कविता

काठमाडौं, ।
विगत त्रिचालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको साहित्य सन्ध्याकोे यो वर्षको कार्यक्रम सम्पन्न गरेको छ । नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४६६ औँ विशेष शृङ्खला पद्मकन्या क्याम्पस बागबजारको डेनिस हलमा आयोजना गरियो । कार्यक्रममा पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८१ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् शिक्षामन्त्री माननीय रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा आमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती विशेष प्राविधिक कारणले उपस्थित हुनसक्नुभएन । विशेष अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवीको उपस्थिति रहेको थियो । एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा साहित्य सन्ध्याका सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी, प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ र प्रा.डा.देवी नेपाल, ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कारका लागि अक्षयकोष स्थापनाकर्ता डा. मदनप्रसाद सत्याल र नर्मदेश्वरी सत्याल, ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’का लागि अक्षयकोष स्थापक साहित्यकार नियात्राकार पोषरमण चापागाईँ, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.प्रदीप के.सी., डा. जया सत्याल, डा.नारायण रेग्मी, विजया सत्याल, माननीय शिक्षा मन्त्रीका स्वकीय सचिव राजेश थापा, नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान कुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, साझा प्रकाशनकी सञ्चालक जयन्ता पोखरेल, प्रा.डा.कपिल लामिछाने, प्रा.डा.ध्रुव घिमिरे, प्रा.डा.बद्रीविशाल पोखरेल, डा.मञ्जु दाहाल, भवानी खतिवडा, नवराज श्रेष्ठ, सरोज अधिकारी, डम्बर पहाडी, डा.हरिप्रसाद सिलवाल, डा.कृष्ण सुवेदी, त्रिलोचन आचार्य, उमेश उपाध्याय, साहित्यकार तेजप्रकाश श्रेष्ठ, डा.सावित्री श्रेष्ठ, खेमराज निरौला, महेशराज खरेल, साधुराम नेपाल, शिक्षक सेवा आयोगकी सदस्य पवित्रा सुवेदी, नन्दु उप्रेती, नमुना शर्मा, गायत्रीकुमार चापागाईँ, डा.पुरा सेढाईँलगायत अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो ।
उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । २०८१ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि सल्लाहकार वासुदेव अधिकारीज्यूको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल सदस्य रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएकोमा उक्त समितिले सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व चयन गरी सिफारिस गरेको हुँदा स्रष्टा चयनको औचित्य तथा आधारका बारेमा संयोजकज्यूले पुरस्कृत हुने पाँचैजनाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
वि.सं. २०१५ असोज २४ गते कास्की जिल्लाको हालको पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा माता सुकुमाया लामिछाने र पिता शुकदेव लामिछानेका सुपुत्रका रूपमा जन्मिएका कपिलदेव लामिछाने साहित्यमा कपिल लामिछानेका नामबाट कलम चलाउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका लामिछानेले सोही विश्वविद्यालयबाटै ‘नेपाली गाउँखाने कथा’मा विद्यावारिधि गर्नुभएको छ । विभिन्न अनुसन्धानमा संलग्न रहनुभएका लामिछानेले वि.सं.