• २०८१ पौष २९ सोमबार

आइसोलेसनमा छ त्यो टेलिफोन

लक्ष्मी पुडासैनी

लक्ष्मी पुडासैनी

टेलिफोन घन्टी टिरिङ्टिरिङ् बजेलगत्तै हामी जे गर्न लागे पनि छोडेर दौडन्थ्यौँ । भात खाँदा थालै लिएर होस् वा छोडेर, जुठो हात होस् कि चोखो हात, भात निल्दानिल्दै घाँटीमा गाँस लिएर, अडकेलाझैँ गरी तँछाडमछाड गरी दौडथ्यौँ । बुबाका हामी पाँचै जान सन्तान मात्रै हैन, बुबा पनि मिल्नेजति दौडिनुहुन्थ्यो । आफूले उठाउन नपाए कसले ? कसले ? भन्न भनी धैर्यको बाँध फुटाउथ्यौँ ।

काठमाडौँ सहरमा टेलिफोन घरघरमा भए पनि काठमाडाँैंबाट नजिकै भए पनि हाम्रो गाँउ (काठ) तिर भने भर्खरभर्खरै टेलिफोनको लाइन जानेबित्तिकै दुईतीन घरमा फोनको लाइन जडान भएका थिए । त्यही मौकामा बुबाले पनि फोनको आवश्यकता बुझेर होला अर्काको नामको लाइन किनेर कलेजी रङको सेट ल्याएर जोडेका दिन हामीलाई जेठमा नै दसैँ आएको थियो ।
साँच्चिकैको दसैँ आउँदासम्म पनि हामीलाई फोन उठाउने रहर मेटिएको थिएन । घन्टी बज्नेबित्तिकै हत्तपत्त उठाउन जाँदा अम्खोराको पानी, गिलासक मोही, भिजाएर राखेका गेडागुडी, मात्र हैन कोपरालाई समेत फुटबल बनाउन छोडिएन । आफ्नाभन्दा अरूका फोन धेरै आउँथे । अब…. यसलाई बोलाइदेऊ न ! उसलाई बोलाइदिनोस् न ! भन्ने फोन धेरै आउँदा पनि हामीलाई रमाइलो लाग्थ्यो । किनभने हाम्रो घरनजिक आफ्नै खलकका छिमेकी मात्रै थिए ।

बिस्तारैबिस्तारै अमृत पनि विष बन्दै गयो । घन्टी बज्नेबित्तिकै दौडेर जाने हामी अब बिस्तारै हिँडेर जान थाल्यौँ । फोन आएपछि तँ जा तँ भन्दाभन्दै कहिले त पूरै फोनको घन्टी नै सकिन्थ्यो ।

तैपनि उठाउन भने छोडदैनथ्यो । ‘यसलाई बोलाइदेऊ न’ भन्दासम्म त ठीकै थियो । यो नम्बरमा गर्न लगाइदिनूस् न भन्न थोपछिचाहिँ रिस उठ्थ्यो । ‘कति फोन गरेको थिएँ तिमीहरुको घरमा । त्यतिका जहान भएर पनि किन नउठा’का नि ? कलर आइडी छ हो ? हाम्रो नम्बर चिनेर नउठाका होलान्’ भन्ने जस्ता प्रश्न बारम्बार आउन थालेपछि बिस्तारबिस्तार टेलिफोनको सुमधुर आवाजप्रति मोह घट्न थालेको थियो ।

पहिलापहिला तरकारी ओइरिँदा झ्याइँझ्याइँ गर्दा पनि ‘फोन आयो कि ला सुनिएन’ भन्ने मात्र लाग्थ्यो । हामी पाँच जना केटाकेटी हुँदा पनि आवाज सुनिएन भनी बुवाले घर, पल्लाघर, गोठ, डिल, बगैँचासम्म सुनिने तिखो आवाजको टेलिफोन सेट ल्याएर जोडेको दिन हाम्रो गालामा फेरि एकफल्ट हिउँदमा नै गुराँस फुल्यो । अब ढुक्क जता पनि सुनिने भयो ।

