समाचार
 
								 
							मोरङ ।
१८ औँ पुस्तकालय दिवसको अवसरमा लेटाङमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लेटाङको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न १८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोशी साहित्य कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, अग्रज स्रष्टा विश्वनाथ शाक्य ‘पागल’, पुस्तकालयका सल्लाहकार तथा राजनीतिकर्मी दीपकचन्द्र राई, समाजसेवी युवराज तिम्सिना, मित्रप्रसाद बिमली, नेत्र केसी लगायतको उपस्थिति रहेको थियो ।
‘मेरो पुस्तकालय मेरो भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा लिटिल फ्लावर इङ्ग्लिस स्कुलकी छात्रा आयुषा लामा प्रथम, जाते नमुना माविका छात्र समीप काफ्ले द्वितीय, लिटिल फ्लावर इङ्ग्लिस स्कुलका छात्र पारस कार्की तृतीय र श्री शिक्षा विकास माविका छात्र प्रज्वल निरौला सान्त्वना स्थानमा चयन हुनुभएको थियो । विजयी विद्यार्थीहरूलाई पुस्तकालय उद्घाटन समारोहमा पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष सुदेश वस्तीले जानकारी दिनुभयो ।
२०६९ सालमा ‘लेटाङ पुस्तकालय’का नामबाट स्थापना भए पनि २०८० सालमा यसलाई ‘शान्ति सामुदायिक पुस्तकालय’ नाममा दर्ता गरिएको हो। रिड नेपालको प्राविधिक सहयोग र शान्ति भोलेन्टियर एसोसिएसन (SVA) को आर्थिक सहयोगमा करिब २ करोड लागतमा निर्माण भएको तीनतले सुविधासम्पन्न पुस्तकालय भवन आगामी १३ गते जापानका राजदूतबाट उद्घाटन हुने भएको छ ।
शान्ति सामुदायिक पुस्तकालयका अध्यक्ष सुदेश वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक राजेश ढकालले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव मनोस विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।
