कविता

दोहा ।
गत महिना काठमाडौंमा विमोचन भएको डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ कतारमा पनि विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको ११औँ अधिवेशनको अवसर पारेर दोहामा यो कृति विमोचन गरिएको हो ।
महाकाव्य ‘कल्प’को विमोचन डा. लम्सालभन्दा कम उमेरका युवाहरूले गरेका हुन्। आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालले यो विमोचनका साक्षी बनेर पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्ने बताए ।
नेपाली महाकाव्य लेखनमा आफ्नो विशेष पहिचान बनाएका डा. लम्साल ‘अग्नि’ महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् । रेडियो नेपालको जागिर छोडेर लेखनमा सक्रिय लम्सालले ‘कल्प’लाई आफ्नो मस्तिष्क निचोरिएको कृति भनेका छन् । यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको एक उच्चस्तरको कृति मानिएको छ शिखा बुक्सले प्रकाशन गरेको यस महाकाव्यसहित डा. लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ पुस्तक प्रकाशित छन् ।