वसन्तवेला

काठमाडौं ।
पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको पहिलो कथाकृति ‘सत्यम्’माथि विमर्श गरिएको छ । शनिबार, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार तथा समालोचकले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । समालोचक डा. अशोक थापाले कृतिभित्रका ‘चुन्कीको रहस्य’, ‘छुटेका पानीहाँस’ र ‘क्रमु’ कथाबारे टिप्पणी गरे ।
‘चुन्कीको रहस्य’ फरक भाषाबाट कथानक सुरु गरिएकाले यसले पाठकलाई कथाभित्र प्रवेश गर्न सुरुमै बाधा पार्न सक्ने चुनौती देखिएको उनले चर्चा गरे । समालोचक डा. शोभा ढुंगानाले ‘स्वप्नलोक’, ‘प्रेत–यान’, ‘चराहरू उडे’ र ‘सौँराई’मा आफ्ना भनाइ राखिन् । ‘सत्यम्’ नामजस्तै कथाहरू यथार्थपरक रहेको उनले बताइन् ।
समालोचक टेकनारायण ढकालले ‘राँकेभूतको लीला’, ‘मनफूल झरेपछि’ र ‘हिउँखोलाको आलाप’माथि आफ्ना धारणा राखे । उनले कृतिकारले कथालाई न्याय गरेको बताए । समालोचक जानुका खतिवडाले ‘टाउको’, ‘रित्तो गुँड’ र ‘बागियान’ कथामाथि केन्द्रित रहेर समीक्षात्मक टिप्पणी गरिन् । देवी तिमल्सिनाले ‘ऊ’ र ‘आँसुको लोरी’माथि आफ्ना पाठकीय अनुभूति राखिन् । समालोचक महेश पौड्यालले देश र समाजमा खण्डित हुँदै गएको सत्य ‘सत्यम्’ले देखाएको विश्लेषण गरे ।
प्रा. डा. कुमारप्रसाद कोइरालाले ‘सत्यम्’भित्र माओवादी द्वन्द्वका अभिघात घटना, २०६२÷६३ को जनआन्दोलन, मधेस आन्दोलन, पर्यावरण, विज्ञान विषय तथा हिमाल, पहाड र तराईको पृष्ठभूमि समेटिएको चर्चा गरे । डा. तुलसी भट्टराईले ‘सत्यम्’मा समेटिएका कथाले उत्कृष्ट लेखनको नमुना प्रस्तुत गरेको बताए । यो कृतिमा लेखनको काव्यिक शैलीले कथालाई छुट्टै पहिचान दिएको उनको तर्क रह्यो ।प्रा.डा.गोविन्दराज भट्टराईले कथाकार वियोगीको लेखनशैली र शक्ति देखेर आफू ज्यादै प्रभावित भएको बताए । यस्तो प्रतिभा कथामा मात्र नखुम्चिएर उपन्यास लेखनतिर लाग्नुपर्नेमा उनले जोड दिए ।