समाचार

काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको प्रवद्र्धन गर्ने उद्देश्यले तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’ पहिलोपटक प्रकाशन गरेको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले २०८२ साल भदौ १५ गते आइतवार उक्त पत्रिकाको लोकार्पण गर्नुभएको थियो।उहाँले’ नेपालका सबै भाषा नेपाली भाषा हुन्, उपत्यका वरिपरि बसोबास गर्ने तामाङ भाषाको प्रवर्धनका लागि लेख्य परम्परा कायम होस् भन्ने लक्ष्यले याम्बुलिङ प्रकाशन’गरिएको बताउनुभएको थियोे । उहाँले ’भाषा जोगाउन प्रतिष्ठानले गरेको यस्तो प्रयासले मात्रै काम गर्छ तर समुदायले पनि भाषा जोगाउने अभ्यासका लागि काम निरन्तर गर्नुपर्ने’मा जोड दिनुभएको थियो।
नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य, मातृभाषा विभाग प्रमुख राजन मुकारुङले ’याम्बुलिङ’गरी प्रतिष्ठानले आठवटा मातृभाषामा पत्रिका प्रकाशित गरेको बताउनुभएको थियोे । उहाँले ’मोरङ, झापा लगायतका क्षेत्रमा बोलिने तर लोपोन्मुख अवस्थामा रहेका १० वटा मातृभाषालाई समेटेर एकवटा साझा पत्रिका यथाशीघ्र प्रकाशित हुँदै छ भन्ने जानकारी दिनुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानमा बजेट न्युन भएपनि मातृभाषा संरक्षणका लागि हौसला दिन मातृभाषामा पत्रिका प्रकाशन भइरहेको बताउनुभएको थियो ।याम्बुलिङका कार्यकारी सम्पादक इन्द्र तामाङ र सम्पादक मण्डलका सम्पादक सदस्य रचना मोक्तानले आआफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो ।