• २०८२ आश्विन ७, मंगलवार

अधिकारीको कवितासङ्ग्रह ‘झङ्कार’ लोकार्पण तथा परिचर्चा

पोखरा ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले असोज महिनाको आफ्नो नियमित मासिक कार्यक्रम अन्तर्गत शनिबार कवि झलक अधिकारीद्वारा रचित कवितासङ्ग्रह ‘झङ्कार’ को लोकार्पण तथा परिचर्चा सम्पन्न गरेको छ। कन्या क्याम्पस, नदीपुरमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार सरुभक्त प्रमुख अतिथि तथा प्रा. डा. जगन्नाथ रेग्मी परिचर्चाकारका रूपमा सहभागी हुनुभएको थियो ।

कृतिको लोकार्पण गर्दै सरुभक्तले भन्नुभयो, “हामी जन्मोत्सव मनाइरहेका छौँ। भ्रमकै बिचमा छन्दमय फूलको बगैँचामा कवि झलक सुन्दर फूल बनेर प्रकट भएका छन्।” उनले गद्य कविले कहिल्यै छन्द कविको निन्दा नगरेको उल्लेख गर्दै मजाकीय शैलीमा “म कतै गद्यमय काँडा भएर आएका त होइन?” भन्ने प्रश्नसमेत उपस्थितहरूलाई दिनुभएको थियो ।

परिचर्चाकार प्रा. डा. रेग्मीले कवितासङ्ग्रहको विश्लेषण गर्दै झलक अधिकारीका कविताले सहृदयीहरूको हृदयमा वास्तविक झङ्कार प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार सङ्ग्रहमा दुई दर्जनभन्दा बढी शास्त्रीय छन्द र मौलिक लोकछन्द झ्याउरेको प्रयोग भएको छ । प्रेमप्रणय, राष्ट्रभक्ति, जन्मभूमिप्रतिको आस्था, पूर्वजको गौरव, मानवता र चेतनाको सन्देश यस कृतिको मूल स्वर रहेको उहाँले उल्लेख गर्नुभयो। सरल सम्प्रेषण शैली र परिष्कृत छन्द प्रयोगका कारण ‘झङ्कार’ उत्कृष्ट नमुना बनेको उहाँको निष्कर्ष थियो ।

विशेष अतिथि एकेएन् गोगनेले पोखरालाई एसियाकै सुन्दर नगरीका रूपमा स्मरण गर्दै त्यही सहरमा बसेर कवितासाधना गरिरहेका कवि झलकलाई बधाई तथा शुभकामना दिनुभयो । कवि डा. ईश्वरमणि अधिकारीले झलकको व्यक्तिगत जीवनशैली परिचय गराउँदै “पानीसमेत पखालेर मात्रै पिउने कवि” भनेर प्रस्तुत गर्दा दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो ।

मन्तव्य राख्दै कवि झलकले आफू प्रायः सरुभक्तको नजिकै बस्ने बानी भएको र यसैले कतिपयले जिस्क्याउने गरेको प्रसंग उल्लेख गर्दै आज सरुभक्तकै आडमा बसेर कृति लोकार्पण गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले उपस्थित सबैप्रति आभार प्रकट गर्दै कार्यक्रमको सम्पूर्ण खर्च व्यवस्थापन पनि आफूले गरेको जानकारी दिनुभयो। कार्यक्रममा शिव त्रिपाठी, वसन्त चालिसे र मैन शिखाले ‘झङ्कार’ बाट मनपरेका कविताहरू सुमधुर स्वरमा वाचन गर्नुभएको थियो। साथै, गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तित्वहरूको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव डा. पिताम्बर पौडेलले सञ्चालन गर्नुभएको थियो । संस्थाका सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम कवितामय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।