कविता

कुसंस्कार, कुरीति, शोषण, दमन, उत्पीडन अन्याय अत्याचारको परिचय र ती विरुद्धको क्रान्ति चेतना किशोरावस्थामै पलाएको थियो। तत्कालीन १० वर्षे जनयुद्धका सकारात्मक र नकारात्मक विविध असरहरू परेका छन् । ती मध्ये एउटा सकारात्मक असर भनेको सर्वसाधारणमा जनचेतनाको वृद्धि थियो ।
सुदूरपश्चिमको अछाम जिल्लालाई छाउपडी प्रथाको केन्द्र सामान्य ज्ञानले भने पनि सुदूरपश्चिममा सबै पहाडी जिल्ला र कैलाली कञ्चनपुरमा बसोबास गर्ने सबै पहाडी समुदायमा छाउपडी प्रथा अहिले पनि प्रचलनमा रहेको छ। यसलाई अझै न्यूनीकरण गर्न सकिएको छैन। म त्यही पहाडी समुदाय अनि पहाडी जिल्लामै जन्मेर हुर्केकी किशोरी पहिलोपटक रजस्वला भए थाहा थियो पहेलो रजस्वलामा बुवा, बाजे, भाइको मुख नहेर्ने चलन थियो अहिले पनि दूरदराजमा रहेकै छ। पहिलो रजस्वला हुँदा म कक्षा ७ मा पढ्थे। स्वास्थ्य तथा शारीरिक शिक्षा पढेर मैले थाहा पाएकी थिए कि रजस्वला हुनु भनेको एक नितान्त प्राकृतिक प्रक्रिया हो। यो त नारी अस्तित्वको शुभ संकेत हो। पहिलो रजस्वला भएको कुरा मैले परिवार साथीभाई कसैलाई भनिन किनकि मलाई डर थियो अँध्यारो कोठा जहाँ मुसाले प्वालै प्वाल बनाएको हुन्थ्यो आज गोबर माटोले प्वाल टाल्यो रातभरि फेरि मुसाले कोरेर माटोको चाङ लगाई सक्थ्यो। कति त्यहाँ सर्प आएको अहिले पनि आँखामा झलझली आउँछ। त्यस्तो ठाउँमा कसरी बस्नु आङ सिरिङ्ग हुन्छ अहिले सम्झिँदा पनि। लाग्यो यस्तो ठाउँमा कसरी सुत्नु बरु कसैलाई भन्दिन धेरै रगत बग्न थाल्यो भने आमालाई भनुँला मैले मेरो पहिलो महिनाभरि कसैलाई भनिन घरभित्रै बसे। फेरि दोस्रो रजस्वला भयो त्यो पनि मैले कसैलाई भनिन। मैले मेरो विद्यालयमा गर्न दैनिक ३ घण्टा हिँड्नु पर्थ्यो। बाटोमा देवी देवताका थानहरु पर्थे मलाई थोरै मनमा डर पनि लाग्यो त्यो बाटो रजस्वला भएकी महिलाले हिँड्नु हुँदैन भनिन्थ्यो तर म साहस बटुलेर त्यो बाटो हिँडे देउरालीमा पाती पनि चढाए र भने देवी हजुर पनि रजस्वला हुनुहुन्छ होला मेरो पीडा राम्ररी बुझ्नु हुन्छ होला । गल्ती भए माफी पाउ है ?
तर तेस्रो रजस्वला पहिलो र दोस्रो जस्तो भएन पहिलो र दोस्रो रजस्वलामा मैले घरेलु प्याडको पनि प्रयोग गरेकी थिइन किनकि एकदम थोरै मात्र रगत बगेको थियो। हे भगवान१ यस पटक म आफू रजस्वला भएको कुरा कक्षाको तेस्रो घन्टी लागेपछि मात्र थाहा पाए तर एक्कासी रगत वालवालती बग्न थाल्यो अब के गर्नेरु चुपचाप बेन्चमा बसी नै रहे न त टिफिनको समयमा सिटबाट उठे छुट्टी भइसक्यो म चाहन्थे सबैजना चाँडो चाँडो बाहिर निस्किउन। निलो स्कर्ट निलै कमिजमा थियो बसेको बेन्चमा तलाउ भइसकेछ रगतको अब म कसरी उठेर घर जाने शरीर साह्रै कमजोर भइसकेको थियो सबै गइसके होलान् ठानेर बिस्तारै सकि नसकी बेन्चबाट उठे। पछाडिको बीचमा एकजना साथी अझैसम्म बसेकी रहेछ उसले भनीूतँ बाहिर भया हैरु बेन्चमा पुरै लाग्या छ त पख म बालुवा हालिदिन्छु।