समाचार
काठमाडौं ।
लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान २०८२’ लघुकथाकार तथा साहित्यकार विमल भौकाजीलाई प्रदान गरेको छ । सर्वनाम थिएटरमा लघुकथा समाजले स्थापनाको १८औँ दिवस मनाउँदै भौकाजीलाई सम्मानित गरेको हो । कार्यक्रममा अग्रज कथाकार भागीरथी श्रेष्ठ, निर्मला शर्मा लगायतले उक्त सम्मान प्रदान गरे ।
कार्यक्रममा कथाकार श्रेष्ठले नेपाली साहित्यमा लघुकथा लेखन र यसका पाठक बढ्दै गएको अवस्था निर्माणमा समाजको विशिष्ट योगदान रहेको बताइन् । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्व भौकाजीको व्यक्तित्वको चर्चा गरे । उनले, जसले नेपाली साहित्यमा लघुकथा लेखनको थालनी ग¥यो, उसैका नाममा राखिएको यो पुरस्कारको विशिष्टता आफ्नै किसिमको रहेको बताए ।
समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथा लेखन र उन्नयनमा योगदान गर्ने भौकाजीको चर्चा गर्दै नेपाली लघुकथामा लघुकथा समाजको योगदानबारे बोले । लघुकथाकार तथा साहित्यकार भौकाजीले प्राप्त सम्मानले जिम्मेवारी थपिएको महसुस भएको उल्लेख गरे ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गोपाल अश्क, तुलसीहरि कोइराला, डा. शेखरकुमार श्रेष्ठ, ब्राह्मणकि सुपुत्री निर्मला शर्मा र सुमन सौरभ लगायतले बोले । उक्त अवसरमा सर्वनामका कलाकारहरूले भौकाजीको लघुकथामा ‘रुपान्तरण’ मञ्चन गरे । राज शाहको निर्देशनमा कलाकारहरू धीरज थापा मगर, प्रतिभा पन्थी, शान्ति डंगौरा, आकांक्षा क्षेत्री, सुधीश थापा मगर, विधेयक तिलक र सुमीक्षा न्यौपाने अभिनय गरे । यो सम्मान लघुकथाकार श्रीओम श्रेष्ठ रोदनले स्थापना गरेका हुन् ।
