English Poem

काठमाडौं ।
पेन इन्टरनेशन नेपाल च्याप्टरले शनिबार ‘अध्यात्म र कविता’ शीर्षकमा कविता गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भारतका प्रख्यात दार्शनिक एवं लेखक प्रा. सेहदेव कुमार नेपाल आगमनको अवसरमा उहाँकै प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी कविहरूले अध्यात्म साहित्य सिर्जनाको अभिन्न अङ्ग भएको चर्चा गर्दै आध्यात्मिक चेतना, प्रकृतिप्रेम र राष्ट्रभक्तिले भरिएका कविताहरू वाचन गर्नुभएको थियो ।
मुख्य वक्ता प्रा. सेहदेव कुमारले विज्ञानभन्दा माथि अध्यात्म रहने र त्यसमा अपार शक्ति र आनन्द प्राप्त हुने बताउनुभयो । अन्य वक्ता साहित्यकार तथा प्राध्यापक कृष्ण चन्द्र शर्मा, बिधान आचार्य, लिटल एन्जल्स स्कुलका प्राचार्य मुकुन्दराज शर्मा र पेन नेपालका अध्यक्ष भीष्म उप्रेतीले साधना र सिर्जनाका लागि अध्यात्म अपरिहार्य रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा कवि डा. मित्रबन्धु पौडेल, एल. बी. क्षेत्री, हिरण्यकुमारी पाठक, लालबहादुर भुजेल, निलिमा मास्के, उजाला कपाली, रुपसिंह भण्डारी, डा. राजुबाबु श्रेष्ठ, रजनी ढकाल, गोबिन्दमानसिंह कार्की, कशिराज आचार्य, शिरोमणि दवाडी, कुमार न्यौपाने, द्रोण पराजुली, सफलता पराजुलीलगायतले कविता प्रस्तुत गर्नुभएको थियो ।