तिमीलाई हेरेँ
सूर्यलाई हेरेँ
नक्षत्रहरू नि हेरेँ
उज्यालो हेरेँ
चन्द्रमा हेरेँ
ब्रह्माण्ड नि हेरेँ
कोलाहलले पिरल्यो
अँध्यारोले ढाक्यो
चकमन्नताले घेर्यो
बबण्डर आँधीबेरी तिमी
अक्कासिएको चङ्गाको डोरी तिमी
सागरमा तैरिरहेको त्यान्दा तिमी
आकाशभन्दा अग्लो छत के होला र ?
भीरभन्दा गहिरो खाडल के होला र ?
रिक्तताभन्दा शुन्य के होला र ?
सुर्केनी भन्दा ठूलो गाँठो के होला र ?
पासोभन्दा ठूलो चक्रेटो के होला र ?
आत्मदाहभन्दा ठूलो मृत्यु के होला र र ?
एउटा पत्थर फालेँ
तरङ्ग हेरेँ
छालहरू नि नियालेँ
ज्वारभाटा आउनु अगाडि
तलाउ शान्त थियो
फेरि शान्त नै भयो
तलाउको कन्चन पानी
छर्केँ सर्वाङ्ग
सुक्दै गयो तरलता
मन रुझेन
मन भिजेन
मन बुझेन
क्षितिजको सामु उभिएँ
रङ्गहरू फालेँ
रङ्गहिन भयो इन्द्रेणी
फूलको सामु खडा भएँ
अत्तर छर्किएँ
हम्किएँ पनि
नाक चिमोटेँ
लामो श्वास लिएँ
हावाहरूमा गन्ध थिएन
ए चरी !
आऊ त एकैपल चिरबिराऊ !
स्वर मचाऊ !
त्यो हराउँदै गएको रङ्गहरू नाच्छन् कि ?
निश्तव्ध रातहरू गाउँछन् कि ??
पर पुगेर नि तिमी फर्की हेर्छौ कि ???
कात्यायन
चाबहिल – ७, काठमाडौँ ।