२०३४ सालदेखि निरन्तर साहित्यसाधना गरिरहनुभएको छ । नेपाली साहित्यका कथा, लघुकथा, कविता, निबन्ध तथा समालोचना विधामा कलम चलाउनुभएको छ भने बालसाहित्य, लोकसाहित्य, प्रशिक्षणका क्षेत्रमा पनि सक्रियताका साथ कलम चलाउनुभएको छ । उहाँका विभिन्न विधाका पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् भने करिब डेढ दर्जन पुस्तक तथा करिब एक दर्जन पत्रिका एवम् स्मारिकाको सम्पादनसमेत उहाँले गर्नुभएको छ । लगभग दुई दर्जन विभिन्न सङ्घसंस्थामा हाल पनि संलग्नता देखाइरहनुभएका लामिछानेको नेपाली साहित्यमा रहेको सक्रियताका लागि करिब पाँच दर्जन पुरस्कार तथा मानसम्मान उहाँलाई प्राप्त भएको छ । उहाँले करिब एक दर्जन पाठ्यक्रमसँग सम्बन्धित पुस्तकहरूसमेत लेख्नुभएको छ । नेपाली बालसाहित्य राष्ट्रिय सम्मेलन २०५९ का संयोजक, नेपाली लोकसाहित्य दोस्रो राष्ट्रिय सङ्गोष्ठी २०६९ का संयोजक, नेपाली लोकवार्ता सातौँ राष्ट्रिय सङ्गोष्ठी २०७४ को नेतृत्वलगायतका विशेष जिम्मेवारी पनि उहाँले सम्हाल्नुभएको छ । स्नातकोत्तर र विद्यावारिधिका तहमा उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा विभिन्न विश्वविद्यालयमा दर्जनौँ शोध तथा अनुसन्धान सम्पन्न भएका छन् । नेपाली समाजका विसङ्गत पक्षहरूलाई आफ्ना सिर्जनामा उजागर गर्ने र रूपान्तरणका पक्षमा वकालत गर्ने, रूपान्तरणको स्पष्ट प्रगतिवादी वैचारिकतासमेत सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्तै क्रियाशील एवम् बौद्धिक स्रष्टा लामिछानेलाई उहाँले गरिरहनुभएको अनुकरणीय सत्कर्मका निम्ति २०८१ सालको रु.एक्काइस हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका जम्मा एघारओटा गोष्ठीमध्ये दशओटामा सहभागिता जनाई आफ्ना रचना वाचन गर्ने एकजना स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ दिने प्रावधान रहेकोमा यस वर्ष वि.सं.२०४२ असोज ४ मा धादिङ जिल्लाको जोगिमारा ७, भारपाङमा माता रिबनकुमारी श्रेष्ठ र पिता भोवलाल श्रेष्ठका सुपुत्रका रूपमा जन्मि कविता, कथा, निबन्ध विधामा निरन्तर कलम चलाउनुका अतिरिक्त ‘भारपाङ आबाज’ नामक कृतिसमेत संयुक्त लेखनमा प्रकाशित गरी नेपाली साहित्यका प्रति समर्पण भाव देखाइरहनुभएको छ । साहित्य सन्ध्याले यस वर्ष आयोजना गरिएका पूरै बारैओटा गोष्ठीमध्ये एघारओटामा सहभागी हुनुका साथै दशओटा गोष्ठीमा कवि श्रेष्ठले कवितावाचन गर्नुभएको अभिलेखबाट देखिएकाले २०८१ सालको रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
सर्लाही जिल्लामा आमा रुद्रदेवी ढकाल र बुबा देवानन्द ढकालकी सुपुत्रीका रूपमा जन्मिनुभएकी मञ्जु दाहालले सर्लाहीबाटै एसएलसी उत्तीर्ण गरेपछि त्रि.वि.शिक्षण अस्पतालबाट ‘सर्टिपिकेट इन मेडिसिन’ गरी जापानबाट अकुपन्चरमा स्नातक उत्तीर्ण गर्नुका साथै नेपालकै पहिलो महिला अकुपन्चरिस्ट बन्ने इतिहास बनाउनुभएको छ । नेपालका विभिन्न क्षेत्रमा चिकित्सा सेवा गर्नुका साथै विगत एक दशकभन्दा बढी समयदेखि नेपालको एक मात्र अकुपन्चर कलेज ‘ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र’मा प्राचार्यको रूपमा कार्यरत रहनुभएकी चिकित्सक एवम शिक्षासेवी अनुकरणीय व्यक्तित्व हुनुभएको हुँदा चिकित्सा शिक्षा तथा स्वास्थ्यसेवा समेतका माध्यमबाट समुन्नत समाज निर्माणमा पुर्याइरहनुभएको योगदानको उच्चसम्मान गर्दै उहाँलाई २०८१ सालको रु.दश हजार राशिको साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मानद्वारा सम्मानित द्वारा सम्मानित गरियो ।
वि.सं.२०५८ असोज २८ मा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.८, दाप्चामा आमा दुर्गादेवी वाग्ले र बुबा रामकृष्ण अधिकारीका सुपुत्रका रूपमा जन्मिएका सरोज अधिकारी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत दाप्चा बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । अत्यन्त अनुशासित, लगनशील र मिहिनेती अधिकारी पढाइमा अब्बल रहँदा रहँदै पनि विपन्न पारिवारिक पृष्ठभूमिका कारण उहाँको जेहनदार व्यक्तित्व छायाँमा पर्ने देखिएको हुँदा जीवनका भविष्यसम्मका परीक्षाहरूमा पनि उत्कृष्टता कायम गर्न÷गरिरहन उत्प्रेरणा प्राप्त होस् भन्ने अपेक्षाका साथ २०८१ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
