• २०८१ फागुन ६ मङ्गलबार

‘वर्गपक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचार गोष्ठी सम्पन्न

पारिजात स्मृति केन्द्र (काठमाडौं) र नेपालवाङ्मय परिषद्ले धनगढी (कैलाली) को कैलाली जनपुस्तकालयमो “वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुखअतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्यो । समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । सो विचारपत्र माथि समालोचक डा. इन्द्रबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । विचारपत्र प्रस्तुतगर्ने क्रममा समालोचक अधिकारीले पारिजातको कविता लेखनका विविध आयामको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पारिजातका पछिल्ला कवितामावर्ग पक्षधरता सघन रुपमा पाइने विचार व्यक्त गर्नुुभएको थियो । विचारपत्रमाथि टिप्पणी गर्ने क्रममा समालोचक डा. इन्द्रबहादुर भण्डारीले यस विचारपत्रका उपलब्धि एवम् सीमाका विषयमा चर्चा गर्नुभएको थियो ।

समारोहमा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, प्रसिद्ध लेखक एवम् परिषदका सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रसिद्ध कलाकार राजकुमार जोशी, संस्कृतिकर्मी धर्मराज जोशी, जयदेव जोशी दार्चुले, कैलाली जनपुस्तकालयका कोषाध्यक्ष शेरसिंह खडका, कैलाली जनपुस्तकालयका ग्रन्थपाल रघुनाथ जोशीलगायतका ५०-६० जना जति महानुभावको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले पारिजातले नेपाली साहित्यमा दिएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।