• २०८१ बैशाख ८ शनिवार

नयाँ वर्ष

रस्मिला कवाङ “रश्मि”

रस्मिला कवाङ “रश्मि”

लाग्थ्यो !
तिमी फगत बहाना बनेर आउँछौ
क्यालेन्डरमा फेरिने अंकहरू मात्र
म त उस्तै नै रही आएकी छु
सधैं अनि अहिलेसम्म
तर,
यो वर्ष फरक बनेर आउँदैछौ
फरक सायद तिमी होइनौ
परिवर्तन त ममा छ
अहम् र स्वार्थलाई सिध्याउँदै
अनि
सहयोग र सद्भावको लाली बन्दै
यस्तै उत्साहको सुरूवात
र त नयाँ लाग्दैछ
हो,
नयाँ वर्ष यतिबेला महसुस गर्दैछु
सधैंझै बिल्कुल छैन यो वर्ष
यो चोटि नयाँ टुस्साउँदै छ
साँची,
नयाँ अनुभूति
उत्साह र उमङ
खै, के के पो बोकेर ल्यायौ
तिम्रो आगमनपछि
मात्र नयाँ नै नयाँ
परिदृश्य कोर्दै छु ।

बिम्ब प्रतिबिम्बमा
द्रुतगतिमा बढिरहेका
पाइलाहरूको पदचाप
अनि
यो समयको अस्तित्व
सबै नयाँ छन्
हरेक दिन नयाँ हुँदै गर्दा
चैतको सुख्खा खडेरी
पातहरू बिनाका रूखहरू
सुर्य बिनाका बिहानीहरू
रङ खुइलिएका संघर्षहरू
सब नयाँ छन् ।

जीवनको सन्दर्भ
फरक ढङ्गले प्रस्तुत हुँदा
ढकमक्क फूलहरू
बासन्ती मादकता
चुलिँदै गर्दा
सुदुर क्षितिजमा
रहरहरू, सपनाहरू
विचरण गर्नेछन्
उही बाटोमा
गन्तव्य उही
फरक त मात्र समय छ
अनगिन्ती दिनहरू
निमेषभरमै ओझेल पर्दा
लाग्छ
हरेक पल नयाँ
उदाउने बिहानी नयाँ
अस्ताउने सन्ध्या नी नयाँ
आखिर
जिन्दगीमा सधैं नयाँ बर्ष
उजेलीसंगै बिउँझिने
संकल्प र आशाहरू
जबसम्म जीवन्त रही रहन्छन् ।।।।


रस्मिला कवाङ “रश्मि”
[email protected]