समाचार

उसको सडक संगको साइनो
नयाँ होइन
सडक संगै थियो र छ
केही चमत्कारै भयो भने मात्र
नत्र भने सडकमै हुनेछ
अभावका विषयमा केही बुझ्नु छ भने
तिनै सडक मानिसलाई सोद्धा हुन्छ
जिउनुको मज्जा अभावमा हुन्छ
जिउनुको मज्जा सडकमा हुन्छ ।
सडक उन्नतिको प्रतीक हो वा अभाव
अभावले नया संभावना पहिल्याउँछ
चुनौतीसंग जुझ्न मात्र होइन
उन्नतिको पाठ पनि सिकाउँछ
अभावको कथा अजीवको छ
आफन्त पनि हेयको दृष्टिले हेर्छन्
बोल्न ब्यवहार गर्न गाह्रो मान्छन्
अभावको व्यथा सुदमाजीलाई थाहा होला
सद्यहातमा भिख पनि मिल्दैन
थाप्ने हात काटिए पछि मात्र
भिख पाइन्छ ।
सडक संगको नाता गहिरो हुन्छ
सडकमा बस्छन् र भीख माग्न सक्छन्
मलामी हिडुन वा जन्ती
सिन्दुरे जात्रा होस् वा जिन्दावाद ! मुर्दावाद !
हजारौं हजारको भिड होस् वा सुनसान
एक्लो सडक सधैँ एक्लो हुन्छ ।
सडक मानिसका लागि
सडक नै सबैथोक हो
घर हो, संसार हो
सडक साथी हो, दाजुभाइ हो
पहिचानै नभएकाहरुको
बुवाआमा पनि हो
सडक स्वयं आफैँ हो
सडक जस्तै निर्मम प्रताडित छ
सडक सिमा रेखा हो
भिन्नता छुट्याइएको हुन्छ
सडक सम्बन्ध हो
भिन्नभिन्न जोडेको हुन्छ
अलपत्र छ, लम्पसार छ
नाङ्गो, कुरुप सडक पनि
प्यारो र आफ्नो लाग्छ
उसको सडकसंगको साइनो
जन्मदेखि हो निरन्तर छ
सडक उसको हो
उसका लागि
जीवन भन्नुनै आस्थाको नाम हो
सडकसंग जति आस्था छ
विश्वास र भरोसा छ, अरुसंग छैन
जीवनका तीन अवस्था
स्वप्न, जाग्रत, सुषुप्ति
जीवनका सबै अवस्था सडकमै पाएको छ
उसका लागि सडक भन्नु जीवन हो
उसको र सडकको नाता गहिरो छ
सडकसंग शुद्ध स्वाभिमान छ ।
कैलासकुमार पाण्डेय परशुराम १२, डडेल्धुरा