वि.सं.२०३० असार १२ मा उदयपुर जिल्लाको नेपालटारमा माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाकी सुपुत्रीका रूपमा जन्मिएकी भवानी खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट कृषि डिप्लोमा, बी.एड., कानुनमा एलएलबी र ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरी हाल नेपाल सरकारको सेवामा रहनुभएको छ । हाल तीनकुने, काठमाडाँैमा बसोवास गरिरहेकी खतिवडाका ‘घामभन्दा पहिले’ नियात्रा २०७८, ‘चारखोलाको आँगनीमा’ पद्यनियात्रा २०७९, ‘आकाश ओढेको डोल्पो’ नियात्रा २०८०, ‘प्रणाम सगरमाथा’ नियात्रा २०८१ जस्ता नियात्राका कृति प्रकाशित भएका छन् । ‘छन्द सारथी’, ‘हिमाल हेर्ने पाइलाहरू’, ‘नेपाली प्रतिनिधि नियात्रा’जस्ता कृतिको सम्पादनसमेत उहाँले गर्नुभएको छ । नेपाली साहित्यका विशेष गरी कविता र नियात्रामा कलमचलाएवापत विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गर्नुभएकी र विभिन्न सङ्घसंस्थामा क्रियाशीलता पनि देखाइरहनुभएकी उहाँले नेपाली नियात्रा साहित्यमा अविश्रान्त कलम चलाउँदै नियात्रा विधालाई समृद्ध पार्न गर्नुभएको योगदानको उच्चसम्मान गर्दै २०८१ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो । पुरस्कृत सबै व्यक्तित्वलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको थियो भने प्रमुख अतिथिले पुरस्कार राशि तथा सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृष्णचन्द्र बालकुमारी सत्याल’ सम्मान तथा पुरस्कार समर्पण गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको जानकारी अक्षयकोष स्थापक नमृदेश्वरी सत्यालले दिनुभएको थियो भने साहित्यकार पोषरमण चापागाईँले ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि अक्षयकोषको स्थापना गरेको र अक्षयकोष रु.१,५०,०००।–को स्थापना गरेको जानकारी गराउनु हुँदै नियात्राका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धि गर्नु पुरस्कार स्थापनाको उद्देश्य भएको अनि यस वर्ष यो पुरस्कार पाउने स्रष्टा अत्यन्त योग्य हुनुभएको व्यहोरा समेत प्रकाश पार्नुभएको थियो ।
‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित प्रा.डा.कपिल लामिछानेले आफूले प्रगतिशील साहित्यका माध्यमबाट सामाजिक समानता, मानवता, कुनै पनि प्रकारको विभेदको अन्त्यको आग्रहका साथ साहित्य सिर्जना गरिरहेको र आफ्नो बसोवास भैरहवामा रहेको भए पनि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक अभियान चलाइरहेको साहित्य सन्ध्याका दुई–चारओटा गोष्ठीमा सहभागिता पनि जनाएको भए पनि टाढा रहेर मैले गरेको साधनालाई पनि मूल्याङ्कनको दायरामा ल्याई पुरस्कृत गर्न सिफारिस गर्ने समिति तथा साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
सम्मानित व्यक्तित्व डा.मञ्जु दाहालले जापानबाट अकुपन्चर विषयमा अध्ययन गरेर आफू नेपाल आउँदा दुई–तीनजना मात्र पुरुष डाक्टर हुनुहुन्थ्यो । आफू महिला पहिलो अकुपन्चरिस्ट भएका कारण आफूमाथि बढी नै जिम्मेवारी रहेको महसुस भएको थियो र स्वस्थ समाज निर्माणका लागि एउटा अकुपन्चर पढाउने कलेजको स्थापना गर्नुपर्छ भनेर लाग्दा एकपटकको प्रयास पूर्ण हुन पनि सकेन तर २०७० सालमा पुनः नेपालको एक मात्र अकुपन्चर पढाइ हुने कलेजको थालनी गरी स्वास्थ्यका क्षेत्रमा र शिक्षाका क्षेत्रमा आफूले गरेको योगदानलाई कतै न कतैबाट यहाँहरूले मूल्याङ्कन गर्नुभई आज सम्मानित हुने अवसर प्राप्त भएकामा डा. जया सत्याल तथा सिफारिशकर्ताहरू एवम् साहित्य सन्ध्याप्रति धन्यवाद प्रकट गर्दछु भन्नुभयो ।
