कथा

माउसुलीलाई लाग्छ
भित्ता मैले रोकेको छु
मैले नथेगेको भए जति बेला पनि
भत्किसकेको हुन्थ्यो
भित्ता माउसुलीको घर हो भन्दा हुन्छ
माउसुलीको घर हो कि
घरको भित्ता हो ?
लहरै टागिएका तस्बिरहरू
भित्तालाई आफ्नै मान्छन्
त्यति मात्र होइन
आफै भित्ता हु ठान्छन्
आफू नभए
भित्ता नै हुन्थेन भन्छन् ।
भित्ताको रंग, सजावट
भित्तालाई जिस्काइरहेको हुन्छ
हामी बिना
भित्ताको अस्तित्व नै छैन ।
भित्ताको कान हुन्छ भन्छन्
साच्चिकै हुने भए
गुह्य केहि बाकी रहन्थेन
कान मात्र होइन
आखाँ पनि हुदो रहेछ
आजकाल देख्न थालेको छ ।
ठेल्दै ठेल्दै
भित्तामा पुर्यायो भन्छन्
कति अडकिएका छन्
भित्तामा ?
भित्ता अन्ततः भित्ता हो
भित्र लुकेकाहरूको छुट्टै संसार छ
ओछीमा बसेका माहुरी
दालानमा बस्ने गौंथली
ओत लाग्ने सुरक्षित जस्तो लाग्ने ठाउँमा
बस्ने परेवा सबै
आफ्नै घर मान्दछन् ।
आकार,प्रकार,रंगरोगन
खुइलिइ चिन्ता पर्छ
गला चाउरिए केहि छैन वरु
ऋण काडेर, बन्धक बसेर पनि
भित्ता बचाउनु छ ।
भित्ता एक्लो सम्झिन्छ
चार दिवाल, चार किल्ला बिर्सिन्छ
भुइँ, छानो, झ्याल, ढोकाको
अस्तित्व मान्दैन भित्ता ।
ठेल्दा ठेल्दा
भित्तामा पुर्याइन्छ ।
भित्ता लेखनका नारा हेर्दा
आमूल परिवर्तन हुने देखिन्छ
लेख्ने होड चल्छ ।
साङ्ला, उडुसको घर रहेछ
कमिला संग मिलेर
क्रान्ति गरेका हुन्छन ।
असिना पानीले निथ्रुक भिजेको भित्ता
खुइलिएको हुन्छ
पखालिएको भित्ता झन टाटेपाटे
कुरुप देखिन्छ ।
हुन त भित्ता फुटाएर
देवता प्रकट हुन्छन रे
पुजनीय छ भित्ता ।
एकादेशको एउटा भित्ता
इतिहास बन्छ
त्यो समयको शिलालेख छ
भित्तामा ।
भित्ता
दनदनी आगोमा छ ।
कैलासकुमार पाण्डेय
परशुराम ३, डडेल्धुरा