‘ए नानी फलानालाई बोलाइदेऊ त !’ भन्दा ‘हुन्छ २, ३, ५, १० मिनेट पछि गर्नु ल !’ घरका दूरीका आधारमा समय दिन्थ्यौँ । फोन आएर बोलाउनसम्म त केही आपत्ति थिएन हामीलाई । सजिलै स्वीकाथ्र्यौ तर यो नम्बरमा तुरून्त फोन गर्न लगाइहाल त भन्दाचाहिँ रिस उठ्थ्यो । तर पनि केही दिनसम्म यो पनि पचाइयो । मान्छे भेट नभएपछि सराद्धे, पूजा, जुठो, सुत्केरोका समाचार कति समयमा नै भनियो, कति बिर्सिएर जुठो र सुत्केरो चोखिएसम्म पनि बिर्सियो । अब थाहा नपाएजस्तो गर्नु सिवाय विकल्प थिएन ।

मझेरीको मूलथाममा रहेको रातो र सेतो रङ्गको टेलिफोनको घन्टीले चर्काे आवाज दिन थालेपछि वल्लापल्ला घरका मानिसले पनि ‘आयो, आयो ! ए मेरै होला उठाउठा ! ए उठाओ न उठाओ !’ भनेपछि दौडिएर उठाउनैपर्याे । दुइवटा एकै लाइनको फोन भएपछि कुरा सुन्न पाइन्छ भन्ने थाहा पाउनु त के सोचेको पनि थिएनौँ हामीले । सन्तोष पन्तको ‘हिजो आजका कुरा’ बाट यो तरिका जानेपछि भने ठूलै हिम्मतका साथ हामी अरूका कुरा माथि कोठाबाटै सुन्न थाल्यौँ । सबैका गोप्य कुरा, पैसा, प्रेम, माइतीका झगडा, दिदीबहिनीका भनाभन, लमी सबै कुरा हामीलाई थाहा हुनथाल्यो । रमाइलो नै हुन्थ्यो तर बुवाले थाहा पाउनुहोला भन्ने डरचाहिँ मनमा ठूलै थियो । आमालाई भने हामी सबै यस्तो रे उस्तो रे भनी सुनाउथ्यौँ । हाम्रा छलफलचाहिँ राती सुत्ने बेलामा दिनभरिका फोनका विवरण सुनानाएर गथ्र्यौं ।

चार दिदीबहिनाका एउटा कोठा । भाइचाहिँ एक्लै अर्काे कोठामा सुत्ने हुनाले आधाउधी कुरा छुट्याउँथ्यो र ‘भोलि कुरा गरौँला ओइ सुत अब’ भनी मुरमुरिन्थ्यो । बुवा यताउति मट्टानमा हिडिरहँदा भने हामी किताबमा आँखा लगाउँथ्यो आज्ञाकारी विद्यार्थीझैँ ।

बुवाले कसैलाई अप्ठेरो पर्याे भने फोन गर्न दिनु है खासै पैसा लाग्दैन भनेको सुन्दा पनि रिस उठेर अफिस गइहाले हुन्थ्यो जस्तो लाग्थ्यो । फोन गर्न दिन त हामीलाई घरखेत दिनुजत्तिकै थियो । तैपनि हामी केही नभनी दिन्थ्यौँ । निरन्तर दिन बित्दै थिए । अब त हामीलाई गाँउका मानिस कसले कसरी ‘हेलो’, ‘हेल्लो’, ‘हिलो’ भन्छ फोनमा, कोसँग के कुरा गर्छ भन्ने कुरा स्वस्थानी भन्नुभन्दा अगाडिको पुष्पाञ्जलीजत्तिकै कण्ठस्थ थियो ।