ूउसले एक अजुली बालुवा उठाई रगतले भिजेको बेन्चमा हाली न मसँग झोला थियो। काखीमा च्यापेको किताबले भिजेको स्कर्टलाई अगाडि सारेर छोपे डेढ घण्टाको बाटो सकसले हिँडेर घर पुगे र बहिनीलाई भन्न लगाए आमालाई भनिदेउ दिदी बाहिर सरी भनेर। आमाले त्यही अँध्यारो कोठामा पराल ओछ्याई त्यसैमाथि तन्ना जस्तो टालो बिछाएर एउटा ओड्ने पनि राखिदिनु भयो सर्पहरु नआउन भनेर आगो पनि त्यही कोठामै बाली दिनुभयो किताब पढ्नको लागि एउटा टुकीमा तेल हालेर दिनुभयो। साँझ खानामा के को हो के को तरकारी र रोटी दिनुभयो। घाँटीबाट २१ पनि छिरेन यसरी पर सरेका बेला दूध, दही, मोही केही पनि गोरस खान दिइँदैनथ्यो देवता रिसाउँछन् पत्रीले सराप्छन् भनिन्थ्यो दोस्रो दिन विद्यालय गइन लाज लाग्यो विद्यालयभरि हल्ला भयो होला म बाहिर सरेको कुरा र बीचमा भएको त्यो टाटो सबैले हेर्न भ्याए होलान् मनभरि कुरा खेलिरहे। बर्खामासको समय थियो बिहानको नास्ता खाएर म जङ्गल गए तीन भारी स्याउला काटे पालैपालो घर बोके यसैगरी चार दिन बित्यो चार दिनको दिन बिहानै उठे ओछ्याएको बिस्तर उठाए पराल उठाएर पोको पारेर बाहिर राखे आफूले प्रयोग गरेका लुगाफाटा र भाडाकुडा बटुलेर पोको पारेर बाहिर राखे आमाले गोबर, माटो र पानी दिनुभयो सुतेको ठाउँमा लिपोत गरे।
न त घर नजिक पानीको कुनै स्रोत थियो एक घण्टा भन्दा बेसी हिँडेर तल खोलामा झर्नुपर्थ्यो। नुहाउन, लुगा फाटो धुन अनि पिउने पानी लिन। तर वर्षायाममा गाउँ भन्दा अलि पर तलको पखेरामा बर्सात पछि मूल फुट्थ्यो म त्यही मूलमा गए प्रयोग गरेका सबै लुगा फाटो धोए भाँडाकुँडा धोए आफूलाई नुहाए नसकी नसकी कपडाहरू निचोरेर पोको पारे भाँडाकुँडा पोको पारे चिसो कपडाको गुन्टो टाउकामा राखे मेरो लामो सिल्की कपालबाट पानी तप तप चुहिँदै थियो। मेरा पाइलाहरू बिस्तारै उकालो लागे आधा घण्टा पछि गाउँमा पुगे त्यसको ५ मिनेटपछि घर पुगे। बारीको डिलतिर आमाले कपडा सुकाउ भन्नुभयो मैले त्यसै गरे। मेरो कपाल शरीर लुगाफाटो म सुतेको ठाउँ सबैतिर गहुँत छर्किनुभयो यो प्रक्रिया सातौं दिनसम्म लगातार भयो चार दिनको नुहाई धुवाई पछि म विद्यालय गए। कसैको मुखमा हेरिन कसैसँग पनि बोल्न मन लागेन बेन्चमा हेरे अझै निशानी थियो एउटी साथी नजिकै आई र भने किन यसरी चिन्ता गर्छेस यस्तो त सबैको हुन्छ। मलाई केही सहज लाग्यो
त्यसपछिका रजस्वलाहरू पारिवारिक र परम्परागत बाध्यताहरूले बार्न बाध्य भए। कतिपय ठाउँमा अहिले आधुनिक युगमा पनि कथित परम्पराले निकै दुःख दिएको छ छाउगोठमा कति बालिका किशोरी र आमाहरु समेत यौन हिंसाको सिकार भएका र सर्पको वंशबाट ज्यान समेत गुमाएका छन् तर यस्तो प्रथा को गतिमा भएको देखिन्छ। शिक्षित महिलाले समेत यसलाई पछ्याइरहेको पाइन्छ। यसको एउटा कारण पुरुष प्रधानता र चेतनाको अभाव पनि हो। शिक्षित वर्गहरूले पनि सुदूरपश्चिमका प्रायजसो सबै ठाउँमा छाउपडी प्रथालाई प्रसय दिएको पाइन्छ। बोली र भाषणमा छौपडी प्रथाको विरोध गरे पनि विभिन्न कार्यक्रमहरू गरिए पनि प्रयोगमा भने आएको देखिँदैन। अब हरेक आमाले आफ्ना छोरीहरूलाई बुहारीहरूलाई यस्ता प्रथा मान ्न बाध्य पार्नु हुँदैन। बरु यस्तो अवस्थामा उनीहरूको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिनु जरुरी छ। राजनीतिक चेतना र आदर्शका मिठा कुरा भाषणमा सीमित हुँदा परिवर्तन असहज भएकाले प्रत्येकले चेतना संस्कार आदर्श र मानवतालाई व्यवहारगत प्रयोगसिद्ध गर्नु अपरिहार्य छ। रजस्वला सृजनाको सुनौलो बिहानी हो।
कुसुम भट्ट,धनगढी, कैलाली