जहाँ तहीँ
अजङ्गको वनमारा झारझैँ
कोलाहलको आकाश छुने
बोट- बिरूवा !
नदीमा खै कलकल ?
कोलाहलमा खै छङछङ छहरा ?
उज्यालोमा पनि
कोलाहलै- कोलाहलको तुँवालो छ ।
आकाशको शून्यता पनि
चपाउँदै
कोलाहल हाँसिरहेछ !
पीडामात्र भोग्न पाए पनि
कति हुन्थ्यो
त्यसैमा पनि वातावरणले
कोलाहल मिसाइरहेछ !
कति भयानक आवाजको
यो जङ्गल !
कोलाहल मलाई आक्रान्त पार्दै छ
हताश- हताश
खै मेरो सास ?
कस्तो यो जीवन मेरो
पलपलको
बिरसिलो त्रास !
पुग्नुको नाउँमा आज जहाँ छु म
हो, यो उल्टो गतिको परिणाम ।
हुँडलिन्छ मन
आमूल उच्छेदनको निमित्त
अब उल्टै, उल्टै गति चालौँ म !
उल्टै, उल्टै, बिल्कुल उल्टै
परिवर्तनको आँखामा
जुन कि होस्
यथोचित सुल्टै ।
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)