कहिलेकाहीं फलानालाई बोलाइदेऊ भन्दा हुन्छ हवस् भनेर एक जना बोलाउन जान्थ्यो र अर्काेले नआउने सङ्केत वा घरमा नभएको सङ्केत पाएपछि हामी उसैको जस्तो गरी हेलो, हिलो, हिल्लो भन्थ्यौं । कुरा लम्बिन थालेपछि भने लौ सुनिएन त हेलो हेलो भन्दै राखिदिन्थ्यौं र मरिमरी हास्थ्यौँ । घरमा बुवा–ममी हुँदाचाहिँ हामी साह्रै इमानदार हुन्थ्यौँ ।

बिस्तारै फोनको त्यो सुमधुर घन्टी पनि तीखो र दिक्क लाग्दो आवाज हुनथाल्यो । त्यो फोनको तार नै थुतेर फालिदिऊँजस्तो लाग्दथ्यो । तर हामी त्यसो गर्न पनि सक्दैनथ्यौँ । कसका माइती, दिदीबहिनीका घरमा सराद्धे, बिहे, वर्तवन्ध, पूजा हुँदैछ हामीलाई पूरै थाहा हुन्थ्यो, कार्ड नै चाहिँदैनथ्यो । गाउँका मान्छे को कहाँ गयो ? फोनमा सुनेकै कुरामा अड्कल लगाउँथ्यौँ । कति मिल्थे पनि ।

आफ्नो घरको नम्बर साथीहरूलाई पनि दिएर हाम्रो पनि फोन आउन थालिसकेको थियो । जसको फोन आए पनि आफ्नै हो कि भनेर हामी फेरि घन्टीका आवाजमा दौडिन थाल्यौँ । सधैँ साथीहरूको आउने फोन, हाम्रो उमेर बढेजस्तै ब्लफ कल आउनथाले । नियतका खोटीहरू देखिनथाले । त्यसपछि भने टेलिफोनका घन्टीसँगै रिस मात्र हैन, डर पनि लाग्नथाल्यो ।
यो सबै भएको पनि दिव्य २२ वर्ष भएछ । फोन नितान्त आवश्यक ठानी वल्लापल्ला घरमा पनि एकपछि अर्काे गरी सबैका घरमा टेलिफोन राख्न थाले । बिस्तारै टेलिफोनको दर्जा मोबाइलले लिन थाल्यो तैपनि टेलिफोनको महत्व घटेको थिएन ।

हामी पनि बिस्तारै माइती घर छोड्दै जान थाल्यौँ । नयाँ घरमा नयाँ नम्बर, नयाँ टेलिफोनको सेट देख्दा आफूलाई त्यही आफ्नै कलेजी रङकै सेट र नम्बरको माया र याद आउँथ्यो । कतै अन्तै टेलिफोनका नम्बर थिच्दा पनि ४५१ थिचिसकिन्थ्यो । अनि मात्र याद आउँथ्यो– ए म कतै अन्तै पो फोन गर्न लागेकी थिएँ भनी पुन नम्बर डायल गरियो कैयौँ वर्ष ।

टेलिफोन, कम्प्युटर, ल्यापटप सबैका काम मोबाइलले लिएपछि भने गाउँका सम्बन्ध पनि फेसबुकका र म्यासेन्जरका भित्तामा सीमित भएको छ ।

हाम्रो त्यो प्यारो साथी टेलिफोन अहिले तारसहित भएर झोलामा काृच्उिरर झ्यालमा झुन्डिएको छ । हातहातमा गच्छेअनुसारका मोबाइल सेट, फेसबुक, म्यासेन्जर, भाइवर… केके हुँदा पनि त्यो फोनको नम्बर बुवा र भाइले नकाटीकन झोलामा बाँधेर झ्यालमा किन झुन्ड्याएको होला भन्ने प्रश्न बारम्बार सोच्छौँ हामी । तैपनि अहिलेसम्म धीतमर्ने जवाफ पाएका छैनौं । यसरी हाम्रो प्रिय टेलिफोन अहिले निःशब्द भएर परै आइसोलेनमा परेको छ ।