• २०८२ आश्विन ७, मंगलवार

इन्दिरा चापागाईको ’दृष्टिगोचर’ लघुकथासंग्रहको परिचर्चा

काठमाडौँ ।

साँझ स्रष्टा साँझ अमेरिकाले जुम प्रविधि मार्फत लघुकथाकार इन्दिरा चापागाईको ’दृष्टिगोचर’ लघुकथासङ्ग्रहको परिचर्चा गरेको छ । निर्मला बरालको सभाध्यक्ष र विश्वराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा लघुकथा समाज नेपालका पूर्व अध्यक्ष गोपाल अश्क र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले लघुकथाकारलाई शुभकामना प्रस्तुत गरेका थिए ।

लघुकथा गान बजाएर शुरू गरिएको कार्यक्रममा साहित्यकार रञ्जु खनालले कृतिको परिचर्चा गर्दै सबै उमेर समूह पाठकका लागि कृतिमा पठनीय लघुकथा रहेको बताइन् । लघुकथाविद् खेमराज पोखरेलले कृतिकार परिवर्तनशील एवं समयसापेक्ष सर्जक हुन् भन्दै यौन विषयमा सशक्त लघुकथाकथाहरू लेख्नु हाम्रो समाजमा निकै साहस चाहिने बताए ।

त्यस्तै परिचर्चाकार डा. शेखरकुमार श्रेष्ठले विषयवस्तुको विविधता र उत्तर आधुनिकता समेत छुनु कृतिको सबल पक्ष भएको बताए । उनले सुधारको मार्ग औंल्याउँदै धर्म, संस्कृति र देशप्रेममा आँच नआउने गरी लेख्न, कल्पनाशीलता, निर्वयक्तिकता, कलात्मकताको ख्याल गर्न र अझ अनुभूतिप्रधान बनाउन सुझाए । सिर्जना अभियानका सचिव ध्रुव मधिकर्मीले पहिलो कृतिभन्दा दोस्रो कृति परिष्कृत र पठनीय भएको बताउँदै लघुकथाकारलाई बधाई दिए । उनले लेखनमा संवादमा कम ध्यान दिन, विषयको गम्भीरता ख्याल गर्न र अझ प्रभावकारी प्रस्तुति गर्न पनि सुझाए ।

आख्यानकार मन्दिरा मधुश्रीले केही लघुकथामा समयसापेक्ष र पात्रअनुकूलको भाषा प्रयोग नभएको र व्याकररणीय त्रुटि भएको सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै कृतिमा यौनको स्थान र स्वरूप समाजसापेक्ष एवं समयसापेक्ष रहेको निकै महत्त्वपूर्ण र साहसी कदम भएको बताइन् । लघुकथाकार मनीषकुमार शर्मा ‘समित’ ले लघुकथाहरू भावनात्मक रूपमा पाठकलाई छुन सक्षम, सशक्त, सन्देशमूलक, व्यङ्ग्यात्मक प्रस्तुति, कल्पनाशीलता र नवीनताले विषयवस्तुको कसीमा लघुकथासङ्ग्रह अब्बल रहेको बताए ।

लघुकथाकार शान्ता तिम्सिनाले संग्रहको ’पीडा’ लघुकथाको वाचन र टिप्पणी गरिएको थियो । कृतिकार चापागाईंले पाएको सुझाव अँगाल्दै आयोजक, परिचर्चाकार लगायत सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेकी थिइन् ।