• २०८१ फागुन ६ मङ्गलबार

बाटो मलाई जहाँ भएपनि पुर्याइदेउ

मौन आवाज

मौन आवाज

बाहिर अन्धकार व्याप्त छ
मेरो आँखा अन्धो छ
म सँग ठोक्किने प्रत्येक वस्तु चेतनाहिन छ
बाहिर शून्यता छ
म बहिरो छु
म सँग ठोक्किने प्रत्येक आवाज मृत छ ।

मेरो खुट्टा मेरो यात्रामा सहभागी छैन
मेरो सट्टामा अरू नै कोही हिँडिरहेछ
सोच्ने मस्तिष्क छैन
धड्कन हृदय छैन ।
हिउँ छुन औंलाहरू छैनन्
धर्ती टेक्न पाइतालाहरू छैनन्
पुग्नुपर्ने गन्तव्य
र र फर्कनुपर्ने ठेगाना छैन ।

सिरेटो माथि घोप्टिएर रून
आँसु छैन
तुषारोमा घिस्रीन
शरीर छैन
तुवाँलो भरी छरिएर फैलन
पखेटा छैन
आकाश छ टाढा, टाढा, टाढा
नजिक हावाको चाप छ
वरपर गहिरो धाप छ
खस्छु
पोखिन्छु
रित्तिन्छु, सिद्धिन्छु, भन्छु
तर
न तरल छु
न ठोस
न तल छु
न माथि
न त्यता छु
न यता छु ।

बेपत्ता छु
पहाडको ढुङ्गालाई पहिरोले गुल्ट्याएर
कतै पुर्याए जस्तै
ए बाटो ! मलाई जहाँ भएपनि पुर्याईदेऊ ।


मौन आवाज
shyambalami [email protected]