• २०८२ आश्विन ५, आईतवार

प्रेमराज अधिकारीको ‘अन्तिम प्रयास’ पुस्तक सार्वजनिक

पोखरा रत्नचोकस्थित पूर्व कर्मचारी सेवा परिषद नेपाल, कास्की शाखाको सभाहलमा आध्यात्मिक चिन्तक एवं साहित्यकार प्रेमराज अधिकारीको नयाँ कृति ‘अन्तिम प्रयास’ पुस्तक सार्वजनिक गरिएको छ । परिषद नेपाल, कास्की शाखाको आयोजनामा सम्पन्न विमोचन समारोहको अध्यक्षता परिषदका अध्यक्ष गिरीधारी सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा लेखकको साहित्यिक योगदान र पुस्तकको विषयवस्तुलाई विभिन्न विद्वानहरूले मूल्यांकन गर्दै समाजलाई नैतिक, आध्यात्मिक र सामाजिक दृष्टिकोणले अघि बढाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
विन्ध्यवासिनी संस्कृत पाठशालाका निवर्तमान प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले लेखकको पहिलो कृति ‘आत्मानुसंधान’ पढ्दा आफू अत्यन्त भावविह्वल भएको स्मरण गर्दै, ‘अन्तिम प्रयास’ले पनि समाजलाई सकारात्मक दिशामा डोर्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी कृति समीक्षक प्रा.डा. यामबहादुर क्षत्रीले पुस्तकमा अध्यात्म, समाज र जीवनका महत्वपूर्ण विषयहरूलाई सशक्त ढंगले प्रस्तुत गरिएको प्रष्ट पार्नुभयो । सिद्धि सेतुली प्रतिष्ठानका संस्थापक एवं सुप्रसिद्ध हास्यव्यंगकार विश्व शाक्यले पुस्तकको शीर्षक नै मानिसलाई प्रत्येक दिनलाई अन्तिम दिन सम्झेर अरूसँग व्यवहार गर्नुपर्ने जीवनबोध गराउने खालको रहेको बताउनुभयो ।

नेपाल सरकारका सहसचिव विनोद कुँवरले लेखकसँगको व्यक्तिगत तथा भावनात्मक सम्बन्धको प्रसंग उठाउँदै उहाँलाई प्रेरणाको श्रोतका रूपमा उल्लेख गर्नुभयो । लेखकको तर्फबाट ज्येष्ठ सुपुत्र ओमकार अधिकारीले पुस्तक तयार हुनुको पृष्ठभूमि र त्यसका लागि गरिएका विभिन्न प्रयासहरूबारे जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले पुस्तक लेखकका जीवनअनुभव र ज्ञानको संगालो भएकाले पाठकका लागि उपयोगी र मार्गदर्शक हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा परिषदका उपाध्यक्ष सूर्य बरालले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने चर्चित लघुकथाकार एवं सहप्राध्यापक कल्याण पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नेपाल सरकारबाट सेवानिवृत्त ८६ वर्षीय अधिकारीको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘आत्मानुसंधान’ नामक आध्यात्मिक तथा सामाजिक निबन्धसंग्रह प्रकाशित भइसकेको छ ।