• २०८२ आश्विन २३, बिहीबार

आचार्यको कवितासङ्ग्रह ‘व्यापार पृथ्वीको’ सार्वजनिक

इलाम ।

इलामका कवि दिपेन्द्र आचार्यको नवीनतम कविता सङ्ग्रह व्यापार पृथ्वीको शनिबार सूर्योदय नगरपालिकामा विधिवत रूपमा लोकार्पण गरिएको छ। इन्डिगो इन्काबाट प्रकाशित सो कविता सङ्ग्रहमा ६५ वटा कविता समावेश छन्। सूर्योदय गजल मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण बराल, साहित्यकार प्रकाश थाम्सुहाङ, साहित्यकार चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनीधि भट्टराई तथा सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जनलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो ।

प्रमुख अतिथि बरालले लेखकले सिर्जना गर्ने हरेक कृतिमा स्थानीयता झल्किनुपर्ने उल्लेख गर्दै, “यहाँको माटो, हावापानी र समाजलाई समेटेर लेखिएका कृतिहरू दीर्घकालीन रूपमा टिक्छन्,” भन्ने धारणा राख्नुभयो । साहित्यकार प्रकाश थाम्सुहाङले कविता ईश्वरको बोली भएको भन्दै, “कविता लेख्न ईश्वरले साथ दिनुपर्छ, मुन्दुमी भाषामा भनौं भने माङ चढ्नुपर्छ,” भन्नुभयो । उहाँले भानुभक्त आचार्यपछि आचार्य परिवारबाट दिपेन्द्र आचार्यले साहित्यिक परम्परामा महत्त्वपूर्ण योगदान दिइरहेको पनि बताउनुभयो । साहित्यकार चन्द्र गुरुङले सङ्ग्रहमा देश, प्रकृति र समाजको स्वर गुञ्जिएको बताउँदै, “कवितामा कवि सचेत नागरिकका रूपमा देखिएको बताउनुभयो ।