लगभग साढे दुई दशकदेखि जापानमा बस्दै आएका दीपेन्द्र अधिकारी प्रारम्भिक दिनहरुमा विभिन्न लेख रचनाहरु लेख्दै आएको भएता पनि पछिल्ला दिनहरुमा निकै उत्साहजनक तरिकाले गीतिविधामा कलम चलाईरहेका छन् । केही समय अगाडि समग्र पोखराको वर्णन गर्दै ‘मनमोहक पोखरा’ बोलको गीति भिडियो सार्वजनिक गरेका दीपेन्द्रेले अहिले मामा भाञ्जीको आत्मियताको विषयमा लेखेको ‘चुलबुलचुलबुल मेरी भाञ्जी’ बोलको गीति भिडियो सार्वजनिक गरेका छन् । गीतकार दीपेन्द्र अधिकारीको शब्द सृजना रहेको गीतमा चर्चित सङ्गीतकार बसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र भ्वाइस अफ नेपालबाट चर्चामा आएका बलबहादुर राजबंशी र भ्वाइस अफ किड्सबाट चर्चामा आएकी बालगायिका तेरेशा बिश्वकर्माको स्वर रहेको छ ।
यो संभवत मामा भाञ्जीको विषयमा लेखेर युगल रूपमा गाइएको पहिलो गीत हो । सर्जकका अनुसार यो गीत दीपेन्द्रले आफ्नै भाञ्जीको नृत्य र अभिनय मोहलाई देखेर उनकै लागि लेखेका हुन् । हाम्रो नेपाली समाजमा मामा भाञ्जीको सम्बन्ध अत्यन्तै निकट छ । आमा कि मामा भन्ने त चलन नै छ । गीतकार दीपेन्द्रले आफ्नी भाञ्जीलाई प्रतिनीधिमूलक पात्र बनाएर मामा भाञ्जीको आत्मियतालाई गीत मार्फत दर्शाएका छन् । स्कुल छुट्टी होस् अथवा चाडपर्व आओस् बच्चाहरु सबैभन्दा पहिला जान खोज्ने भनेकै मामाघर हो । यो परिपाटी शहरमा भन्दा गाउँमा अलि बढि छ । भाञ्जा भाञ्जीहरु आमा र बुबालाई राख्न नसकेका मागहरु मामासँग सजिलै राख्न सक्छन् । भिडियोमा शहरमा भाञ्जीको र शहरको नजिकैको काँठ गाउँमा मामाको घर देखाईएको छ । शहर र गाउँको मिश्रित दृष्य र चालचलन देखाईएको भिडियो हेर्दा कथानक चलचित्र हेरे जस्तो आभास हुन्छ । गाउँको चौतारो देखि शहरको बालउद्यान र अत्याधुनिक विधालयसम्म देखाईएको भिडियो आफैंमा मसालेदार छ ।
उत्तम हुमागाईँको छायाङ्कन, निशान घिमिरेको सम्पादन र रोहन नेपालीको निर्देशन रहेको भिडियोमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, स्वराज अधिकारी, घनश्याम जोशी, विमला अधिकारी देबकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
‘चुलबुलचुलबुल मेरी भाञ्जी’
प्रकाश सुवेदी
https://youtu.be/kQAxubaaAtU