• २०८२ भाद्र २७, शुक्रबार

ऐतिहासिक पात्रहरूको संगालो ’पश्चिम किल्ला: चम्बा पो’ सार्वजनिक

काठमाडौं ।

प्राध्यापक डाक्टर सुमन ढकालद्वारा सम्पादित पुस्तक ’पश्चिम किल्लाः चम्बा पो’ एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेललगायतले उक्त कृति लोकार्पण गरे । कृतिभित्र राहुल साङ्कृत्यायनले जनकलाल शर्मालाई लेखेका पत्रहरू समावेश छन् ।

कृतिमाथि चर्चा गर्दै प्रमुख वक्ता प्रा.डा. गोविन्दराज भट्टराईले अमर स्रष्टा राहुल साङ्कृत्यायनले साहित्यकार जनकलाल शर्मालाई लेखेका पत्रहरू आफैँमा ऐतिहासिक भएको उल्लेख गर्दै साङ्कृत्यायन नेपालप्रति समर्पित गम्भीर अध्येता भएको बताए । ती पत्रहरू सँगालेर पुस्तकाकारका रूपमा ल्याउने प्रा.डा. ढकालको प्रशंसा गर्दै भट्टराईले राहुल आफैँमा सिंगो विश्वविद्यालय भएको बताए ।

प्रा.डा. भट्टराईले डा. कमला साङ्कृत्यायनसँगको भेटको प्रसङ्ग उठाउँदै सार्वजनिक पुस्तकमा केही ऐतिहासिक तथ्य सार्वजनिक भएकोले यो सबैले पढ्नु पर्नेमा जोड दिए । अर्की वक्ता प्रा.डा. वीणा पौड्यालले सार्वजनिक पुस्तकले केही सन्देश अभिव्यक्त गरेको उल्लेख गर्दै नेपाली इतिहासमा यो महत्त्वपूर्ण कृति भएको बताइन् । राहुल साङ्कृत्यायनले जनकलाल शर्मालाई लेखेको १०५ वटा पत्रहरू समावेश भएको पुस्तक रोचक भएको उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले नेपालको पश्चिमी सिमाना चम्बा पो रहेको यस कृतिले बताउने भन्दै जनकलाल शर्मासँग भएका आफ्ना स्मृतिहरू साझा गरे । उनले शर्मा जहिल्यै बौद्धिक विमर्शमा लाग्ने बताउँदै यो कृति सार्वजनिक हुनु आफैँमा उपलब्धिमूलक काम भएको बताए । साहित्यकार जनकलाल शर्माका सुपुत्र प्रा.डा. ढकालले साङ्कृत्यायनले शर्मालाई लेखेका पत्रहरू कसरी फेला प¥यो र कसरी किताबको रूपमा आयो भन्नेबारे उल्लेख गरे ।

कार्यक्रममा डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, लक्ष्मण गाम्नागे लगायतले कृतिको महत्त्वबारे चर्चा गरे । सार्वजनिक पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो ।