• २०८२ आश्विन २९, बुधबार

‘क्याफेमा कविता’को छैटौँ शृङ्खला सम्पन्न

इटहरी ।

नेपालबिटको नियमित आयोजना ‘क्याफेमा कविता’को छैटौँ शृङ्खला शनिबार इटहरीस्थित माइतीघर क्याफेमा सम्पन्न भएको छ। शैक्षिक व्यक्तित्व कमलेश पौडेलको अध्यक्षतामा सम्पन्न साहित्य, कला र संगीतसँगै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस शृङ्खलामा बेलबारीका सङ्गीतकर्मी एवम् गजलकार जे.बी. थुलुङ र दमकका मुन्धुम कवि साङ्सेन पन्धाक विशेष प्रस्तुतिका रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा साङ्सेन पन्धाकले दुई गजलसहित ‘मेरो अक्षरहरू र झुपडीको चेतना’, ‘पालामको चुम्बन’, ‘आदम अस्त्रहरूको जवाफ’ र ‘एउटा असल प्रेमीको असफल यात्रा’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । उता, थुलुङले एउटा गीत र एउटा गजलसँगै ‘दसैँ आयो’ र ‘बा मैले सिंहदरबार जलाएर आएँ’ शीर्षकका कवितामार्फत् श्रोतालाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।

शृङ्खलाको प्रमुख अतिथि महेन्द्र संस्कृति विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा रहनुभएको थियो । कार्यक्रममा इरान राई, केशु विरही, राजु केसी, परिक्रमा श्रेष्ठ, किरण टी लिम्बू, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, शकुन्तला मञ्जरी, गङ्गा गौतम, विमला पोखरेल, मिश्रा गुरुङ, जिबी गजल, केशव रिमाल, अभिमन्यु अभिजित, विवश विवश घिमिरे, पुष्पा बोगटी, वर्षा भण्डारी, दीपक कार्की लगायतका स्रष्टा र कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालबिटले यसअघि पहिलो शृङ्खलामा मीना श्रेष्ठ, दोस्रोमा दीपा दीपहरि र केशव रिमाल, तेस्रोमा हिमालय पौडेल, चौथोमा तिला लेकाली, आलोक खनाल र इन्दु नेपाल योञ्जन तथा पाँचौँमा टीका आत्रेयलाई प्रस्तुत गरिसकेको छ। संस्थाले नवौँ शृङ्खलालाई ‘छन्द विशेष’का रूपमा आयोजना गर्ने र दशौँ शृङ्खला सम्पन्न भएपछि एउटा बृहत् शृङ्खला आयोजना गर्ने तयारी गरेको अध्यक्ष एवम् कार्यक्रम सञ्चालक रामप्रसाद खरेलले जानकारी दिनुभयो ।