमनको लघुकथाकारिताको चर्चा गरे । उनले लघुकथा लेखनीमा बौद्धिकता चूनौतिपूर्ण हुने भन्दै उनले लघुकथाको भीडमा टाढैबाट चिनिने नामको रुपमा सुमन सौरभ भएको बताए ।
अर्का वक्ता रोदनले जे लेखेपनि हुने भ्रमबाट मुक्त भएर पहिलेदेखि लघुकथामा हस्तक्षेपपूर्ण उपस्थिति गर्ने व्यक्तिको रुपमा सुमनलाई पाएको बताए । उनले ‘रे’ले लघुकथामा जवरजस्ती हस्तक्षेप गर्नसक्ने बताए । कलम प्रकाशनका नगरकोटीले शक्तिशाली लेखकको रुपमा सुमनलाई आफुले पाएको बताए । साथै ‘रे’ नेपाली लघुकथाको निम्ति महत्वपूर्ण कृति भएको बताउँदै कृति प्रकाशनका विभिन्न पक्षहरु बारे जानकारी दिए ।
‘रे’ का स्रष्टा सुमनले आत्मसन्तुष्टीको लागि लेख्ने गरेको बताउँदै सङ्ग्रहको रचना गर्भ बारे बोले । लघुकथा समाज,नेपालको आयोजनामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा छविरमण सिलवालको सञ्चालन र सुषमा चित्रकारले स्वागत मन्तव्य राखेका थिए । यो कृतिलाई कलम प्रकाशनले वजारमा ल्याएको हो ।