प्रमुख अतिथि माननीय शिक्षा मन्त्री रघुजी पन्तले साहित्य सन्ध्याको चार दशक लामो निरन्तरको सक्रियता र आज सम्मानित व्यक्तिहरू सबैलाई बधाइ ज्ञापन गर्दछु । कसैको सहयोगविना, कोही कसैलाई प्रायोजक नखोजी, अविश्रान्त चार दशक बिताएको आफैँमा आन्दोलनको पर्याय हो साहित्य सन्ध्या । यसको अभियानसँग कुनै न कुनै रूपमा जोडिएकै व्यक्ति हुँ म पनि । यो संस्थाले गरिमामय उचाइ ग्रहण गर्नसकेकोमा मलाई अत्यन्त खुसी लागेको छ । आज सम्मानित हुनुहुने पाँचैजनाले प्राप्त गर्नुभएको पुरस्कारको राशि जति भए पनि यो जनस्तरको, सम्मानित र सशक्त सम्मान हो । पुरस्कृत हुनुहुने सबैको समर्पणभाव जनता र देशका लागि रहिरहोस् अनि हामीले पनि पुरस्कृत स्रष्टाका कृति पढ्नु आवश्यक छ । सन्ध्याले थालेको साहित्यिक, सिर्जनात्मक अभियान हो र विचार तथा संस्कृतिको निर्माण चिन्तनपरम्पराबाट हुन्छ । विगतका चिन्तन र परम्पराले हामीलाई यहाँसम्म ल्याएका हुन् र आजका हाम्रा सत्कर्मले भोलिको हाम्रो बाटो निर्माण हुने छ । कुनै पनि कुरा रातारात हुने होइन । मानवजीवनलाई गतिशील, सिर्जनात्मक बनाउने काम साहित्यले गर्दछ । प्राज्ञ परम्परा स्वतन्त्र एवम् सिर्जनशीलतामा रमाउँछ । मनको अनुभूतिको, अनुभवको कलात्मक अभिव्यक्ति साहित्य हो र यही पढ्ने, लेख्ने साधनाले नै समाज रूपान्तरणमा सहयोग पुर्याउँछ । त्यसैले साहित्यका फरक विधा वा सबै विधा हाम्रो जीवनलाई सुसंस्कृत बनाउन आवश्यक हुन्छन् । अहिले शिक्षालाई प्रविधिमैत्री, रोजगारमुखी बनाउने र विज्ञानसँग जोड्ने प्रयत्न भइरहेको छ जब कि हिजोको शिक्षा ज्ञानसँग मात्र सम्बन्धित रहेको थियो । विज्ञानले सदैव सकारात्मक मात्र परिणाम दिँदैन तर साहित्यले तथ्यगत यथार्थलाई, विकृतिलाई उजागर गर्ने र रूपान्तरणका लागि घच्घच्याउने काम पनि गर्छ । हामीले यो अभियानमा नयाँपुस्तालाई कसरी जोड्ने भन्ने चिन्तन गर्नु पनि अहिलेको आवश्यकता हो । प्रविधिसँगै ज्ञान, दृष्टिकोण, प्रयोग गर्ने कला पनि नयाँपुस्तालाई सिकाउनु जरुरी छ । विनादृष्टिकोण रूपान्तरण हुनसक्तैन त्यसैले ज्ञानको हस्तान्तरण पनि आवश्यक छ । साहित्य सन्ध्याको यो अभियानले यी पक्षमा ध्यान दिनु जरुरी छ । आज सम्मानित हुने पाँचैजना स्रष्टालाई म पुनः हार्दिक बधाइ पनि दिन्छु भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०३३ सालमा राजबिराजमा गङ्गाप्रसाद उप्रेतीलगायतले साहित्यका माध्यमबाट नेपाली भाषा जोगाउने अभियानका रूपमा परिकल्पना गर्नुभएको र उहाँहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थी काठमाडौँ आएसँगै २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक वैचारिक अभियानका रूपमा थालनी गरेको र एक वर्षपछि देखि नै वासुदेव अधिकारीलगायतले हाँकेको आन्दोलनका चार दशकभन्दा बढी समय व्यतीत भएका छन् । यस संस्थाले अहिलेसम्म ७८ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरेको छ । यो अभियानको उद्देश्यसँग सहमत हुने व्यक्तित्वहरू अक्षयकोष स्थापना गरेरै जोडिनुभएको छ । संस्थाको यति लामो इतिहास निर्माणमा योगदान गर्ने सबै सबैमा हामी हार्दिक धन्यवाद अर्पण गर्दछौँ र सबैको प्रेरणाले यो अभियानलाई निरन्तर अगाडि बढाइरहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, सहभागी आदरणीय व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, स्रष्टा चयन समितिका पदाधिकारहरू सबै सबैमा हार्दिक धन्यवाद अर्पण गर्दछौँ आभार प्रकट गर्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।